|

गोरखा : १२ बैशाख ०७२ मा गएको विनाशकारी भूकम्पले करिब ५ सय गोरखालीको मृत्यु भयो। ६० हजार घर पूर्णरूपमा ध्वस्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ। भूकम्पपछि गोरखामा भूकम्पपीडितलाई सहयोग गर्ने नाममा थुप्रै दातृ निकायहरू भित्रिएका छन्। 

भूकम्पपीडितको नाममा केही गैरसरकारी  र सरकारी तबरबाटै पीडामा झनै पीडा थप्ने काम समेत भइरहेको छ। आइतबार मात्रै गोरखाको पुनर्निर्माणको विषयमा गोरखाकै कार्यालय प्रमुखहरू र गैरसरकारी संस्थाहरूको छलफल कार्यक्रम पोखरामा भइरहेको छ। 

‘गोरखा जिल्लाको पुनर्निर्माणको विषयमा छलफल गर्न पोखरामा कार्यक्रम गरिएको हो’ ,कार्यक्रममा कहाँबाट कोको सहभागी छन् भन्ने  प्रश्नको उत्तरमा पुनर्निर्माण प्राधिकरण गोरखाका शिव पौडेलले भने,‘कार्यक्रममा गोरखाको पुनर्निर्माणमा सहभागी सबै एनजिओ आइएनजिओहरूको सहभागिता रहेको छ।’ 

उनले गोरखामा सबै सुविधा भएको ठाउँ नभएको कारणले पोखरामा आयोजना गरेको समेत स्वीकारे। कार्यक्रमको बन्दोवस्त मिलाउन केही संघसंस्थाका कर्मचारीहरू शुक्रबारदेखि नै पोखरा गएको स्रोतको दाबी छ। पोखरामा गोरखाबाट गएका सरकारी कार्यालयका प्रमुखहरू प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय अधिकारी नारायण आचार्य, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा पोखरा पुगेका छन्।

अधिकांश सरकारी कार्यालयका प्रमुखहरू पोखराको बाहारी होटलमा भएको सो कार्यक्रममा सहभागी हुन शनिबार नै पोखरा पुगेका थिए। बाराही होटल पोखराको महंगो होटल मध्येको एक होटल हो। जिल्लामा भूकम्पको पुनर्निर्माणभन्दा बैठक तथा गोष्ठीहरू धेरै रकम र समय खर्च भएको भन्दै आलोचना भइरहेको बेला प्राधिकरण गोरखाले विभिन्न आइएनजिओहरूको प्रायोजनमा गोरखाको पुनर्निर्माण विषयको गोष्ठी राखेको हो।

प्राधिकरणले गोरखामा निचोड निकाल्न नसक्ने भएकोले पोखरामा कार्यक्रम आयोजना गरेको जानकारी  दियो। ‘गोरखामा संस्थाका पदाधिकारीहरू र सम्बन्धीत सरकारी कार्यालयका प्रमुखहरूले पूरा समय नदिने भएकोले यहाँ कार्यक्रम गरिएको हो’,पौडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.