|

सिन्धुपाल्चोक : काभ्रेको उत्तरी भेग र सिन्धुपाल्चोक जिल्लाका प्रायः स्थान जोडिने जिरोकिलो–हेलम्बु सडक जीर्ण भन्दै गएको छ। ५ वर्षअघि मेलम्ची खानेपानी आयोजनाले पिच गरेको उक्त सडक हाल पूर्ण रूपमा कच्ची जस्तै बनेको छ। 

सिन्धुपाल्चोक र काभ्रे देउपुरमा संचालित अधिकांश क्रसर उद्योगका ट्रिफरको आवातजावतले सडक भत्किएको हो। ढुंगा, गिट्टी र बालुवा बोकेका लोड ट्रिपर गुड्दा वर्ष दिनअघि कालोपत्रे गरिएको उक्त सडक काम नलाग्ने भएको हो। 

५५ करोड रुपैयाँ लगानी सडक विभागले कालोपत्रे गर्न र सडक सुधारमा खर्चेको थियो। यति चाँडै सडक भत्किएपछि राज्यको लगानी खेर गएको छ। सडकमा ठूल्ठूला खाल्डाखुल्डी बनेका छन्। बाटोमा बनेका ठूला खाल्डा र धूलोले यात्रामा कठिनाइसमेत भएको छ।

राज्यले वार्षिक सवारी सधान कर उठाउने गर्छ। बिग्रनेवित्तिकै  मर्मत हुँदैन। जिरोकिलो–हेलम्बु सडकको हालत पनि यस्तै छ।  यस क्षेत्रमा कहिलेकाहीँ क्रसर उद्योग र टिपर व्यवसायीहरूले बरु माटो र ग्राभेल हालेर खाल्डा पुर्ने गरेका छन्। तर दैनिक हजारौँको संख्यामा ट्रिपर, बस र भारी ट्रकहरू गुड्दा २ दिनमै यहाँको सडक बिग्रने गरेको महादेवस्थानका स्थानीयले बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाले हस्तान्तरण गरेपछि मात्र सडक डिभिजनअन्तर्गत निर्माण तथा मर्मत हुनेछ। सडक राजश्व उठाए पनि अहिले सडक विभागले सडकको मर्मत गर्न पाउँदैनन्। ईन्द्रावतीमा उत्खनन् भएका नदीजन्य बालुवा, ढुंगा र गिट्टी ढुवानी गरिरहेका ट्रिपर, ट्रकलाई रोकेर स्थानीयले पटक पटक विरोध गरिरहेका छन्। 

वर्सेनि करोडौँ रुपैयाँको ठेक्का आह्वान गरेर जिल्ला समन्वय समितिले आन्तरिक राजश्व संकलन गर्दै आएको भए पनि सडकप्रति कुनै ध्यान नदिएको स्थानीयको गुनासो छ। ट्रिपरले सडकको क्षमताभन्दा बढी सामग्री ढुवानी गरिरहेकाले जीर्ण भएको र हालसम्म सडक सुधारका लागि रकमसमेत नछुट्याएको उनीहरूको गुनासो छ।

जिरोकिलोदेखि मेलम्ची बजारसम्मको सडक मर्मतसम्भारका लागि उठेको रकम निर्माण कार्यमा लगाउनका लागि यस वर्ष जिल्ला परिषद् बैठक नबसेकाले स्थानीयको माग सम्बोधन हुन सकेको छैन। 

जिरोकिलोदेखि ढाँडखोलासम्मको सडक कालोपत्रे गर्न सडक विभागले जिम्मा लिइसकेकाले मर्मतसम्भार गर्ने अधिकार जिल्ला समन्वय समितिसँग नगएको भनाइ छ। 

मेलम्ची सडक खण्डमा ठाउँठाउँमा क्षतिग्रस्त भएकाले यात्रु सवारीभित्र घाइते हुने अवस्था छ। सिन्धुपाल्चोकको मेलम्चीदेखि काभ्रेको जिरोकिलोसम्म सडक खाल्डाखुल्डीले भरिएकाले धेरै दुर्घटना हुने गरेको स्थानीय गणेश भट्टराईले बताए। ‘जति राजश्व संकलन भए पनि सडकको अवस्था कहिल्यै फेरिएन’, फट्केश्वरका स्थानीय भट्टराईले भने, ‘सडकमा यात्रा गर्दागर्दै ठोक्किएर घाइते भइन्छ।’

नदीजन्य पदार्थको संकलनमा नयाँ ठेक्कामा सामेल नगरेपछि ट्रिपर व्यवसायी संघमा आवद्ध केही व्यक्तिको उक्साहटमा  ट्रिपर ढुवानी बन्द गरिएको बालुवा, गिट्टी संकलन गरिरहेकाहरूको आरोप छ। आयोजनाले बेवास्ता गर्दा सडक जीर्ण भएपछि जिरोकिलोदेखि मेलम्चीतर्फका जनता र यात्रुहरूको  दैनिकी नै कष्टकर बन्दै गएको छ। 

धूलोका कारण त्यहाँका स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ। धुवाँ र धूलोले गर्दा वातावरणमा प्रतिकूल असर पर्नुका साथै बोटविरुवा तथा बालीनालीलाई समेत असर परेको छ। धूलोका कारण कृषि उत्पादनमा समेत कमी आएको छ। 

ट्रिपरका कारण समय र लागत दुवै बढ्दा घाटा भएको र नोक्सानि भराउन माग गर्दै ठेकेदार कम्पनी मारुसिन सिताकाले इन्टरनेशनल चेम्बर अफ कमर्सलाई गुहारेको थियो। ट्रिपरले निर्माण चरणमै कालोपत्रे भत्काएपछि सँगसँगै मर्मतसमेत गर्नुपर्दा नोक्सानि व्यहोर्नुपरेको ठेकेदारको तर्क थियो। 

उता, सडकको दुर्दशा हुदाँहुँदै मेलम्ची नगरपालिका नगरस्तरीय बैठकले ईन्द्रावती नदीमा संचालित क्रसर उद्योगलाई एउटा मात्र स्काभेटर चलाउन दिने निर्णय गरेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल बताउँछन्। ‘विभिन्न मापदण्डलाई आधार लिएर हामीले क्रसरलाई स्काभेटर चलाउन दिने निर्णय गरेका हौँ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.