विद्युत् उत्पादन ०७६ पुसदेखि

|

सोलुखुम्बु : सोलुखुम्बुमा निर्माणाधीन तल्लो सोलु जलविद्युत् आयोजना (८२ मेगावट) को २५ प्रतिशत काम सकिएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेको उक्त आयोजनाको काम माघ अन्तिमसम्म २५ प्रतिशत सम्पन्न भएको हो।

आयोजनाले १६ महिनाअघिदेखि निर्माणको काम सुरु गरेको हो। २५ प्रतिशत काममध्ये बाँधको काम ४० प्रतिशत पूरा भएको तल्लो सोलु हाइड्रो पावर कम्पनीका प्रशासन मेनेजर कविराज पौडेलले जानकारी दिए। आयोजनाको विद्युतगृहका लागि जग खन्ने र अर्थिङ प्लेट राख्ने काम भइरहेको छ, पौडेलले भने, ‘सबै सामान निर्माण स्थलमा आइपुग्यो काम भइरहेको छ।’ यस्तै, अहिले ‘२.४ मिटर गोलाकार १ हजार ४ सय ५० मिटर लामो पेनस्टक पाइप राख्ने संरचना निर्माण भइरहेको छ’ पौडेलले भने।

विद्युत् उत्पादनको लागि सोलुखुम्बुको तिङ्ला हुदै चार किलोमिटर सुरुङ मार्गमार्फत पानी लगिने छ। जसको ३० प्रशित काम सम्पन्न भएको आयोजनाले जनाएको छ। सुरुङमा जानको लागि आवश्यक पाँच सय मिटरको सुरुङकै बाटो निर्माण सम्पन्न भइसकेको र सात सय सुरुङ मार्गसमेत निर्माण भइसकेको मेनेजर कविराज पौडेलले जानकारी दिए। 

आयोजनामा क-कसको लगानी कति कति?

 १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ५ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ। स्वपुँजीको ५१ प्रतिशत स्वदेशी लगानी छ भने ४९ प्रतिशत भारतीय लगानी छ। आयोजना निर्माणका लागि स्वदेशी र विदेशी बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन्।

जसमा नेदरल्याण्डस डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ), जर्मन डेभलपमेन्ट बैंक (डिइजी) र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफआइडी) ले ८ अर्ब रुपैयाँ ऋण लगानी गरेको कम्पनीका कार्यकारी निर्देशक आषिश गर्गले जानकारी दिए। निर्देशक गर्गका अनुसार स्वदेशीमा प्राइम बैंकको अगुवाइमा ५ नेपाली बैंकको ३ अर्ब रुपैयाँ लगानी छ।

०७६ पुसदेखि विद्युत् उत्पादन गरिने

०७३ साउनमा निर्माण थालिएको आयोजनाबाट ०७६ पुसदेखि विद्युत् उत्पादन गरिसक्ने बताइएको छ। प्रशासन मेनेजर पौडेलका अनुसार तीव्र गतिमा काम भईरहेकाले निर्धारित समयमा काम सम्पन्न हुने छ। पौडेलले भने, ‘निर्माण कामको अहिलेको गतिलाई कायम राख्दा २ वर्ष अगाडीनै विद्युत उत्पादन हुन्छ।’ अहिले करिब १२ सय कामदारले २४ सै घण्टा काम गरिरहेका छन्।

विद्युत् उत्पादन भए पनि प्रसारण लाइनको चिन्ता

सोलुखुम्बुमा उत्पादित विद्युत् प्रसारणका लागि विद्युत् प्राधिकरणले १३२ केभी सोलुकरिडोर प्रसारण लाइन निर्माण गरिरएको छ। सोलुखुम्बुको तिङ्लामै सबस्टेसनमा जोड्ने गरी काम भइरहेको छ। तल्लो सोलु अबको २२ महिनामा पूरा गर्ने लक्ष्य छ तर सोलु करीडोरको निर्माण नसकिने हो कि भन्ने हामीलार्इं चिन्ता छ, प्रशासन मेनेजर पौडेलले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.