|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले आइतबार साँझ महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई पठाएको छ। शुक्रबारदेखि १० दिनका लागि बिदामा बसेका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकलाई हटाएर पोखरेललाई ल्याएको हो। पोखरेल यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। सोमबार पदभार सम्हालेसँगै काठमाडौंको सुरक्षा योजना र भावी रणनीतिका बारेमा थाहाखबरका कृष्णसिंह लोथ्यालले गरेको संक्षिप्त कुराकानी।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएर काम गर्ने सबै उच्च पहरी अधिकृतको चाहना हुन्छ, तपाईंको चाहना कि संयोग?

अरूको केके चाहना हुन्छ, त्यो मलाई थाहा हुने कुरा भएन। मेरो बारेमा कुरा गर्नुहुन्छ भने प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालय समेत सबैले काठमाडौंको शान्ति सुरक्षा कायम गर्नमा मबाट केही आशा गर्नुभयो होला, त्यसैले मलाई यहाँको जिम्मेवारी दिइयो। म कानुनसम्मत ढंगले अगाडि बढ्छु।

शान्ति सुरक्षाको कुरा गर्नुभयो, के छ अब तपाईंको नयाँ योजना, जसले काठमाडौंमा अपराधका घटनामा कमी आअोस्?

यसभन्दा पहिला म काठमाडौं प्रहरी परिसरमै प्रहरी उपरीक्षकको भूमिकामा दुई जना परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकसँग एक वर्ष काम गरेको छु। यहाँको बारेमा कहाँ के छ, सबै ज्ञान छ। यहाँ आउनुभन्दा पहिला महानगरीय प्रहरी कार्यालयमै कार्यरत भएका कारण पनि उपत्यकाको शान्ति सुरक्षाको बारेमा सबै अपडेट छ मलाई। यसै कारण सजिलो छ।

अब कार्यान्वयनमा मात्र ध्यान दिने हो। कसरी काम गर्ने भन्नुभन्दा पनि कसरी कमाण्ड गर्ने भन्ने कुरा हो। अब २/४ दिनमै म अपराध नियन्त्रणको योजना बनाएरै अगाडि बढ्छु। तस्करी नियन्त्रण मेरो पहिलो प्राथमिकतामा छ।

भदौ महिनामा मात्र जिम्मेवारी पाएका रवीन्द्र धानुकलाई हटाएर तपाईंलाई पठाइयो, यसमा कसैको 'इन्ट्रेस्ट'ले काम गरेको हो?

खै, त्यस्तो कुनै राजनीति र कसैको इन्ट्रेस्टले मलाई यहाँको जिम्मेवारी दिएको जस्तो लाग्दैन। जुन सुरक्षा नियन्त्रणको सवाल हो, त्योअनुरूप उहाँले काम गर्न महसुस भएन वा देखिएन, त्यसै कारण होला। राजनीतिको कारण र कसैको इन्ट्रेस्ट भन्नुभन्दा पनि सुरक्षाकै कारण उहाँको सरुवा भएको हो।

धानुकलाई पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई कीर्ते कागजातसम्बन्धी मुद्दामा असहयोग गरेको भन्ने छ, अब यसबारे तपाईंको भूमिका के हुन्छ?

तपाईंले नवराज सिलवालको कुरा गर्नुभयो, यो अनुसन्धानकै विषय हो। यसमा धानुकजीले असहयोग गरेको भन्ने लाग्दैन। केही अनुसन्धान भइसकेको छ। बाँकी अनुसन्धानबाट के देखिन्छ, त्यो कानुनी प्रक्रियाबाटै म अगाडि बढ्ने हो। कुनै योजना नै बनाउनुपर्ने कारण छ जस्तो लाग्दैन र त्यो ठूलो विषय नै होइन । तथ्यले बोल्ने र तथ्यमा बसेर काम गर्ने हो। कसैले पनि कुनै नियत राखेर काम गर्दा कोही सफल भइँदैन।

प्रहरीको फरार सूचीमा सिलवालसहित अन्य २ जना सांसद पनि छन्, कहिले पक्राउ पर्लान्?

हेर्नुस्, यो कानुनी राज्य हो। कानुनले अपराधी देखाएको खण्डमा त्यसको भागिदार जसले पनि हुनै पर्छ। ढिलो चाँडोको कुरा हो, अपराध गर्ने जोसुकै पनि पक्राउ पर्छन्।

अन्त्यमा, काठमाडौं प्रमुखलाई काम गर्ने क्रममा धेरै ठाउँबाट दबाब आउँछ भन्छन्, तपाईंलाई सहयोग होला त?

हामीले निष्पक्ष काम गर्ने हो। सबैको साझा बन्ने हो। त्यो हुन सक्यो भने किन कसैले असहयोग गर्लान र ! म कसैको खुट्टा समातेर आएको होइन, म व्यवसायिक तरिकाले अघि बढ्छु।आफ्नो धर्म निर्वाह गर्छु ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.