|

चितवन : चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटे बाघ गणनाका लागि फिल्डको काम सकिएको छ। क्यामेरा ट्रयापिङ विधिअनुसार यस क्षेत्रमा राखिएका अत्याधुनिक प्रविधिका सबै क्यामेरा निकालिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

बाघ गणना गत मंसिर १४ बाट थालिएको थियो। ‘यहाँ फिल्डको काम सकेर क्यामेरा निकालिएको छ, शुक्लाफाँटामा गणनाका कार्य शुरु भएको छ,’ अर्यालले भने, ‘आगामी वैशाखमा वन्यजन्तु सप्ताहको अवसर पारेर अवस्था सार्वजनिक हुन्छ।’

यसपटक नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) भैरहेको छ। बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना गरिएको हो। सामुदायिक वन क्षेत्रमा समेत अनुगमन भएको थियो। अनुगमनका क्रममा निकुञ्जमा बाघको उपस्थिति राम्रो देखिएकाले संख्या बढ्ने अनुमान गरिएको छ।

यो क्षेत्रमा करिव ६ सय वटा क्यामेरा प्रयोग गरेर गणना गरिएको थियो। गणनामा प्रयोग गरिएका क्यामेरामा कैद भएका तस्वीर निकाल्ने र विश्लेषण गर्ने काम थालिएको बाघ गणनाको व्यवस्थापन हेर्दै आएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताए। 

लामिछानेका अनुसार पहिले बाघ फेला परेका ठाउँमा अहिले पनि क्यामरामा कैद भएको पाइएको छ।

सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ वटा बाघ रहेको पाइएको थियो। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा सात वटा रहेका थिए।

पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न गरिएको हो। सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने लक्ष्य  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.