साहित्य

हिउँले पुरेका सपनाको प्रस्तुति, 'कालापत्थरमाथि'
SHARES

माघ २९, २०७४

    काठमाडौं : शेर्पाहरू आफूलाई हिमालका सन्तति मान्छन्। हिमाल चढ्नु नै उनीहरूको मुख्य कर्म हो। उनीहरूको देउता पनि हिमाल हो। तिनै शेर्पाहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर वर्षौंदेखि नाम राख्दै आएका छन्।

    तर हिमाल आरोहण शब्द सुन्दा जति सुन्दर र गौरवले भरिएको छ, त्यति नै दु:ख, पीडाहरू पनि छन् हिमाल चढ्दा। हिमाल चढ्न जानेहरू एक्लै हिमाल चढ्न जाँदैनन्। उनीहरूलाई हिमाल चढाउने पर्दा पछाडिका हिरोहरू शेर्पाहरू हुन्। सगरमाथा आरोहण गर्न गएकाहरूको भरिया बनेर जीविकोपार्जन गर्नु उनीहरूको पेसा हो। हिमाली क्षेत्रमा यही पेसा गरेर उनीहरूको जीवनस्तर माथि उठेको पनि छ।

    तर यही हिमालको हिउँले कति शेर्पाको सपना पुरिदिएको होला? विदेशबाट हिमाल चढ्न आएका विदेशीको भरिया बनेर हिमाल चढ्न गएका कति शेर्पा युवाहरू हिउँमै विलीन हुनपुगे, जसले उनीहरूमा आश्रित परिवारलाई उपहार आँसु दियो?

    यस्तै हिमाल चढेर पैसा कमाउने सपनामा सगरमाथाको हिउँमा पुरिएको कथा बोकेको नाटक अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। 'कालापत्थरमाथि' नाटकले सगरमाथाको आरोहण गरेर जीविकोपार्जन गर्दै आएका शेर्पा समुदायको पीडाको कथा प्रस्तुत गरेको छ।

    नाटकले सगरमाथाको फेदका शेर्पाको जनजीवनको दुःखका कथा भनेको छ। विशेषगरी जीवनस्तर उकास्ने आशमा भरिया बनेर सगरमाथा चढ्दा ज्यान गुमाएका सयौँ शेर्पाहरूको प्रतिनिधित्व गरेको छ यस नाटकले। सगरमाथा आरोहणकै क्रममा श्रीमान, दुई छोरा गुमाइसकेकी डोल्मा (निशा पाख्रिन)ले जीवित रहेका एक मात्र छोरा दावा (सन्तोष तामाङ)लाई निकै आग्रह गर्छिन्। तर थोरै पैसा कमाएर घरको आर्थिक अवस्था सुधार गरी बिहेबारी गर्ने सोच बनाएका दावा रोकिँदैनन्।

    अनेक दुःखकष्ट गर्दै साथीहरुसँग सगरमाथा आरोहरण गर्न गएका दावालाई बीच बाटोमा नै गाह्रो भइसकेको हुन्छ। घरपरिवारको आर्थिक अवस्था सुधार गर्नका निम्ति हिउँको सहारामा पुगेका दावा कालापत्थरभन्दा अगाडि बढ्न सक्दैनन्। हिमाल चढिरहेकै अवस्थामा एक्कासि हिउँपहिरो आउँदा दावा त्यही हिउँमा पुरिन्छन्।साथीहरूसँग सगरमाथा आरोहणमा गएका दावा पनि अन्ततः हिउँमै पुरिएर विलीन हुन्छन्।

    हिमाल चढ्ने समूहको नेतृत्व गरेर गएका दोर्जे गाउँ फर्किंदा दावा पनि साथमा नदेखेपछि दावाकी आमा डोल्मा आत्तिन्छिन्। दावा हिमाल चढ्न जाँदा आफ्नी प्रेमिका पेम्बासँग हिमाल चढेर कमाएको पैसाले विवाह गर्ने बाचा गरेर गएका हुन्छन्। तर फर्केर आएपछि विवाह गर्ने बाचा गरेका दावा नफर्किएपछि पेम्बा र आमा डोल्मा विचलित हुन्छन्।

    श्रीमान, दुई छोरा र अन्तिममा कान्छो छोरा दावालाई पनि हिउँले निलिदिएपछि डोल्मा एक्लै बन्छिन्। एक्लिएकी डोल्माले आफ्नो छोरा दावा भेट्न घरमा आएको, खानेकुरा मागेर आएको, जंगलमा काटेर राखेको दाउरा बोकेर घरमा ल्याइदिएको भनेर गाउँलेहरूसँग भन्छिन्। डोल्माले छोरा साँच्चिकै आउने कुरा गर्ने गरेको भनेर भनेपछि गाउँहरूले लामा गुरु बोलाएर हेराउँदा लामाले दावाको मृत्यु भए पनि मृत्यु संस्कार नगरेका कारण आत्माले शान्ति नपाएको बताउँछन्।

    त्यसपछि दावाको शव खोज्न लामा गुरुसहित हिमालमा दावाको शव खोज्न जान्छन्। गाउँलेहरूको पछि लागेर पेम्बा पनि आफ्नो प्रेमीको शव हेर्न गएकी हुन्छिन्। तर उनी समूहको नजिक नपुगेर टाढैबाटै दावाको शवलाई हेरिरहेकी हुन्छिन्। बुद्ध धर्मको धार्मिक संस्कारअनुसार दावाको अन्तिम संस्कार गरिसकेपछि नाटक सकिन्छ।

    प्रदीप चौधरीको लेखन तथा निर्देशन रहेको नाटक 'कालापत्थरमाथि' हिमाल आरोहणमा योगदान दिने शेर्पा समुदायको योगदानलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। शेर्पाकै वेशभूषा र लवजमा प्रस्तुत गरिएको नाटक हेरिरहँदा धेरैका आँखा रसाउँछन्।

    नाटकको मञ्चलाई वारात लिम्बू र जोनेन केसीले हिमाल र शेर्पा वस्तीकै स्वरूप दिएका छन्। नाटकमा सन्तोष तामाङ, निशा पाख्रिन, प्रश्ना डंगोल, पत्रिका घिमिरे, वारात गुरुङ, विकास घिसिङ, सञ्जीव राई, पुष्कर कार्की, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ र बालकृष्ण खत्रीले अभिनय गरेका छन्। माघ २६ गतेदेखि सुरु भएको नाटक 'कालापत्थरमाथि' फागुन २० गतेसम्म मञ्चन हुनेछ।

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

Follow @devikamagar

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]