|

दार्चुला : दार्चुलाको चमेलिया जलविद्युत् आयोजनाको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको विद्युतगृह परिसरमा रहेको ताम्रपत्र अनावरण गरेलगत्तै दोस्रो तलामा रहेको मुख्य स्विच थिचेर आयोजनाको औपचारिक उद्घाटन गरेका हुन्।

आयोजनासँग रहेको दुई युनिटमध्ये एक युनिट पुस २८ गते सञ्चालन गरी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएको थियो भने अर्को युनिट १८ माघमा सञ्चालन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो। पन्ध्र÷ पन्ध्र मेगावाटका दुई युनिटबाट पिक आवरमा छ घण्टा विद्युत् आपूर्ति गर्ने गरी आयोजनाले विद्युत् राष्ट्रिय प्रसारण लाइनमा छोड्ने आयोजना प्रमुख अजयकुमार दहालले जानकारी दिए।

सुदूरपश्चिमकै लामो प्रसारण लाइन र देशकै अग्लो ड्याम

आयोजनास्थल बलाचबाट राष्ट्रिय प्रसारण लाइन अत्तरियासम्म जोड्ने १ सय ३१ किलोमिटर सुदूरपश्चिमकै लामो प्रसारण लाइनमार्फत विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेको चमेलियासँग देशकै उच्च बाँधसमेत रहेको छ। बैतडीको कोटपेटरा, दार्चुलाको शेरी र लटिनाथ गाविसको सिमाना पर्ने बिटुलेमा ५८ मिटर अग्लो बाँध निर्माण गरी आयोजनाका लागि जलाशय निर्माण गरिएको छ। यो जलाशय नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सबैभन्दा उच्च बाँध रहेको आयोजना प्रमुख अजयकुमार दहालले जानकारी दिए।

आयोजना उद्घाटन भए पनि स्थानीयलाई छैन बिजुली

३० मेगावाटको चमेलिया आयोजनाको औपचारिक उद्घाटन गरिएको भए पनि चमेलियाबाट उत्पादित बिजुली भने स्थानीयले बाल्न पाउने छैनन्।

आयोजना स्थलमा दार्चुला र बैतडीका लागि निर्माण गरिएको सबस्टेसनबाट प्रसारण लाइन विस्तार नै हुन नसकेकाले दार्चुला र बैतडीका स्थानीयले चमेलियाको बिजुली बाल्न नपाएका हुन्।

स्थानीयलाई बिजुली दिने सन्भर्दमा आयोजनाले समेत ढाँटको स्थानीयको आरोप छ। आयोजनाले निर्माण अवधिमै दार्चुलका शेरी, लटिनाथ र शिखर गाविस तथा बैतडीका रुद्रेश्वर र कोटपेटरा गाविसमा विद्युतीकरण गर्ने सम्झौता भएको भएपनि ती गाविसमा अहिलेसम्म विद्युतीकरण हुन सकेको छैन।

प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल बिजुली दिने सम्झौता स्थानीयसँग भएको भए पनि अहिलेसम्म ती क्षेत्रमा विद्युतीकरण नभएको मार्मा गाउँपालिका–६ का स्थानीय सन्तोष कोट्टारीले बताए। ‘त्यतिवेला प्रभावित क्षेत्रमा विद्युतीकरण गर्ने सम्झौता भएको तर अहिले न अयोजनाले हेर्यो न राजनीतिक दलहरुले नै स्थानीयलाई बिजुली दिन पहल गरेका छन्।’ कोट्टारीको भनाइ छ।

यस्तो छ खर्च विवरण

चमेलियाको अनुमाति खर्च १५ अर्ब ९० करोड रहने आयोजना प्रमुख अजयकुमार दहालले बताए पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुल लागत १५ अब रहने अनुमान गरेको बताएका छन्।

आयोजना उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतगृहका लागि जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिब ७ अबै ८४ करोड, परामर्श सेवातर्फ करिब ६० करोड गरी जम्मा ८ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ।

त्यसैगरी १ सय किलोमिटर लम्बाइ बलाँच अत्तरिया प्रसारण लाइनको निर्माणमा २ अर्ब ५४ करोड, १३२/३३ केभी तथा ३३/११ केभी सबस्टेसन निर्माण र ३३/११ केभी प्रसारण लाइन निर्माणमा १९ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ। आयोजनाले सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा ५ करोड, मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको निर्देशक घिसिङले उद्घाटन कार्यक्रममा जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.