|

  • पेमा लमा-

काभ्रेपलाञ्चोक : काभ्रेलाञ्चोक जिल्लामा गुड्ने ट्रिपरहरूले अब टाइम कार्ड प्रयोग गर्नुपर्ने भएको छ।

ट्रिपरकै कारण पछिल्लो समय सडक दुर्घटना बढेको भन्दै बनेपा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार काभ्रेपलाञ्चोकको बनेपामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी छलफल तथा अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरी उक्त नियम लागू गर्न लागेको जनाएको हो।

कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले धेरैजसो सवारी दुर्घटना सवारी चालकहरूको लापरवाहीक कारण भएको बताए। ‘चालकहरू संवेदनशील नबनिदिँदा धेरैजसो सवारी दुर्घटना भएका छन्’, उनले भने, ‘त्यसका लागि ट्रिपर धनीहरूले पनि आफ्नो गाडी कहाँ कसरी गुडिरहेको छ हेर्नुहोला।’ सिंखडाले लगानी गरेपछि गाडी र चालकको विषयमा राम्रो ख्याल गर्ने जिम्मा गाडी मालिकको पनि भएको उल्लेख गर्दै चालकसँग पनि राम्रो व्यवहार गर्न सुझाव दिए।

उनले सडक दुर्घटनाका कारण यात्रुहरू सचेत भएर नहिँड्नु र जथाभावी गाडी रोकेर चढाउनेलगायत पनि भएको बताए। त्यसका लागि निश्चित ठाउँमा मात्रै गाडी रोक्ने र यात्रु चढाउने/ओह्राल्ने, जेब्रा क्रस बनाउनुका साथै बजारभित्रका सवारी साधनहरूको व्यवस्थित पार्किङका लागि नगरपालिका र प्रहरी प्रशासन मिलेर लाग्नुपर्ने बताए।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेले बनेपा नगरपालिकाको सिमाना साँगादेखि २८ किलोसम्म बटुवाका लागि फुटपाथ निर्माण गर्न लागिएको बताए। दुर्घटना कम गर्न बनेपामा रहेको अव्यवस्थित शहरलाई सुन्दर र व्यवस्थित बनाउने काम सुरु गरिसकिएको उल्लेख गर्दै उनले त्यसका लागि सबैको सहयोगको खाँचो औँल्याए।

कार्यक्रममा संघीय प्रहरी इकाई बागमतीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले टाइम कार्डलाई व्यवहारमै प्रयोग गर्न व्यवसायी र मजदुर दुवै पक्षले सहयोग गर्नुपर्ने बताए। ‘नियमलाई उचित ढंगले लागू गरौँ, यदि त्यसमा कसैले उलंघन गर्छ भने कारवाहीका लागि प्रहरी सधैँ तयार छ’, सिंहले भने।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरजकृष्ण वैद्यले प्रशासनले लागू गरेको टाइम कार्ड र हर्न निषेध सफल बनाउन व्यवसायीहरू सहयोगी बन्ने आशा व्यक्त गरे। उनले धेरैजसोले सहचालक नराखेकै कारण पनि दायाबाया नदेख्दा दुर्घटना बढी हुन गएको उल्लेख गरे।

जिल्लामा पछिल्लो ४ महिनामा १८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए। दुर्घटना भएकामध्ये ८ वटा ट्रिपरको ठक्करबाट भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा ४२ प्रतिशत ट्रिपरको संलग्नता देखिएपछि टाइम कार्ड सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक शेखरजंग मल्लले बताए।

कार्यक्रममा बनेपा नगरपालिका, ट्रिपर व्यवसायी, प्रहरी प्रशासन, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा सरोकारवाला निकायहरूका बीचमा छलफल भएको थियो। 

अरनिको राजमार्गको सिमानाका साँगादेखि दोलालघाटसम्म र वीपी राजमार्गको दोलालघाटदेखि नेपालथोकसम्म टाइम कार्ड लागू हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका राजेश दाहालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.