|

चितवन : माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता छिट्टै टुंगिने बताएका छन्। 

नेपाली राजनीतिमा राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जस्तोसुकै निर्णय लिन पनि सक्ने दोहोर्‍याउँदै अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन्।

आइतबार चितवनको भरतपुरमा प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने, ‘म काठमाडौं गएपछि कुराकानी हुन्छ, मेरो चाहना छ, दुई तीन दिनभित्र एकता टुंगियोस्, यो कुरा नलम्बियोस्।’ उनले अगाडि थपे, ‘पार्टी एकीकरण लम्बिएला जस्तो भन्दा पनि टुंगिएला जस्तो मैले देखेको छु।’

अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्न सक्ने बताएका थिए। यससँगै नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका विषयमा चर्चा परिचर्चा भइरहँदा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन्।

छोरा प्रकाशको स्मृतिमा आयोजित खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवाँ थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको प्रचण्डले उद्घाटन गरेका हुन्। उक्त अवसरमा बोल्दै उनले आउँदा दिनमा खेल क्षेत्रको विकास अझ तीब्र हुने विश्वास व्यक्त गरे। 

दिनानुदिन मुवा थाई खेल लोकप्रिय हुँदै गएको भन्दै उनले प्रादेशिक रूपमा यस्ता खेल हुनुले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने धारणा राखे। आम युवाहरूमा स्वास्थ्यका निम्ति र राष्ट्रका निम्ति खेलकुद भन्ने नाराअन्तर्गत संगठित गर्न पनि यी खेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुद विकासका लागि काम थाल्न मात्रै पाएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभर नै संस्थागत रूपमा खेलकुद क्षेत्रको विकासका लागि पहल सुरु गरेको उनले दाबी गरे।

चितवन क्षेत्र नम्बर– ३ बाट प्रतनिधिसभाका सांसदसमेत रहेका दाहालले यस जिल्लामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलहरू सफल रूपमा सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरणसहित खेलहरू भइरहेको भन्दै यसले जिल्लाको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

आफ्नै छोरा प्रकाशको स्मृतिमा खेलकुद आयोजना गरेकामा प्रचण्डले आयोजकलाई धन्यवाद पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.