|

काठमाडौं : नेकपा एमालेका सचिव तथा संगठन विभाग प्रमुख प्रदेश ४ को एमाले संसदीय दलको नेता चयन भएका छन्। उनी सर्वसम्मत रूपमा प्रदेशको संसदीय दलको नेता छनोट भएका हुन्।

दलको नेता छनोट भएसँगै पृथ्बीसुब्बा गुरुङको प्रदेश ४ को मुख्यमन्त्री हुने बाटो खुलेको छ। मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश ४ का इन्चार्ज तथा स्थायी समिति सदस्य किरण गुरुङको दाबी थियो। यी दुवै नेता संस्थापन समूहका हुन्।

अन्तिम समयसम्म सहमति नभएपछि यी दुई नेताबीच सहमति मिलाउन पार्टी महासचिव ईश्वर पोखरेल नै पोखरा पुगेका थिए। आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो।

दलको नेतामा सर्वसम्मत भएपछि नेता पृथ्बीसुब्बाले फेसबुकमार्फत धन्यवाद व्यक्त गरेका छन्। उनले भनेका छन्, 'नेकपा (एमाले)को तर्फबाट प्रदेश नं. ४ संसदीय दलको नेता जस्तो गरिमामय पदमा मलाई सर्वसम्मत रूपमा चयन गराउन सहयोग पुर्‍याउनुहुने सम्पूर्णलाई धेरैधेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु।'

संसदीय दलको नेता छनोट हुने व्यक्ति नै प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार हुने कानुनी व्यवस्था छ। यस प्रदेशमा प्रत्यक्षमा ३६ र समानुपातिकमा २४ गरी ६० सांसद छन्। जसमध्ये एमालेका २७ जना सांसद रहेका छन्। यस प्रदेशमा माओवादी केन्द्र र नेकपा एमालेबीचमा गठबन्धन रहेकाले यस प्रदेशमा पृथ्बीसुब्बा नै मुख्यमन्त्री हुनेछन्।

को हुन् पृथ्बीसुब्बा?

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङ प्रदेशसभा '२' बाट निर्वाचित भएका हुन्। वि.स.२०१४ साल फागुन १ गते गिलुङ ८, (हाल-क्व्होलासोंथर गाउँपालिका ९) टक्सार लमजुङमा बुबा गंगाप्रसाद र आमा चिनी गुरुङबाट जन्मिएका हुन्।

अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाडौंबाट विज्ञान विषयमा ०३४ मा स्नातकसम्मको अध्ययन पूरा गरेका पृथ्बीसुब्बा ०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवमा निर्वाचित भएका थिए। ०३१ मा अखिल नेपाल क्रान्तिकारीको कोअर्डिनेसन केन्द्र (माले)को सम्पर्क, अमृत साइन्स क्याम्पसको सम्पर्कमा आएका उनी ०३५ मा मध्यउत्तर इलाका पार्टी सक्रिय दल नेकपा(माले) लमजुङको सदस्यको रूपमा संगठित भएका थिए। ०३६ मा नेकपा(माले) पश्चिमोत्तर इलाका पार्टी सक्रिय दल लमजुङको सदस्य हुँदै ०३७ साल फागुन ७ गते उनले नेकपा(माले) को पार्टी सदस्यता प्राप्त गरे।

०४० वैशाखमा नेकपा(माले) जिल्ला संगठन कमिटीको सदस्य, २०४८ फागुनको प्रथम जिल्ला अधिवेशनबाट नेकपा(एमाले) जिल्ला कमिटी सचिव, २०५१ फागुनको दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध पुनः जिल्ला सचिव भएका पृथ्बीसुब्बा ०५४ माघ ९–१४ मा नेपालगन्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट नेकपा(एमाले) केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए।

०५४ देखि ०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर काम गरेका उनी ०६० मा नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका थिए।

०६१ देखि ०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेका पृथ्बीसुब्बाले ०६१ देखि ०७० सम्म आदिवासी–जनजाति फाँट इन्चार्जको रूपमा काम गरे। ०६५ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुँदै उनी ०६५ मा पार्टी पोलिटब्युरो सदस्यमा निर्वाचित भएका हुन्।

०६९ देखि ०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी सम्हालेका पृथ्बीसुब्बा ०७१ मा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भएका हुन्। उनी हाल पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन्।

यससँगै एमालेको जनवर्गीय संगठनहरू विद्यार्थी, युवा, शिक्षकका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनी एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको संस्थापक अध्यक्ष तथा हालका अध्यक्षसमेत हुन्।

नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनका क्रममा पटक-पटक जेल जीवन बिताएका उनी एमालेको इलाका कमिटीको तर्फबाट उनले टक्सारमा ज्यालाबनीको मूल्य वृद्धिको लागि हली हडतालको नेतृत्व गरेका थिए। ०३९ मा कृषि मजदुरहरूको ज्याला वृद्धिको लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरेर सफल भएका पृथ्बी ०४१-०४४ सम्म घरवारविहीन किसान, सिकर्मी, डकर्मीहरूको घर निर्माण गर्न घर निर्माण सहकारी सञ्चालन गरी २५ वटा घर निर्माण गर्ने कामको नेतृत्व गरेका थिए।

०४१ मा नेकपा(माले) लमजुङ जिल्लाको प्रतिरोधीदल (Resistant Qm|uad) को राजनीतिक कमिसारको जिम्मेवारी बहन गरेका थिए। ०४५ मा नेकपा(माले)द्वारा सञ्चालित पञ्चायतविरोधी संघर्षको लागि गठित संयुक्त संघर्ष समिति, नेकपा(माले) लमजुङको संयोजक भएर काम गरेका उनी ०४६ सालमा पञ्चायती व्यवस्थाविरोधी संयुक्त जनआन्दोलन लमजुङमा संयोजकको भूमिका निर्वाह गरेका थिए।

०४७ मा नेकपा(माले)को तर्फबाट नेकपा(माले) र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजकसमेत भएर काम गरेका पृथ्बीसुब्बा ०४२ असार ७ गते पक्राउ परी सय दिन प्रहरी हिरासतसहित ११ महिना शान्ति सुरक्षा ऐनअन्तर्गत लमजुङ कारावासमा थुनामा बसेका थिए। जेलबाटै कारावास राष्ट्रिय परिषद्को सदस्यमा जनपक्षीय उम्मेदवार भएर भण्डाफोर अभियानका रूपमा चुनाव उठेका उनले चुनाव भने जित्न सकेनन।

पृथ्वी सुब्बालगायत लमजुङका प्रगतिशील युवाहरूको मिहिनेतले ०५१, ०५६ सालको निर्वाचन भोग्दै ०६४ सालको संविधानसभाको निर्वाचनमा बल्ल वामपन्थी दलले लमजुङमा जित्न सफल भयो। ०६४ को संविधानसभाको निर्वाचनमा ६ हजार मतान्तरले विजयी भएका पृथ्बीसुब्बा ०७० को संविधानसभाको निर्वाचनमा भने कांग्रेस उम्मेदवारसँग पराजित हुन पुगे।

उनले  ०६३ मा नेकपा (एमाले) राज्य पुनःसंरचनासम्बन्धी कार्यदलको सदस्य भएर काम गरेका थिए। ०६२/६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी पर्यटन तथा संस्कृतिमन्त्री भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.