|

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसका किसान गाईपालनतर्फ आकर्षित भएका छन्। पछिल्लो समय भित्री मधेसमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा चिस्यान तथा दुग्ध संकलन केन्द्रको स्थापना भएपछि किसानहरू गाईपालनतर्फ आकर्षित भएका हुन्।

पहिले दूध उत्पादन गरेर पनि बिक्री गर्न नपाउने समस्या रहेको र अहिले आफूले उत्पादन गरेको दूध छिमेकी जिल्ला कैलाली निर्यात हुने परशुराम नगरपालिका जल्लेगडाकी अम्मरादेवी धामीले बताइन्।

'पहिले सामान्य आफैँ दूध खान गाईपालन गर्थें, १ वर्षसम्म मात्र गाईले दूध दिन्थ्यो', उनले भनिन्, 'अहिले जर्सी गाई पालेको ३ वर्ष भयो, केटाकेटीको किताब कापी तथा दैनिक आवश्यक सामग्री यसैबाट जोहो हुन्छ।’

३ वर्ष पहिले जिल्ला पुश सेवा कार्यालय र एकीकृत विकास समाजको सहयोगले चितवनबाट २ वटा जर्सी गाई ल्याएको उल्लेख गर्दै उनले अहिले महिनाको ८ देखि १० हजार रुपैयाँसम्म कमाउने गरेको बताइन्।

अरू सामान्य गाईले १ वर्षसम्म मात्र दूध दिने त्यसपछि १ वर्षजति खाली रहने तर जर्सी गाई २ महिना मात्र खाली रहने भएकाले गाउँमा धेरै जसोले जर्सी गाई पालेका छन्।

त्यस्तै, आलिताल गाउँपालिका- ४ घरेलुका जगनसिंह मडैले २०६३ सालमा चितवनबाट एउटा जर्सी गाई ल्याएका थिए। अहिले त्यसै गाईबाट संख्या बढाएर ४ पुर्‍याएका छन्। दिनमा ३५ देखि ४० लिटरसम्म दूध बेच्ने गरेको उनी बताउँछन्।

'छाकमा २२ देखि २५ लिटरसम्म दूध दिन्छ', उनले भने, 'दिनमा १ हजारदेखि १२ सयसम्म आम्दानी हुन्छ।' आफूलाई जिल्ला पशु सेवा र एकीकृत विकास समाजअन्तर्गतको एमरेड परियोजनाले जर्सी गाईपालनमा सहयोग गरेको उल्लेख गर्दै मडैले अब गाईको संख्या अझ बढाउने बताए। 'मैले २० वटा गाई पाल्ने गोठ बनाएको छु', उनी भन्छन्, 'अहिले बजारको समस्या छ, यदि बजारको अवस्था राम्रो भयो भने छिट्टै गाईको संख्या बढाउँछु।’

आलिताल गाउँपालिकाकी कलावती नाथ आफ्नो देखासिकी गरेर आफ्नो गाउँ तथा छिमेकी गाउँका किसानहरूले पनि गाईपालन गरेको बताउँछिन्। 'पहिले दूध बेच्न कठिन हुन्थ्यो, होटल तथा कर्मचारीलाई दूध बेच्नुपर्ने अवस्था थियो', उनले भनिन्, 'नजिकै रहेको घुम्ती मोडमा दुग्ध संकलन केन्द्र स्थापना भएको छ, अहिले त मैले उत्पादन गरेको दूध कैलालीसम्म पुग्छ।’

महिनाको ८ हजार रुपैयाँसम्म दूधबाट आम्दानी हुने गरेको उनले बताइन्। नाथले छोराछोरीको पढाइ खर्च कटाएर बैंकमा समेत जम्मा गर्ने गरेको उनी बताउँछिन्। उत्पादन गरेको दूध बेचिन थालेपछि अहिले गाउँमा २१ वटा उन्नतखाले जर्सी गाई भित्रिएको समेत उनको भनाइ छ।

आलिलात गाउँपालिकाको घरेलुमा मष्टो गाईपालन तथा दुग्ध संकलन केन्द्र संचालन गर्दै आइरहेका कमलसिंह ऐरीले दिनमा ७०० लिटरसम्म कैलालीको खप्तड डेरीमा निर्यात गर्ने बताए। २०० जनाजतिले आफ्नो संकलन केन्द्रमा दैनिक दूध ल्याउने उनी बताउँछन्।

जिल्ला पशु सेवा कार्यालय र एकीकृत विकास समाजअन्तर्गतको एमरेड परियोजना र खप्तड डेरीको सहयोगमा स्थापना गरिएको दुग्ध संकलन केन्द्रमा अहिले घरेलु, सेरी र बसोनीबाट दूध आउने उनले बताए। 'गाई पालेर फाइदा हुँदोरहेछ भन्दै ग्राहक संख्या दिन प्रति दिन बढ्ने क्रममा छन्', उनले भने, 'पहिले ५०/६० मात्र गाई भएको गाउँमा अहिले २/३ गाई नभएको घर नै छैन।’

डडेल्धुरामा पछिल्लो समय गाईपालन गर्ने कृषकहरु बढ्दै गएका छन्। जिल्लामा उन्नत जातको गाईको संख्या १ हजार ३७८ रहेको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत खड्गबहादुर शाहले जानकारी दिए।

यो संख्या गत वर्षभन्दा ७.१५ प्रतिशत बढी हो। जिल्ला पशु सेवा कार्यालयको तथ्यांक हेर्दा जिल्लामा गाई पाल्ने कृषकको संख्यामा प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ। जिल्लामा यस वर्ष ६० वटा गाई भैँसी फार्म भएको पशु विकास अधिकृत शाहले बताए।

उनका अनुसार गत वर्ष जिल्लामा ४५ वटा फार्म रहेका थिए। उनले क्रमिक रूपमा जिल्लामा गाईपालनतिर किसानहरू अग्रसर भएको बताए।जिल्लामा पछिल्लो समय किसानको गाईपालनतर्फ आकर्षण बढ्दै गएको छ’, उनले भने, ‘यसले यहाँका किसानहरूको समग्र आर्थिक अवस्थामा पनि क्रमिक रूपमा सुधार हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.