|

सुरुङ्गा (झापा) : पूर्वश्रम तथा यातायात व्यवस्था सहायकमन्त्री टेकनारायण राजवंशी बाह्रदशी गाउँपालिका१ भगुडुब्बा निवासी हुन्। उनी विसं २०६२ मा मन्त्री भए। उनले विसं २०२२ मा भद्रपुर हाइस्कुलबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका थिए।

एसएलसी परीक्षामा सामेल हुनेबित्तिकै राजवंशीलाई भागुडुब्बामा रहेको अमृत निमाविमा शिक्षकको जागिर खान आग्रह गरियो। झन एसएलसी परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गरेपछि उनको माग झापाका धेरै विद्यालयमा भयो। कतिपय विद्यालयका प्रधानाध्यापकले उनलाई शिक्षकमा नियुक्ति गर्न घरमै आएर अभिभावकलाई समेत आग्रह गरेको राजवंशीले अझै बिर्सिएका छैनन् ।

राजवंशीले विगत स्मरण गर्दै भने, 'म मात्रै होइन राजगढका नन्दीकिशोर राजवंशीले विसं २०२० मा भद्रपुर हाइस्कुलबाट एसएलसी पास गर्दा घरमै जागिर दिन आउनेको लर्को लागेको थियो।' राजवंशी समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा कमैले मात्रै त्यसबेला अध्ययन गर्ने गरेका थिए। उनले भने, 'त्यसबेला जताततै विद्यालय थिएनन्, चेतनास्तर कम भएका कारण सबैले छोराछोरीलाई पढाउँदैनथे, त्यसमा पनि राजवंशीले त झनै छोराछोरीलाई स्कुल नै पठाउन्न्थे।'

घरमै आएर दिएको जागिर नखाएर राजवंशीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे। स्नातकोत्तरपछि राजगढमा आफैँ क्याम्पस सञ्चालन गरेका राजवंशी मन्त्री बनेपछि लोकप्रिय भए। ग्रामीण क्षेत्रका सर्वसाधारणमा चेतनास्तरको वृद्धिसँगै आदिवासी जनजाति समुदायको पनि शिक्षामा पहुँच पुगेको छ। दुई वर्षअघि साक्षर जिल्ला घोषणा भएको झापामा अहिले झण्डै पाँच लाख बालबालिका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गरिरहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

समाजशात्रमा स्नातकोत्तर गरेका तत्कालीन राजगढ४ का कमलप्रसाद राजवंशीले विसं २०५८ मा कृषि विकास बैंकमा जागिर सुरु गरे। पशुपति मावि राजगढबाट १६७ जना एसएलसी परीक्षामा सहभागी हुँदा १३ जना मात्र उत्तीर्ण भएको स्मरण गर्दै  उनले भने, 'हामीले पढ्दा पनि यस क्षेत्रबाट एसएलसी थोरैले मात्र पास गर्थे, झन त्यहाँभन्दा अगाडिको अवस्था भनिसाध्य छैन।'

आदिवासी समुदायमा चेतनास्तर कम हुनु, अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावनाको विकास नहुनुले अझै पनि धेरै बालबालिका शिक्षाको पहुँच बाहिरै छन् । उनले भने,'शिक्षित परिवारमा हुर्किएको मलाई पनि त्यो बेला पढ्न सहज थिएन, विद्यालय जाँदा सबैले गिज्याउथे, साथीभाइको लहैलहैमा लागेको भए आज म यहाँसम्म आइपुग्ने थिइन्।'

राजवंशी अहिले कृषि विकास बैंक लिमिटेड बिर्तामोड शाखाको शाखा अधिकृत पदमा कार्यरत छन्। उनी मात्रै होइन बाह्रदशी गाउँपालिका३ राजगढका वीरेन्द्रप्रसाद राजवंशी अहिले आफ्नै वडाको अध्यक्ष छन्। विसं २०४४ मा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गरेका उनी विसं २०५१ देखि २०५५ सम्म नारायणहिटी राजदरबारको सुरक्षामा संलग्न भए। त्यसको केही समयपछि उनी तत्कालीन राजा वीरेन्द्रको सुरक्षामा खटिए।

नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर उनले पूर्वराजाको सुरक्षासँगै नारायणहिटी दरबारको सेवाको अनुभव पनि लिए। विसं २०५५ मा सूर्यविनायकमा उनको सरुवा भएपछि दरबारबाट बाहिरिइएका राजवंशीले त्यसपछि पाँच वर्षमात्र नेपाली सेनामा काम गरे। नेपाली सेनाको जागिर त्यागेपछि गाउँ फर्किएका राजवंशीले राजवंशी शब्दकोष भण्डारतयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा समेत रहेर काम गरे। राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएपछि उनी त्यस क्षेत्रमा मात्र नभई जिल्लामै चर्चित छन्।

वीरेन्द्रजस्तै बाह्रदशी१ भागुडुब्बाका शम्भुसिंह राजवंशी आफ्नै वडाको अध्यक्ष छन्। स्नातकसम्मको अध्ययन गरेका उनले विसं २०६१ मा एसएएलसी परीक्षा उत्तीर्ण गरे। उनले योसँगै कम्प्युटरमा एमसिएसइ (माइक्रोसफ्ट सटिफाइट सिस्टम इञ्जिनियर) पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.