|

  • ब्रह्माकुमारी राजदिदी-

आज हामी २१औँ शताब्दीको शिशुकाल तथा विज्ञानको युगमा अनेकौँ भौतिक सुख, सुविधाको आनन्द लिइरहेका छौँ। तर जुन आन्तरिक सुखहरूको अन्तरआत्मा अनुभव गर्न चाहन्छ, त्यसलाई भने प्राप्त गर्न सक्षम हुन सकेका छैनौँ। 

आज मानव जीवनमा व्यक्तिगत खुसी, आनन्द, उमंग, सफलता एवम् व्यावसायिक उन्नति आदिसँग सम्बन्धित धेरै कम अवसर बाँकी छ। साथै सार्वजनिक, सामाजिक वा संगठित रूपमा खुसीको अदान–प्रदान, स्नेह, सद्भावलाई सुदृढ गरेर अलौकिक आनन्दबाट अनुभूत हुने अवसर त नगण्य हुँदै गइरहेका छन्। यसै कारण मानव एकांगी बन्दै, व्यावसायिक दायराभित्र खुम्चिएर तनाव, चिन्ता तथा नकारात्मक विचारहरूसँग संघर्ष गर्दै जीवनको बोझबाट लादिएको यात्रा तय गर्न बाध्य छ। 

उत्सव वास्तवमा मानवको जीवनमा एउटा नयाँ स्फूर्ति, जिज्ञासा, ताजापन, उमंग, उत्साह तथा अतिन्द्रिय सुखका छिटाहरू छर्नका लागि आरम्भ भएका थिए। त्यति बेला मानवमा श्रद्धा, प्रेम, सद्भाव पनि थियो। अब विस्तारै विस्तारै श्रद्धा र प्रेम खत्तम भएर केवल परम्परा बाँकी छ। अब तिनीहरूको लोकप्रियता, मौलिकता, सरोकारिता तथा उमंग–उत्साह समाप्तप्रायः हुँदै गइरहेको छ। यसको मूल कारण हो, ती उत्सवहरूको वास्तविक अध्यात्मिक रहस्य र प्राप्तिबारे अनभिज्ञ हुनु। शिवरात्रिको महान् पर्वको सन्दर्भमा पनि यस्तै भएको छ। 

पहाडको उच्च चुचुरादेखि सागरसम्म कुनै पनि यस्तो ठाउँ छैन, जहाँ परमात्मा शिवको प्रतिमा वा मूर्तिको स्थापना नगरिएको होस्। सायदै कुनै यस्तो धर्मग्रन्थ छ, जसमा परमात्मा शिवको महिमा नगरिएको होस् । तर पनि परमात्मा शिवको सही परिचय, अवतरणको बेला तथा उहाँको कर्तव्यका बारेमा मानिस अनभिज्ञ नै  छ। यदि मानिस यस सत्यलाई जान्दछ कि परमात्मा शिव को हुनुहुन्छ, कहिले र कसरी प्रकट हुनुहुन्छ, के गर्नुहुन्छ, तब सबै मानिसहरू परमात्मा शिवमा आफ्ना सबैै कुरा समर्पण नगरी रहन सक्दैनन्। 

शिवरात्रि पर्वबाट पूरै विश्वलाई एकताको सूत्रमा आवद्ध गर्न सकिन्छ। शिवरात्रि त्यस समयको यादगार हो, जब संसारमा चारैतिर अज्ञान, अन्धकार छाइरहेको थियो, भाइभाइ खुनका प्यासी थिए, स्त्रीहरूको लाज सुरक्षित थिएन, त्यस बखत मानवता तड्पिरहेको थियो। कतै पनि सुरक्षा थिएन। त्यस समयमा नै ब्रह्मलोकबाट एक ज्योतिको अवतरण भएको थियो र उहाँको प्रकाशले सम्पूर्ण जगत झलमल्ल भएको थियो। 

त्यस ज्योतिको नाम नै परमात्मा शिव हो। शिवको अर्थ हो, कल्याणकारी। अरू सबै मानिसहरूका नाम शरीरमाथि आधारित हुनाको कारण विनाशी हुन्छन्। शरीर परिवर्तनसँगै नाम पनि परिवर्तन हुन्छन् तर परमात्मा अशरीर हुनुहुन्छ र जन्म मरणको चक्रमा आउनुहुन्न। त्यसैले उहाँको मूर्तिलाई ज्योतिर्लिंग मठ भन्ने गरिन्छ। नेपालको प्रसिद्ध पशुपतिनाथको मन्दिर पनि परमात्मा शिवको मुख्य मठ हो भन्न सकिन्छ। 

पूर्वीय इतिहास, धार्मिक ग्रन्थ तथा सारा नेपाल र भारतमा धेरै ठाउँमा शिवका मूर्तिहरू पाइन्छ। नेपालमा पशुपतिनाथ, भारतमा अमरनाथ, केदारनाथ, विश्वनाथ, संगमेश्वर, भीमामेश्वर, सोमनाथ, रामेश्वर आदि शिवकै सम्झना स्वरूप बनाइएका प्रतिमाका मन्दिर हुन्। यस प्रकारले ठाउँठाउँमा शिवको मान्यताको रूपले ज्योतिविन्दुको याद गराउँछ। यी मन्दिरहरूले मानवहरूका बीच भावनात्मक एकता ल्याउँछन् तथा यो संसार शिव परमात्माको नै सुन्दर रचना हो भन्ने चेतना जागृत गराउँछन्। 

सिरिया, युनान, स्पेन, जर्मनी, अमेरिका, मेक्सिको, सुमात्रा एवम् जावा द्विप आदि विभिन्न स्थान र देशहरूमा पनि शिवको सम्झना गर्ने गरिएको पाइन्छ। यति मात्रै नभएर स्कटल्यण्डको प्रसिद्ध नगर ग्लासगो, तुर्किस्तान, ताशकंद, वेस्टइण्डिज, ग्याना, लंका, स्यामा, मौरिसस आदि ठाउँमा पनि शिवलिंगको पूजा हुन्छ। 

हिन्दु धर्मका मानिसहरूले मात्र परमात्मा शिवलाई सम्मान गर्ने नभएर अन्य धर्ममा विश्वास राख्नेहरूले पनि शिव परमात्मालाई निकै श्रद्धाले मान्छन्। उदाहरणका लागि, रोममा इसाई धर्ममा क्याथोलिकहरू गोलाकार भएको ढुंगालाई अहिले पनि पूजा गर्छन्। अरबमा मक्काको तीर्थस्थलमा मुस्लिम यात्री पनि यस्तै प्रकारको ढुंगा, जसलाई संग–ए–असवद वा मक्केश्वर भन्छन्, लाई चुम्बन गर्छन्। जापानमा बसोवास गर्ने बुद्ध धर्मका अनुयायीहरू जब साधना गर्न बस्छन्, अगाडिपट्टि शिवलिंग जस्तै ढुंगा ३ फिट उचाइको बनाएर त्यसमा ध्यानल गाउने गर्छन्। 

यसका अतिरिक्त मिश्रमा ओसिरिस, बेबोलानमा सिअन नामबाट शिवको पूजा हुने गर्छ। त्यैसगरी सिरिया, युनान, स्पेन, जर्मनी, अमेरिका, मेक्सिको, सुमात्रा एवम् जावा द्विप आदि विभिन्न स्थान र देशहरूमा पनि शिवको सम्झना गर्ने गरिएको पाइन्छ। यति मात्रै नभएर स्कटल्यण्डको प्रसिद्ध नगर ग्लासगो, तुर्किस्तान, ताशकंद, वेस्टइण्डिज, ग्याना, लंका, स्यामा, मौरिसस आदि ठाउँमा पनि शिवलिंगको पूजा हुन्छ। 

त्यसैगरी शिख धर्मपिता गुरुनानक देवले उहाँलाई एकाेंकार नामले पुर्कानुभएको छ। यसबाट स्पष्ट हुन्छ कि परमपिता शिव परमात्मा कुनै एक धर्मविशेषको मात्रै पुजनीय नभएर विश्वभरिका सबै मानव आत्माका परमपूज्य पिता हुनुहुन्छ। 

परमात्मा शिव अजन्मा, अभोक्ता र ब्रह्मालोक निवासी हुनुहुन्छ। त्यसैले भनिन्छ कि उहाँ मानव वा अन्य प्राणी जस्तै जन्म लिनुहुन्न, जसबाट कर्मको बन्धनमा परियोस्। बरु धर्मग्लानिको समयमा, जबकि सबै मानव आत्माहरू पाँच विकारहरूको वशका कारण दुःखी, अशान्त, पतीत तथा भ्रष्टाचारी बन्न पुग्छन्, तिनीहरूलाई पुनः पवित्र बनाउनका लागि यस साकार सृष्टिमा एक साधारण वृद्ध शरीरमा प्रवेश अथवा अवतरित हुनुहुन्छ, जसलाई नै उहाँको दिव्य अलौकिक जन्म भनिन्छ। 

परमात्मा शिवको यही दिव्य अवतरणको दिव्य स्मृतिलाई नै शिवरात्रि अथवा शिवजयन्ती पर्वको रूपमा मनाउने गरिन्छ। त्यो केवल १०–१२ घण्टाको रात्रि होइन, बरु अज्ञानता, पापाचार र अनेक प्रकारका खराबीको प्रतीक हो। शिवरात्रि फागुन महिनाको सूचक हो र चौधौँ रात घोर अन्धकारको निशानी हो। शिवरात्रिको दिन भक्तहरू शिवलिंगमा धतुरो, बेल, बेलपत्र आदि चढाउँछन् तथा रात्रि जागरण तथा ब्रत बस्छन्। 

धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरण वा व्यसनको प्रतीक हुन, जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनुपर्छ। साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने ब्रत लिनुपर्छ। शिवरात्रि सबै धर्मको महान् पर्व हो तथा शिव मन्दिर सबै धर्मका पिता परमात्मा सम्झने तीर्थस्थल हो। शिव स्मृति नै वास्तवमा सुमंत्र अथवा तारक मंत्र हो, जसबाट नै प्राप्ति र सिद्धि हासिल गर्न सकिन्छ।

आज पुनः त्यही बेला र दशा छ, त्यही रात्रि छ, जहाँ मानव समाज पतनको चरम सीमामा पुगेको छ। यस्तोमा धेरै ठूलो घटना तथा सन्देश सुनाउन पाउँदा हर्षको अनुभव भइरहेको छ कि अहिले कली युगको अन्त्य र सत्य युुगको आरम्भको संगम युगमा स्वयम्भू परमात्मा शिव मनुष्य आत्माहरूका निभेको आत्माको ज्योति जगाउनका लागि प्रजापिता ब्रह्माको मानवीय कायामा अवतरित भइसक्नुभएको छ। साथै ईश्वरीय ज्ञान र राजयोगको शिक्षा दिएर विकार र खराबीहरूबाट मुक्त गरी दैवी राज्यको स्थापना गरिरहनुभएको छ। 

यसैले प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा सम्पूर्ण विश्वका १४० राष्ट्रमा आफ्ना ९ हजारभन्दा बढी सेवा केन्द्रहरूद्वारा महाशिवरात्रि पर्वलाई निकै धुमधामसँग विविध कार्यक्रम गरी मनाउँदै छ। त्यसैले सबैलाई ईश्वरीय जन्मसिद्ध अधिकार प्राप्त गर्न हार्दिक आमन्त्रण छ। 

हामी सबै परमपिता परमात्माको यस दिव्य जन्मका अवसरमा विकारहरू, कुुलत र दुव्र्यसनहरू तथा आपसी मतभेदलाई त्याग गरी विश्व शान्ति, सद्भाव, नैतिक र अध्यात्मिक मूल्यबाट चरित्रको उत्थान गर्ने प्रतिज्ञाको रूपमा मनाऔँ, जसबाट मानवता, सुख, शान्ति, समृद्धि प्राप्त हुन सकोस्। सबैमा महाशिवरात्रि पर्वको मंगलमय शुभकामना तथा बधाई!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.