|

इलाम : भारततर्फ भन्सार कार्यालय नहुँदा इलामको  पशुपतिनगर  नाकाबाट अवैध रूपमा सामान निकासी तथा पैठारी बढेको छ। 

नेपालतर्फ वि. सं. २०१३ बाट भन्सार कार्यालय स्थापना भएर संचालनमा रहे पनि भारततर्फ भने केही वर्षअघिसम्म सुकिया पोखरीमा ल्यान्ड कस्टम कार्यालय थियो। तर, सशस्त्र द्वन्द्वको समयमा सुकिया भन्सारले कारोवार गर्न छाडेपछि नेपालतर्फका उत्पादन वैधानिक रूपमा भारततर्फ निकासी हुन सकेका छैनन्। 

खुला सिमाना भएका कारण पनि यहाँ दैनिक उपभोग्य वस्तु, कस्मेटिक र अवैध मदिराको निकासी तथा पैठारी बढेको छ। पशुपतिनगर  नाकाबाट नुन, तेल, चिनी, चामल, अवैध मदिरालगायतका वस्तुहरू नेपाल आयात हुन्छन् भने चाउचाउ, चुरोट, कस्मेटिक सामान नेपालबाट भारततर्फ निर्यात हुने गरेको छ। भन्सार छलेरै यस्ता वस्तु आयात तथा निर्यात भइरहेको छ। २०३६ सालमा स्थापना भएको बजार स्थानीयले सुकेको बताउँदै आएका छन्। 

सशस्त्र द्वन्द्वअघिसम्म भारततर्फ सुकियामा भन्सार कार्यालय संचालन हुँदा उक्त नाका हुँदै पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवा, अलैँची, अम्लिसोलगायतका कृषिजन्य सामग्रीको निर्यात हुने गरेको थियो। तर त्यसपछि भारतीय पक्षले भन्सारको कारोवार बन्द गर्दा नेपालका उत्पादन वैधानिक रूपमा भारततर्फ निकासी हुन नसकेपछि बजारको चहलपहल पनि घट्दै गएको एकीकृत सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए।

बन्द सटर अवैध सामान राख्नका लागि
नेपाली र भारतीय व्यापारीहरूको राम्रै चहलपहल हुने यस बजारमा पहिलाको तुलनामा कारोवारसमेत घटेको छ। तर स्थानीयले भनेजस्तो बजार सुक्ने अवस्था भने नभएको स्थानीय बताउँछन्। बन्द भएका सटरहरू बजार सुनसान भएर होइन, अवैध रूपमा सामान निकासी पैठारीका लागि प्रयोग हुने गरेको एक स्थानीयले बताए। ‘यी बन्द भएका सटर छन् नि, यी त सामान ल्याएर राख्ने ठाउँ हो’, उनले भने, ‘कति सटरहरूमा त भारत पठाउन राखिएका सामानहरू पनि छन्।’ 

नेपालबाट निकासी हुने वस्तुहरू साना गाडीबाट भारत र नेपालको सीमावर्ती हिले भन्ने स्थानमा लगेर स्टोर गर्ने गरिएको छ। त्यस्तै, नेपाल आयात हुने वस्तुहरू पनि पशुपतिनगर  बजारको तल्लो भेग र बौद्धधामसम्म स्टोर गर्ने गरिएको छ। 

खुला सीमा भएको र वारिपारिका स्थानीयको अर्मपर्म चल्ने भएकाले पनि केही सामान ल्याउने र लैजाने गरिन्छ। तर व्यावसायिक रूपमा नै तस्करी बढ्न थालेपछि भने स्थानीय निकै चिन्तित छन्। अहिले पनि पशुपतिनगरमा भारतीय चिनी र अवैध मदिरा खुलेआम बिक्री भइरहेको छ। 

भौतिक संरचना नहुँदा ८ मध्ये ३ छोटी भन्सार मात्र संचालनमा 
पशुपतिनगर भन्सार कार्यालयअन्तर्गत रहेका ८ वटा छोटी भन्सारमध्ये ३ वटा मात्र संचालनमा रहेका छन्। छोटी भन्सार संचालन नहुँदा अवैध रूपमा भारततर्फबाट निकासी भइरहेको हो। 

२०२१ सालमा पशुपतिनगर भन्सार कार्यालय मातहत इलाम र पाँचथरमा ८ वटा छोटी भन्सार संचालनमा रहेकामा सशस्त्र द्वन्द्वका बेलामा छोटी भन्सार कार्यालयमा क्षति पुगेपछि बन्द हुनपुगेका थिए। शान्ति प्रक्रियापछि हाल ३ वटा मात्र पुनः स्थापना भई संचालनमा रहेका छन्। 

मानेभञ्ज्याङ र छिरुवामा छोटी भन्सार कार्यालय तथा छबीसेमा छोटी नाका संचालनमा रहे पनि इलामको तुम्लिङ, बन्दुके र माइमझुवा तथा पाँचथरको मेमेङ र च्याङथापु छोटी भन्सार संचालनमा छैनन्। भौतिक संरचना नभएकाले सबै क्षेत्रमा छोटी भन्सार कार्यालय संचालन गर्न समस्या रहेको पशुपतिनगर भन्सार कार्यालयका नायव सुब्बा चेतनाथ खनालले बताए। 

संचालनमा रहेका छोटी भन्सारको समेत आफ्नो कार्यालय भवन नहुँदा भवन भाँडामा लिएर कार्यालय सहयोगीको भरमा संचालन रहेको खनालले बताए। सीमा क्षेत्रमा भारतीय ल्यान्ड कस्टम नरही कस्टम चेक प्वाइन्ट मात्र रहँदा मालवस्तुको निर्वाध निकासी पैठारीमा समस्या हुनुका साथै दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा नियमित कार्य संचालनमा समस्या रहेको खनालले बताए। 

२०७२ बैशाख ६ गते कार्यालय प्रमुखका रूपमा आएका भन्सार अधिकृत प्रकाश पोखरेल २०७४ असोज २५ गते सरुवा भई वीरगन्ज कार्यालयमा गएका कारण भन्सार कार्यालय प्रमुखविहीन बनेको छ। भन्सार अधिकृत नहुँदा हाल नायव सुब्बा सुरेशराज थपलिया निमित्तको रूपमा काम गरिरहेका छन्।

इलाका प्रहरी प्रमुख भन्छन् : अवैध कारोवार भएको छैन
यता, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख शिवकुमार बुढाथोकीले अवैध रूपमा यहाँबाट मालवस्तु निकासी र पैठारी हुने गरेको खण्डन गर्दै पशुपतिनगरबाट यस्तो अवैध कारोवार नभएको दाबी गरे। उनले भने, ‘तपाईंहरूसँग केही जानकारी छ भने दिनुहोस्, हामी कारवाही गर्छौं।’ सीमा क्षेत्रमा हुने अवैध कारोवार रोक्न आफूहरू तयार रहेको बुढाथोकीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.