|

काठमाडौं : पर्साको सुवर्णपुरमा गाउँपालिकाको सेवा केन्द्र सारेको विरोधमा स्थानीयले आइतबार गाउँपालिका अध्यक्षको पुतला बनाएर दहन गरेका छन्। माघ १५ मा ठोरी गाउँपालिकाको गाउँसभा बैठकले वडा नम्बर ५ मा सुवर्णपुरमा रहेको गाउँपालिकाको सेवा केन्द्र वडा नम्बर ४ घ्याङडाँडामा सार्ने निर्णय गरेको थियो।

त्यसयता विगत १४ दिनदेखि सुवर्णपुरका स्थानीय उक्त निर्णय खारेज हुनुपर्ने माग गर्दै आन्दोलनरत छन्। सुवर्णपुर चोकमा गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठको पुतला बनाएर मृत्यपछिको अन्तिमसंस्कार जस्तै गरी बाघमोर्चास्थित ओरिया घाटमा पुतलादहन गरेको स्थानीय विमल खड्काले जानकारी दिए। गाउँपालिका अध्यक्ष श्रेष्ठले आफूहरूको मागप्रति बेवास्ता गरेकाले विरोधस्वरूप उनको पुत्ला बनाएर दहन गरेको खड्काले बताए। 

बहुमतको निर्णय खारेज गर्न मिल्दैनः गाउँपालिका अध्यक्ष श्रेष्ठ

गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले बहुमत जनप्रतिनिधिको सर्मथनमा गाउँसभाले गरेको केन्द्र सार्ने निर्णय कुनै पनि हालतमा नउल्टिने बताए। उनले भने, ‘हामीले छलफल गरिराखेका छौं, उनीहरूले आफ्ना रटान नछोड्ने, अनि कसरी हुन्छ सहमति ?’ समस्या समाधानका लागि औपचारिक\अनौपचारिक छलफल भईरहेको उनले बताए। सुवर्णपुरका सिमित व्यक्तिको स्वार्थका कारण आन्दोलन उग्र बन्दै गएको उनले दाबी गरे। 

विवादको जरो 

स्थानीय तह निर्धारण गर्दा ठोरी गाउँपालिकामा साविकको सेढवा, महादेबपट्टि, सुवर्णपुर, निर्मलबस्ती, ठोरी, गाविसलाई गाभेर ७ वटा वडा कायम गरिएकोमा पछि महादेबपट्टि र सेढवा गाविस लाई जिराभवानी गाउँपालिकामा गाभिएको थियो।

त्यतिबेला गाउँपालिकाको नाममा समेत विवाद हुँदा सुवर्णपुरमा केन्द्र राख्ने सर्तमा ठोरी गाउँपालिका नामाकरण गरिएको थियो। तर अहिले गाउँपालिकाको परिषद् बैठकले सेवा केन्द्र सार्ने निर्णय गरेपछि सुवर्णपुरका स्थानीय आन्दोलित छन्। आन्दोलनका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.