|

काठमाडौं : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले युवा कवि तथा पत्रकार फूलमान बल, कवि वेणु आचार्य र ३ संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति कवि एवम् मुन्धुमविद् वैरागी काइँलाले उक्त पुरस्कार तथा सम्मान प्रदान गरे। उनले ताम्रपत्र र १ लाख रुपैयाँ नगद राशिसहितको प्रतिभा पुरस्कार बल र दोसल्ला, ताम्रपत्र र २० हजार राशिसहितको प्रतिभा सम्मान कवि आचार्यलाई प्रदान गरेका हुन्। 

प्रमुख अतिथि काइँलाले सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढी, संगीत साधना प्रतिष्ठान नेपाल, इटहरी र डा. पारसमणि प्रधान शालिक निर्माण समिति जलपाइगुडी, पश्चिम बंगाल, भारतलाई प्रतिभा दशक सम्मान प्रदान गरे। 

प्रतिभा प्रतिष्ठान १० वर्ष पूरा गरेको अवसरमा यी ३ संस्थालाई दोसल्ला, भादगाउँले टोपी, माला र ताम्रपत्रद्वारा सम्मानित गरिएको थियो। नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृति विधामा उल्लेखनीय योगदान पु¥याएवापत स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष तथा समारोहका सभापति दयाकृष्ण राईले बताए। मदन पुरस्कार विजेतासमेत रहेका सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, संगीत साधनाका तर्फबाट महासचिव राजु केसी र शालिक निर्माण समितिका तर्फबाट अध्यक्ष प्रकाश क्षेत्रीले सम्मान ग्रहण गरेका थिए।

सम्मानित प्रतिभा तथा संस्थाहरूलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि वैरागी काइँलाले सम्मानितहरूको योगदान अतुलनीय रहेको बताए। 

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र प्रज्ञाप्रतिष्ठानकै मातृभाषा साहित्य विभाग प्रमुख प्र्राज्ञ श्रवण मुकारुङले प्रतिभा प्रतिष्ठानले विश्वलाई भाषा, साहित्य, कला र संगीतका माध्यमबाट विश्वलाई जोड्ने काम गरिरहेको भन्दै यस्तो सत्कार्यले नेपालीको शिर ठाडो भएको उल्लेख गरे।

कार्यक्रममा प्राज्ञ एवं प्रतिभा प्रतिष्ठानका मानार्थ सदस्य शशि लुमुम्बूले अतिथि र सहभागीहरूलाई स्वागत गर्दै संस्थाका उद्देश्य तथा गतिविधिमाथि प्रकाश पारेका थिए। कवि मोमिला जोशीले सम्मानित तथा पुरस्कृत प्रतिभाको परिचय प्रस्तुत गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.