|

चितवन : नायिका श्वेता खड्काको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को प्रचार टोली आइतबार चितवन आइपुगेको छ। 

चितवनमा पत्रकार सम्मेलन गरी निर्मात्री तथा नायिका श्वेता खड्का र कलाकार दयाहाङ राईले जनजीवनमा घटिरहेका समसामयिक विषयमा कान्छी तयार भएको बताए। 

‘मात्रै प्रस्तुति फरक छ, कान्छी भन्नेवित्तिकै जुन माया ममता जाग्छ, चलचित्रमा पनि त्यही छ’, खड्काले भनिन्। उक्त चलचित्र फागुन ४ गते नेपालभर प्रदर्शनमा आउँदै छ। अहिले निर्माण समूह प्रचार अभियानमा जिल्ला जिल्लामा गइरहेको छ। 

आकाश अधिकारीले निर्देशन गरेको यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र श्वेता खड्का छन्। 

कलाकार राईले सानो सपना र ठूलो दुःखको भोगाइ नै चलचित्र कान्छी भएको बताए। उनका अनुसार उक्त चलचित्रमा समकालीन साथीहरूको कथा समेटिएको छ। 

राई र खड्काले चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मी र नायक स्वर्गीय श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै चलचित्र उत्कृष्ट बनाउने कोसिस गरेको बताए। चलचित्रको ‘चरी चट्ट परी’ भन्ने गीत अहिले चलचित्र नगरीमा निकै चर्चित छ। 

नायिका खड्काले रेग्मीकै चलचित्र ‘कहाँ भेटिएला’मा चितवनबाटै पहिलो पटक अभिनययात्रा सुरु गरेकी थिइन्। ‘मेरो पहिलो अभिनयको प्रयोग चितवन हो, त्यसैले चितवन मेरो माइती हो’, खड्काले भनिन्, ‘शिव सर र दादा (श्रीकृष्ण)ले कतैबाट आशीर्वाद दिइरहेको महसुस भइरहेको छ।’ 

उनले यसको कथा भने ‘कोहिनूर’ चलचित्र छायांकनकै क्रममा भारतमा तयार भएको भए पनि अहिले फरक रूपमा प्रस्तुत गरिएको जानकारी दिइन्। चलचित्रमा अनु शाह, कामेश्वर चौरसिया, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, अशान्त शर्मालगायतका कलाकारको अभिनय छ। चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीले श्वेतालाई त्यस बेला सिनेमामा ल्याउँदै श्रीमान स्व. रेग्मीले उत्कृष्ट नायिका हुन्छिन् भनेको कुरा आज साकार भएको महसुस भएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.