|

  • शशिधर भण्डारी-

प्युठान : स्वर्गद्वारी प्युठान तेस्रो महोत्सव आइतबारदेखि प्युठानमा सुरु भएको छ। महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे। महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देश आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको युगमा प्रवेश गरेको बताए।

राजनीतिक संक्रमणकालको अन्त्य भई राजनीतिक स्थायित्वतर्फ मुलुक प्रवेश गरेकाले अबको बाटो आर्थिक समृद्धि हुने उपराष्ट्रपति पुनको भनाइ थियो। ‘विश्वमा लगानीमैत्री मुलुक नेपाल हो’, उपराष्ट्रपति पुनले भने, ‘प्राकृतिक स्रोत र साधनको प्रयोग, पर्यटन, कृषि र ऊर्जाबाट अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न लाग्नुपर्नेछ।’

लगानीमैत्री वातावरण र राजनीतिक स्थायित्वविना समृद्धि सम्भव नभएको भन्दै लगानीमैत्री मुलुक नेपाल र समृद्ध मुलुकका जनता हामी हुनुपर्ने उपराष्ट्रपति पुनले बताए। स्थानीय रूपमा सरकार बनिसकेको, प्रदेश र संघमा छिट्टै नयाँ सरकार बनी राजनीतिक स्थिरता पाउने र नेपाल विश्वकै पूर्ण लगानीमैत्री मुलुकको रूपमा प्रस्तुत हुन सक्ने विस्वास उनले व्यक्त गरे। 

राष्ट्रिय अर्थतन्त्रको ह्रासले स्वाभिमानमा आँच आउने भन्दै अब आर्थिक समृद्धिको विकल्प नभएको उनको धारणा थियो। नेपाल विश्वकै उत्कृष्ट लगानीका लागि ‘भर्जिनल्याण्ड’ भएको दाबीसमेत पुनले गरे।

‘आधुनिक कृषि, पर्यटन, ऊर्जा र व्यापार, उद्यमी जनशक्ति समृद्ध प्युठानको आधार’ भन्ने नारासहित प्युठान उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ प्युठानको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति प्युठानको संरक्षकत्वमा उक्त महोत्सव सञ्चालन गरिएको हो।

आइतबारदेखि सुरु भएको महोत्सव फागुन ८ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ। स्थानीय झाँकी, नेवारी संस्कृति लाखे नाच, पञ्चेबाजा, सरायँलगायतका मौलिक कला र संस्कृतिको प्रस्तुतिसँगै मेलाको उद्घाटन भएको हो। उद्घाटन सत्रमा प्युठानी जनताको तर्फबाट प्युठानको विकासका लागि ११ बुँदे मागपत्रसमेत उपराष्ट्रपति पुन समक्ष पेस गरिएको थियो। 

महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रविधि, पर्यटन, उद्योग र व्यापार प्रदर्शनी गराउने भन्दै व्यावसायिक र प्रवर्द्धनात्मक गरी २८० वटा स्टलहरू राखिएका छन्। १० दिन चल्ने महोत्सवबाट १ लाख भन्दा बढीले अवलोकन गर्ने र ७ करोड रुपैयाँ बराबरको कारोवार हुने लक्ष्य रहेको स्वर्गद्वारी प्यूठान तेस्रो महोत्सव मूल आयोजक समितिका संयोजक ज्ञानुराम न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.