|

काठमाडौं : गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा पर्सा, सुवर्णपुरवासीले शुक्रबार लाठी जुलुस निकालेका छन्। सुवर्णपुरमा रहेको ठोरी गाउँपालिकाको सेवा केन्द्र घ्याङडाँडा सार्ने निर्णय भएपछि विगत १० दिनदेखि सुवर्णपुरवासी आन्दोलित छन्। लाठी जुलुस सुवर्णपुर चोकबाट बाघमोर्चासम्म पुगेको स्थानीय बिमल खड्काले जानकारी दिए। 

१५ माघमा बसेको गाँउ परिषद् बैठकले वडा– ५ सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नम्बर ४ घ्याङडाँडामा सार्ने निर्णय गरेको थियो। त्यसको बिरोधमा सुवर्णपुरका बासिन्दाले स्थानीय अगुवा जरी लामाको नेतृत्वमा संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन्। उनीहरुले सदरमुकाम वीरगंज जाने र ठोरी–चितवन हुँदै बाहिरिने सवारीसाधन र मोटरसाइकलसमेत चल्न दिएका छैनन्। जसका कारण त्यसको क्षेत्रको जनजीवन कष्टकर बन्न थालेको छ। 

सेवाको केन्द्र सार्ने निर्णयको विरोधमा गाउँपालिकाको कार्यालयमा कालो झण्डा गाडिएको छ भने मंगलबार तोडफोडसमेत भएको थियो। केन्द्र सार्ने निर्णय खारेज नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका अध्यक्ष लामाले बताए। गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले भने सर्वसम्मत रूपमा सेवा केन्द्र सार्ने निर्णय भएकाले आन्दोलन अर्थहीन भएको दाबी गरे। उनले भने, ‘यो आन्दोलन सुवर्णवासीले गरेको हैन, त्यहाँका केही व्यक्तिहरु छन्। तिनैले उचालिरहेका छन्।’ 
के हो विवाद ?

स्थानीय तह निर्धारण गर्दा ठोरी गाउँपालिकामा ७ वटा वडा (सेढवा, महादेबपट्टि, सुवर्णपुर, निर्मलबस्ती, ठोरी, गाविस गाभेर) छुट्टाइएकोमा पछि २ वटा  (महादेबपट्टि र सेढवा गाविस) लाई जिराभवानी गाउँपालिकामा गाभिएको थियो। त्यतिबेला गाउँपालिकाको नाममा समेत विवाद हुँदा सुवर्णपुरमा केन्द्र राख्ने सर्तमा ठोरी गाउँपालिका नामाकरण गरिएको थियो। 

‘महादेबपट्टि र सेढवा हुँदा सबैका लागि सुवर्णपुर मध्यभाग पर्ने भएकाले केन्द्र तोकिएको थियो’, गाउँपालिका अध्यक्ष श्रेष्ठले टेलिफोनमा भने,‘अहिले महादेबपट्टि र सेढवा अन्तै सारियो, त्यसैले केन्द्र सार्ने निर्णय भएको हो।’ हालै गाउँ परिषद्को बैठकले बजेट बिनियोजन गर्दा समेत सुवर्णपुरलाई उपेक्षा गरेको स्थानीयको आरोप छ। 

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले ठोरीमा २५ शय्याको अस्पताल दिएर सेवा केन्द्र वडा नम्बर ४ घ्याङडाँडा सार्ने निर्णयमा सहमति गराएकाले १ र २ वडा (ठोरी) का बासिन्दा चुप भएको वडा नम्बरका बासिन्दाको आरोप छ। १ सय २८ दशमलब ६७ बर्ग किलोमीटर क्षेत्रफल भएको भारतीय सिमावर्ती क्षेत्रमा पर्ने ठोरी गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई समेत छोएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.