भारतीय हस्तक्षेप बढ्यो

|

काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीले देशलाई स्थायित्व प्रदान गर्न पुनः क्रान्ति आवश्यक रहेको बताएको छ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले शुक्रबार काठमाडौंमा गरेको ‘नेपालको वर्तमान राजनीतिक स्थिति र अग्रगामी निकासको प्रश्न’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले २०५२ सालमा जति क्रान्तिको आवश्यकता रहेको थियो, अहिले पनि त्यति नै रहेको बताएका हुन्। क्रान्तिका लागि क्रान्तिकारी शक्तिसँग कार्यगत एकताको पहल भइरहेको उनले बताए।

‘नेपालमा पुनः एक पटक क्रान्तिको आवश्यकता छ। २०५२ साल अघि जति क्रान्तिको आवश्यक थियो र हामीले क्रान्ति गरेका थियौँ, फेरि पनि त्यतिकै आवश्यता छ’, उनले भने, ‘त्यसका लागि हामीले क्रान्तिकारी शक्तिबीचको एकताको आवश्यकता महसुस गरेका छौँ। त्यसैले क्रान्तिकारी शक्तिबीचको एकता प्रक्रिया पनि अघि बढाएका छौँ।’

आफूहरूले क्रान्तिका लागि संगठन सुदृढ गर्दै गरेको उनले बताए। पछिल्लो समय जनतामा राजनीतिक नैराश्य छाएको भन्दै उनले भने, ‘देशमा खालि राजनीतिक अस्थिरता मात्र भइरहेको छ। जनता पनि निराश छन्। देशमा परिवर्तन हुन्छ भन्ने उद्देश्यले क्रान्ति भयो तर देश जहाँको त्यहीँ छ।’

उनले क्रान्तिमा संझौता भयो भने क्रान्ति सफल हुन नसक्ने बताए। उनले भने, ‘२००७ सालदेखि यही हुँदै आयो। क्रान्ति, संझौता अनि फेरि प्रतिक्रान्ति। त्यसकारण क्रान्ति सफल हुन सकेन।’

जनयुद्ध गणतन्त्र र संघीयता ल्याउनका लागि नगरिएको गजुरेलले स्पष्ट पारे। 'जनयुद्धका नेतृत्व गर्ने नेताहरू अहिले जनयुद्ध संघीयता र गणतन्त्र स्थापनाका लागि गरिएको भन्दै छन्। हामीले कहिले संघीयता माग्यौँ? राजतन्त्रको विकल्पमा कहिले गणतन्त्रका लागि जनयुद्ध गर्‍यौं?’, उनले भने, ‘२०५२ फागुन १ गतेको हाम्रो पर्चामा नेपालमा नयाँ जनवादी व्यवस्था स्थापनाका निम्ति जययुद्ध गरेको प्रष्ट भनेका थियौँ।’ तर संसदीय व्यवस्थामा गएर परिवर्तन ल्याएको भन्नु मर्खता रहेको उनले बताए। ‘संसदीय व्यवस्थाले विकास उन्मुख देशको समस्यालाई हल गर्न सक्दैन। उत्पीडित वर्गको समस्या समाधान गर्न सक्दैन। त्यसका लागि जनगणतन्त्र चाहिन्छ’, उनले भने, ‘गणतन्त्र एउटै मात्र हुँदैन। सामन्ती पनि गणतन्त्र हुन्छ। पूँजीवादी पनि गणतन्त्र नै हुन्छ।’

भ्रष्टाचार बढ्यो

पछिल्लो समय सबै क्षेत्रमा भ्रष्टाचार बढ्दै गएको नेता गजुरेलले बताए। उनले संघीयताका नाममा झनै जताततै भ्रष्टाचार बढेको जिकिर गरे। उनले भने, ‘संघीयता भनेर गाउँका जनताको कर बढाइयो। भ्रष्टाचारलाई गाउँमा पुर्‍याइयो।’

उनले नेपालमा भ्रष्टाचार संस्थागत भएको समेत दाबी गरे। उनले भने, ‘भ्रष्टाचार त पहिला पनि हुन्थ्यो तर त्यसको मात्रा कम हुन्थ्यो। पहिला लाखौँमा भ्रष्टाचार हुन्थ्यो भने अहिले करौडौँमा पुगेको छ।’ शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका विषयसमेत व्यापारीकरण भएको उनले बताए। उनले भने, ‘शिक्षा, स्वास्थ्यमा माफियाकरण भयो। सरकारी विद्यालयमा सरकारले पैसा अोइर्‍याएको अोइर्‍याइ छ तर उपलब्धि शून्य छ। निजी विद्यालयमा बढ्नेको घुइँचो छ।’

चुनाव गराउनु सफलता होइन

नेता गजुरेलले चुनाव गराउनु मात्र सफलता नभएको बताएका छन्। उनले पछिल्लो समय ठूला दलका नेताहरूले तीनै तहको निर्वाचन गराएको भन्दै आफूहरूको सफलता मान्ने गरेको बताए। उनले भने, ‘राजनीतिक प्रक्रियालाई अगाडि बढानउन चुनाव आवश्यकता हो तर उपलब्धि होइन।’

चुनाव गरेर देशमा समृद्धि ल्याउँछु भन्नु जनतालाई झुक्याउनु मात्र भएको उनले बताए। उनले भने, ‘चुनाव गरेर देशमा समृद्धि आउँछ भन्नु गलत प्रचार हो। चुनाव गराएर प्रतिक्रियावादी व्यवस्थाले स्थायित्व पाउँछ भन्ने हो भने त पञ्चायती व्यवस्था पनि खारेज हुने थिएन। त्यसबेला पनि चुनाव त धेरै हुने गर्थे। स्थायित्व कायम गर्न त देशमा भएका समस्या समाधान हुनुपर्छ।’

भारतीय हस्तक्षेप बढ्यो

पछिल्लो समय नेपालमा भारतीय हस्तक्षेप बढ्दै गएको नेता गजुरेलले बताए। सीमा अतिक्रमणदेखि नेपालको आन्तरिक मामिलामा समेत हस्तक्षेप बढ्दै गएको उनको भनाइ थियो। उनले भने, ‘अब भारतले सीमा नै नाघ्यो। सन् १९५० को असमान सन्धि र अन्य विविध सम्झौतामार्फत् नेपाली जलस्रोतमाथिको हस्तक्षेप, सीमा अतिक्रमण र व्यापारिक हस्तक्षेप बढाउँदै लगेको छ।’ उनले वीरगन्जको छपकैयामा सीमा मिच्नु नै भारतीय हस्तक्षेपको एउटा नमुना भएको बताए।

नेता गजुरेलले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको नक्कली राष्ट्रवाद नांगिएको बताए। उनले भने, ‘ओलीजीको पछिल्लो समयको राष्ट्रवाद पनि मज्जाले नांगिएको छ। भारतीय विदेशमन्त्रीलाई नेपालमा गोप्य वार्ताका लागि बोलाउनु यसको एउटा उदाहरण हो।’

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाईले पनि अब बन्ने सरकार कसको पक्षमा काम गर्छ भन्ने प्रष्ट भएको उनले बताए। ‘हाम्रो देशमा त प्रधानमन्त्री नभई पनि बधाई आउन थाल्यो। मोदीजीले ओलीजीलाई फोन गरेर बधाई दिनुभएको छ', उनले भने, 'सामान्यतया: प्रधानमन्त्री भएपछि मात्र बधाई दिने चलन छ तर मोदीजीले त अहिले नै दिइसक्नुभएछ।’

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुले राष्ट्रिय स्वाधीनतामाथि निकै ठूलो आँच आएको उनले बताए। ‘नेपाल भ्रमणमा भारतीय विदेशमन्त्री आउँदा कसैलाई थाहा भएन। सरकारलाई मात्र थाहा भयो। उहाँ आएपछि एक दिन त अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गरियो, सुरक्षा व्यवस्था कडा परियो’, उनले भने, ‘ठूला दलका नेताहरू यसरी नै गद्दारी गर्दै छन्।’ यसमा नेपमाल सरकारले प्रतिवाद पनि नगरेको उनको भनाइ थियो। उनले भने, ‘नेताहरूलाई त नेपालमा हस्तक्षेप भएको मतलब नै छैन। कहिले सुष्मा स्वराजले भेट्न बोलाउँछिन् र भेट्न जानु भन्ने योजना मात्र बनाइरहे।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.