|

विराटनगर : नेकपा  एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलका नेता शेरधन राईले संसदीय दलको बैठक बसेर केही दिनभित्र सरकार गठन गर्ने बताएका छन्। 

संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकारी गर्दै राईले ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार गठन हुने जानकारी दिए। उनले भने, ‘मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो। अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ।’ 

राईले अब बन्ने सरकारले प्रदेश १ लाई नमुना प्रदेश बनाउने उद्घोष पनि गरे। उनले प्रदेश १ लाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने बताए। ‘दलभित्र भएको निर्वाचनलाई लिएर कसैलाई काखा र कसैलाई पाखा गरिनेछैन’, उनले भने, ‘सबै माननीय सदस्यलाई समान दृष्टिले हर्नेछु।’ उनले सबै सांसदलाई जिम्मेवारी प्रदान गर्नेसमेत बताए।

यता, संसदीय दलको नेतामा पराजित एमाले नेता भीम आचार्यले अब पार्टीमा सक्रिय रूपमा लागिपर्ने बताए। सभामुखमा अवसर आयो भने नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सभामुखमा मेरो इच्छा छैन। पहिले पनि पार्टी राजनीतिमा सक्रिय थिएँ। अब पनि पार्टी राजनीतिमै लागिपर्छु।’

को हुन् शेरधन राई? 

वि. सं. २०२७ फागुन ११ गते आमचोक गाउँपालिका भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट जन्मिएका उनी भलिबल खेलाडी पनि हुन्। 

समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले ३ वर्ष भूमिगत जीवन बिताएका छन्। एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सहसंयोजक हुन्। 

०४७ सालमा पार्टीको सदस्यता लिएका राईले त्यसपछि २ पटकसम्म विद्यार्थी संगठनको पूर्वाञ्चल प्रमुख भएर काम गरे। त्यसपछि भोजपुर जिल्लाको पार्टी कमिटीमा निर्विरोध चयन हुँदै ४ पटक भूमिका निर्वाह गरे। ‘भोजपुर जिल्लाको इतिहासमा म नै निर्विरोध निर्वाचित भएको १ मात्रै पात्र हुँ’, राईले भने, ‘पदाधिकारी तहमा लामो समय काम गर्ने र उत्कृष्ट काम गरेको म नै हुँ।’

०५४ सालमा एमाले विभाजन हुँदा होस् या २०६२÷०६३ पछि भएको पहिलो संविधानसभापछि अशोक राईहरूले पार्टी छाड्दा पनि अविचलित भएर राई एमालेमै रहिरहे। ०५६ सालको निर्वाचनमा सबैभन्दा कान्छो सांसदको रूपमा २९ वर्षमै राज्यको नीति निर्माण गर्ने तहमा पुगेका राई ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि भोजपुरको २ नम्बर क्षेत्रबाट विजयी भएका थिए। 

संविधानसभामा रहँदा सुशासन समितिमा रहेर काम गरेका राई केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सञ्चारमन्त्री भएका थिए। ‘सरकारको सफल सञ्चारमन्त्रीको रूपमा मैले काम गरेको थिएँ’, उनले भने, ‘मेरा सबै कार्यकाल सफलतापूर्वक सम्पन्न भएका छन्।’ 

गाउँमै ७ कक्षासम्म अध्ययन गरेका राईले भोजपुरको घोडेटारमा रहेको सगरमाथा माविबाट एसएलसी, भोजपुर बहुमुखी क्याम्पसबाट स्नातक र काठमाडौंको पाटन क्याम्पसबाट स्नात्तकोत्तरसम्मको अध्ययन गरेका छन्। 

शुक्रबार दिउँसो मोरङको जिल्ला समन्वय समितिको कार्यालयमा भएको मतदानमा राई प्रदेश १ एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन्। उनै राई यस प्रदेशबाट मुख्यमन्त्री बनेको हेर्न केही दिन मात्रै कुर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.