|

बाँके : सैनिक खोलामा निर्माण गरेको काठेपुल जीर्ण भएपछि जानकी गाउँपालिका–१ का स्थानीय जोखिम मोलेरै वारपार गर्ने गरेका छन्। काठेपुल जीर्ण बन्दा विशेष गरेर बालबालिका जोखिम मोलेर विद्यालय आउजाउ गर्न बाध्य छन्।
जानकी र खजुरा गाउँपालिकाको बीचमा पर्ने सैनिक खोलामा बनेको काठेपुलको काठ कुहिएर खसेपछि यहाँका २०० बढी बालबालिका जोखिम मोलेर आउजाउ गर्न बाध्य भएका हुन्। खोला जमिनको सतहभन्दा २ सय मिटर गहिँरो छ। साथीको सहारामा पुल वारपार गर्दै आएको मैटहवा मावि कक्षा ११ मा अध्ययनरत तृष्णा आले मगरले बताइन्।

उनले हरेक दिन पुल वारपार गर्ने चिन्ता लाग्ने गरेको बताइन्। ‘पुलमा विछ्याइएको काठ खसेको छ, हिड्ने बेला पुल हलिन्छ, डरले एक्लै हिड्न सकिदैन,’ साथीसँगै विद्यालयबाट फर्किदै गरेकी तृष्णाले भनिन्। मैटहवा मावि कक्षा ८ मा अध्ययनरत निशा थापा पनि पुल नजिकै भेटिइन्। साथी बिना पुल वारपार गर्न मुस्किल पर्ने गरेको उनले दुखेसो पोखिन्। साथी नभेटिएको दिन लामो बाटो भएर विद्यालय जाने गरेको उनले सुनाइन्। ‘पुलको काठ कुहिएकोले खुट्टा छिर्ला भन्ने डर लाग्छ, कुन बेला के हुने हो पत्तो छैन, ठूलै जोखिम मोलेर यात्रा गर्दै आएका छौँ,’ निशाले भनिन्।

मैटहवा माविमा अध्ययनरत कलिम साईँ पनि दैनिक ३–४ पटक उक्त पुल भएर ओहोर दोहोर गर्छन्। उनले पुलको काठ कुहिएर खसेकोले ठूलै जोखिम मोलेर पुल वारपार गर्दै आएको बताए। उनले पुल प्रयोग नभएको कुनै दिन नभएको बताए। विद्यालय आउजार गर्न मात्र नभई उनले दैनिक उपभोग्य वस्तु किनमेल र अन्य कामकाजका लागि समेत काठेपुल प्रयोग गर्दै आएको बताए। ‘पुल टुटे पनि प्रयोग गर्नुको विकल्प छैन, जोखिम छ भन्ने जान्दा जान्दै पुल प्रयोग गर्दै आएका छौँ,’उनले भने।

जानकी गाउँपालिका–१, बहादुरपुरमा किराना पसल गर्दै आएका शिवराज खाँले पनि दैनिक जसो उक्त भाँचिएको पुल प्रयोग गर्छन्। उनले भारी बोकेर पुलमा हिड्दा झनै समस्या हुने गरेको बताए। उनले भने, ‘कुनै बेला त साथीभाइको हात समातेर वारपार गर्नु पर्ने हुन्छ।’

पुलमा विछ्याइएका काठ सडेर खसेपछि हिड्ने बेला आँखा तिरमिराउने गर्छ। कहिल्यै नहिडेको व्यक्तिलाई त झनै मुस्किल पर्छ। नजिकै रहेका गाईभैँसी गोठालाको सहायतामा पुल पार गरेको नेपालगन्जका पत्रकार प्रियास्मृति ढकालले बताए। उनले एक्कै पार गर्न खोज्दा आँखा तिरमिराए पछि सहायता मागेको बताए। ‘तल हेर्दा रिङ्गाटा लागेर आउँछ, एकातिर खुट्टा छिर्ला भन्ने डर उत्तिकै हुन्छ,’ उनले भने।

हिड्ने बेला रिङ्गाटा लागेपछि अरुको सहारा लिएर वारपार गर्दै आएको जानकी गाउँपालिका–१, शिवपुरीकी अनिता काँदुले बताइन्। उनले पुल हल्लिने भएकोले तल हेरेर हिड्न नसकिएको बताए। ‘तल हेर्ने हो भने रिङ्गाटा लाग्छ, नहेरेर हिड्ने हो भने खुट्टा छिर्ला भन्ने डर।’ उनले भनिन्। यस आर्थिक वर्षमा पनि उक्त खोलामा पुल नबन्ने भएको छ। स्थानीय निकायको बजेटले पुल निर्माण नहुने भएपछि पक्की पुल नबन्ने भएको हो।

सर्वसाधारणको सुविधाका लागि पक्की पुल निर्माण गर्ने पहल भइरहेको खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लले जानकारी दिए। उनले स्थानीय निकायको बजेटबाट पुल निर्माण गर्न सम्भव नभएपछि पक्की पुल निर्माणका लागि केन्द्रसँग माग गरिएको बताए। यस आर्थिक वर्षसम्म सोही कोठे पुललाई मर्मत गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले आगामी आर्थिक वर्षमा पक्की पुल निर्माण गर्ने आश्वासन दिए। ‘स्थानीय निकायको बजेटबाट पुल निर्माण हुन सम्भव छैन, आगामी वर्ष केन्द्रीय योजनामा पारेर निर्माण गर्ने योजना छ,’ अध्यक्ष मल्लले भने।

उनले सर्वसाधारणले झेल्दै आएको समस्याका बारेमा आफू जानकार भएको बताए। उनले आफ्नै पहलमा काठेपुल निर्माण गरेको समेत बताए। ‘म स्थानीयले खेप्दै आएको समस्याप्रति सकारात्मक छु, तर के गर्ने पुल निर्माण गर्न स्थानीय निकायका बजेट छैन,’ उनले भने। उनले सर्भे गरेर आगामी वर्ष योजना ल्याएरै छाड्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.