|

धर्मराज जीसी-

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि प्रदेशस्तरीय ‘औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव, २०७४’ सुरु भएको छ।

महोत्सवको उद्घाटन  प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले गरेका छन्। उद्घाटन मन्तव्य राख्दै प्रमुख खनालले प्रदेश ६ पछि परेको नभई पछि पारिएको भन्दै प्राकृतिक स्रोत साधनमा सबैभन्दा धनी प्रदेश भएको बताए। स्थानीय स्रोत साधनको उपयोग गरे मात्र पनि प्रदेश ६ को समृद्धि टाढा नभएको प्रमुख खनालको भनाइ छ। 

समृद्धिका लागि प्रदेशको बलियो आधारको रूपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खनिज तथा जडिबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको विकास तथा प्रवद्र्धन गर्नुपर्नेमा प्रमुख खनालले जोड दिए।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ६ को आयोजनामा सुरु भएको महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन समारोहमा १० वटा प्याराग्लाइडिङबाट पुष्पवृष्टिसमेत गरिएको छ।

महोत्सवमा ४०९ स्टलहरू रहेका छन् भने करिब ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ। महोत्सव अवधिमा १५ करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको आयोजक समितिका संयोजक पदम शाहीले जानकारी दिए। 

उनले महोत्सवमा अन्तर्राष्ट्रिय स्टलहरूदेखि विभिन्न राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रमहरू समेत रहेको बताए। यस क्षेत्रको पर्यटन तथा कृषि र लघु उद्यमसमेतको विकास र विस्तार गर्नका लागि कृषिसँग सम्बन्धित स्टलहरू समेत रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.