|

गोरखा : युवा युवतीबीचको विवाह भएको कुरा त सुनिएकै हो। तर, गोरखाका गाउँहरूमा भने मकैको विवाह गर्ने चलन छ। गएको एक सातादेख जिल्लाको लाप्राक, गुम्दालगायत गाउँमा गाउँलेहरूले मकैको विवाह गर्ने मौसम आएको छ।

यस क्षेत्रमा खेतबारीमा मकै रोप्नुअघि मकैको विवाह गर्ने प्रचलन रहेको छ। गुम्दाका स्थानीय धने गुरुङले भने, ‘बारीमा मकै रोप्नुअघि मकैको विवाह गर्नैपर्छ भन्ने चलन छ।’ विवाहका दिन लामा गुरुले चोखो ठाउँमा मकै रोपेर छोड्छन्। भोलि त्यही मकैको बीउ निकालेर गाउँका एक जना युवालाई दुलाहा र एक जना युवतीलाई दुलही बनाई डोलीमा हालेर नाचगान गर्दै रमाइलो गरिन्छ।

विवाहमा युवा, युवतीहरू झ्याली मादल बजाएर र लामा झाँक्रीहरु ढ्याङ्ग्रो ठोक्दै नाच्छन्। लाप्राकका एक विद्यालयका शिक्षक धनप्रसाद गुरुङले भने, ‘जन्ती जानेहरू धन आउ धन आउ भनेर कराउँछन्।’ 

असिनापानी, हिमपात, हावाहुरीले मकैखेती नष्ट नगरोस्, बाँदर, भालुजस्ता जंगली जनावरले बाली नष्ट नगरोस् भनेर प्रार्थना गर्दै मकैको विवाह गरिन्छ। विवाहको जन्तीमा प्रत्येक घरका मानिस सहभागी हुन्छन्। भोजमा खानेकुरा गाउँबाट संकलन गरिन्छ। विवाहका दिन गाउँमा ढिकी, जाँतो, घट्ट नचलाउने, मेलापर्म पनि नगर्ने चलन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.