|

विराटनगर : प्रदेश १ एमाले संसदीय दलको पहिलो पटक बसेको बैठकमा विवाद भएको छ। बैठक सञ्चालनको तरिका, छलफल नभई संसदीय दलको नेताले बैठक सुरु गरेर एकैपटक सकेको भन्दै प्रदेशसभा सांसदहरुले नै विरोध गरेका हुन्।

खोटाङकी प्रदेशसभा सांसद उषाकला राईले दलको नेता छान्ने कुरा पनि प्रस्ताव गरेपछि सदस्यहरूलाई बोल्न नदिएको र एकलौटी ढंगले लाद्ने प्रयास भएको बताइन्। ‘संसदीय दलको नेताले प्रस्ताव प्रस्तुत गर्नुभयो, उहाँले नै एकै पटकमा अन्त्य पनि गर्दिनु भयो,’ राईले भनिन्, ‘दलका सदस्यहरुलाई छलफल गर्नै दिइएन, माननीय सदस्यहरुसँग छलफल गर्न नदिएर निरंकुशता लाद्ने प्रयास गरियो।’

पटक पटक यसखालको गतिविधि भए विद्रोह हुने राईले बताइन्। ‘आगामि दिनमा पनि यस्तै खालको बैठक सञ्चालन हुने हो छलफल गर्न नचाहने हो भने विद्रोह हुने नै भयो,’ उनले भनिन्, ‘आगामि दिनमा यसखालको गतिविधि गर्नु हुँदैन।’ प्रदेशसभाकी अर्की सांसद सुनिता चौधरीले एमाले लोकतान्त्रिक पार्टी भएपनि संसदीय दलको बैठकमा निरंकुशता लाद्ने प्रयास भएको आशंका उब्जिएको बताइन्। ‘हाम्रो पार्टी लोकतान्त्रिक हो। तर आजको गतिविधिले कतै निरंकुशता तिर पो गएको हो कि जस्तो भएको छ,’ उनले भनिन्, ‘हामीलाई बोल्न नदिएर कुण्ठित गर्ने प्रयास गरेको भान भएको छ।’

एमालेको संसदीय दलको बैठक आइतबार पहिलो पटक बसेको थियो। बैठकबाट प्रदीपकुमार भण्डारीलाई सभामुखमा सिफारिस गर्ने निर्णय गर्दा संसदीय दलका नेताले प्रस्ताव गरेलगत्तै निर्णय सुनाइएको थियो। सभामुखमा उषाकला राईले पनि आफ्नो दाबी रहेको बताउँदै आएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.