|

लहान : सिरहाको मिर्चैया नगरपालिका–५ स्थित ब्रह्मचारी दामोदरानन्द कलेजका विद्यार्थीहरुले प्रशासनले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आगजनी गरेका छन्।

कलेजको कार्यालयमा तालाबन्दी गरी पाँच दिनअघि माघ २४ गतेदेखि आन्दोलन गरिरहेका विद्यार्थीहरूले आइतबार अपराह्न कक्षा कोठाबाट डेस्क–बेञ्च लगायत फर्निचर बाहिर निकालेर आगजनी गरेका हुन्। कलेजको शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधार र नियमित पठनपाठनको मागसहित तालाबन्दी गरे पनि कलेज प्रशासनले चासो नदिएको भन्दै आगजनी गरेको विद्यार्थीहरुले बताए। 

आगजनी गरेको सूचना पाए लगत्तै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो। आगजनीमा संलग्न १० भन्दा बढी विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको बज्राचार्यले बताए।

'वडाध्यक्षको अगुवाइमा आन्दोलन'
मिर्चैया नगरपालिकाको २ नं. वडाध्यक्ष रहेका लक्ष्मेश्वर कापरको कारणले क्याम्पसमा आगजनी लगायत अराजक गतिविधि भइरहेको कलेज प्रशासनले जनाएको छ। व्यवस्थापन संकायको स्नातक तेस्रो वर्षमा अध्ययनरत कापरसहित आधा दर्जन विद्यार्थीलाई केही स्थानीय नेताहरुले उचालेर कलेजमा आगजनी गरिएको क्याम्पसप्रमुख सञ्जय साहले आरोप लगाए।

‘२०६४ सालमा कलेज स्थापना गरी सञ्चालन भएयता कहिल्यै पठनपाठन, आर्थिक र व्यवस्थापकीय सुधारको कुरा उठेको थिएन’, क्याम्पसप्रमुख साहले भने ‘त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएको कलेजले कसरी विद्यार्थीले भने अनुसार सञ्चालक समिति बनाउन सक्छ?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.