|

चितवन : चितवनको रत्ननगरस्थित सौराहामा आइतबारदेखि १२औँ सौराहा खाना महोत्सव सुरु भएको छ। 

प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर सुरु भएकोे खाना महोत्सव फागुन ३ गतेसम्म चल्ने महोत्सवका संयोजक कपिल रेग्मीले जानकारी दिए।

महोत्सवको पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै भने, ‘सौराहामा संचालन हुने खाना र हात्ती महोत्सवले यहाँको पहिचान विश्वमा पुगेको छ।’ उनले भरतपुर विमानस्थललाई विस्तार गर्न सके चितवनमा पर्यटक वृद्धि हुनेमा जोड दिए। 

महोत्सवमा आउने पर्यटकलाई रेस्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान)मा आवद्ध होटलहरूको मेनुमा १५ प्रतिशत छुट दिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए। महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानी केही प्रतिशत रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गरिने जनाइएको छ। 

महोत्सवमा वेटर रेस, प्रेमपत्र लेखन, तेक्वान्दो, महिलाबीच म्युजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला शृंगार प्रतियोगितालगायत कार्यक्रम राखिएको बताइएको छ। 

यस वर्ष थप आकर्षणमा हात्तीको वनभोज कार्यक्रम पनि राखिएको प्रचार समितिका संयोजक सूर्य रिमालले जानकारी दिए।

कलाकार व्यवस्थापन संयोजक नवीन नेपालका अनुसार यस पटकको महोत्सवमा कलाकारहरू प्रमोद खरेल, प्रजापति पराजुली, रमेशराज भट्टराई, पूर्णकला वीसी, कमल खत्री, शिव हमाल, साहिमा श्रेष्ठले दर्शकलाई मनोरञ्जन दिँदै छन्। 

यस्तै, अन्य कलाकारहरूमा उल्सन श्रेष्ठ, राजन गुरुङ, सम्झना भण्डारी, प्रकाश सपुत, दुर्गा सापकोटा, चोलेन्द्र पौडेल, जीवन दाहाल, मनोज महतो र केशवराज महतोले प्रस्तुति दिनेछन्। 

महोत्सव सुरु हुनुअघि हात्तीसहित विभिन्न जातजातिका झाँकी, महिला समूहसहितको शोभायात्रा निकालिएको थियो। 

रेस्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहा र रेवान महिला समूह चितवनको आयोजनामा गरेको महोत्सवमा ५८ वटा खानाका स्टल राखिएका छन्। 

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.