साहित्य

भ्यालेन्टाइन डेको रातो गुलाफ
SHARES

माघ २९, २०७४

    मेरो उमेर वसन्तको फूलझैँ फक्रिइसकेको भए तापनि मनले भने वसन्तझैँ मात्तिन खोजेको थिएन। किशोरावस्थामा राम्री हुन सबैलाई मन लाग्छ क्यारे! मलाई भने ठूला आँखामा गाजलको कोस तान्नुशिवाय अरू शृंगारका सामानले  आकर्षित गर्न सकेका थिएनन्। 

    यौवनावस्थामा पुगिसक्दा पनि मलाई विपरीत लिंगीप्रति कुनै आकर्षण थिएन। विदेशमा भए मेरो स्वभावले मेरा अभिभावकहरू चिन्तित भइसक्थे। डाक्टरकहाँ पुर्‍याइसक्थे होलान्। तर यहाँ म सिधासोझी, जोकोही केटाको मुखै नहेर्ने केटीका रूपमा चिनिएकी थिएँ। 

    दिनहरू आफ्नै पारामा कटिरहेका थिए। केही वर्षयता वर्सेनि ‘भ्यालेन्टाइन डे’को लहर आउन थालेको थियो। मेरा सबै साथीहरू महिना दिन अगाडिदेखि आफ्ना प्रेमीसित यो पर्व कसरी मनाउने भन्ने प्रोग्राम बनाउनमा व्यस्त थिए। उनीहरू भ्यालेन्टाइन डेलाई कसरी प्रेमिल बनाउन सकिन्छ भनेर लागेको समय म किताबका पानाहरूमा हराउँथेँ। 

    पढाइमा व्यस्त हुनुबाहेक मेरो काम नै थिएन। यौवनले मस्त मेरा साथीहरूका लागि भ्यालेन्टाइन एउटा सुन्दर अवसर थियो। हरिलो, भरिलो र रसिलो मौसम थियो। तर, मचाहिँ पूरै बेखबर। 

    भ्यालेन्टाइन डे आउनै लागेको थियो। साथीहरू यो दिन मनाउने तीव्र योजनामा थिए। उनीहरूले समयको पलपल गनिरहेका थिए। उनीहरूका योजना भत्किँदै बन्दै गरेको पनि थाहा थियो। जे होस्, उनीहरू सफलताको नजिक थिए। पछिल्लो साता व्यस्त मात्रै होइन, मस्त पनि हुन थालिसकेका थिए। 

    मेरी अभिन्न साथी मीना र उनको प्रेमीले उनीहरूको भ्यालेन्टाइनको प्रोग्राममा मलाई पनि सरिक गराउने योजना बनाएछन्। निम्तो आयो। मीनाको निम्तोले मेरो मनमा पनि थोरै जिज्ञासा दिलायो। कस्तो हुँदोरहेछ भ्यालेन्टाइन डे, आफैँले नजिकबाट हेर्न मन लाग्यो। मनमनै निर्णय गरेँ, भ्यालेन्टाइन डेको कार्यक्रममा जसरी पनि जान्छु। 

    मेरा साथीहरूले भ्यालेन्टाइन डेकै लागि भनेर शनिबारको रातै बिताउने गरी पिकनिकको योजना बनाएका रहेछन्। गन्तव्यचाहिँ पूर्वको भेडेटार। 

    मेरा लागि बुनिएको साथीहरूको योजनामा म अनभिज्ञ थिएँ। हाम्रो समूहमा केटाहरू पनि जाँदै छन् भन्ने कुरा मलाई लुकाइएको रहेछ। केटी साथीहरूसँग मात्र पिकनिक जाने भन्दा घरबाट मलाई जान रोकतोक पनि भएन। 

    हामी हिँड्दा केटीहरू मात्र बसमा चढेका थियौँ। भेडेटार पुगेपछि मात्र केटाहरू हाम्रा अगाडि देखापरेका थिए। त्यहाँ पुगेपछि मात्र मलाई थाहा भयो, मीना, अञ्जु सबै आआफ्ना प्रेमीसित पो भेडेटार आएका रहेछन्! दिनभर यताउता घुम्दै बित्यो। तर मलाईचाहिँ सोचेजस्तो रमाइलो भएन। त्यस दिन त्यत्तिकै बित्यो। साथीहरू सबै आआफ्नै जोडीसित मस्त थिए, म भने एक्लै उनीहरूको प्रेमिल कला हेरेर बसिरहेँ। 

    साँझ पर्‍यो। बस्ने बासको खोजी गरियो। एउटा ठूलो हलमा बासको व्यवस्था भएछ। कोठामा पुगेपछि सबै स्टार बियरको बोतल र सितनसहित मस्ती लिन थाले। मैले बियर पिउन नमानेकाले कोक मगाइयो। कोकको स्वाद अलि फरक जस्तो लाग्यो। साथीहरूले उल्याउलान् कि भन्ने संकोचले केही नभनी कोक पिएँ।

    नाचगान सुरु भयो। म पनि साथीहरूसित रमाउँदै नाच्न थालेँ। नाच्दानाच्दै केटाहरूसित मेरो शरीर टाँसिन पुग्थ्यो। कहिल्यै केटालाई नछोएको मेरो शरीरले पहिलो पल्ट केटा साथीहरूसित लठारिँदै नाच्दा करेन्ट लागेजस्तो हुन्थ्यो। नढाँटी भन्दा मलाई एक प्रकारले आनन्द लागिरहेको थियो। कोक समाएको मेरो हातले कुन बेला बियरको बोतल समाएछ, थाहै पाइनँ। 

    पहिलो पल्ट नशामा लठ्ठिएर जानी नजानी धेरै रातीसम्म नाचिरहेकी थिएँ। बिहान म उठ्दा साथीहरू सुतिरहेका थिए। कोही पनि उठेका थिएनन्। कोठा हेर्न लायक थियो। त्यो दृश्यले मुटु हल्लियो। साथीहरू सबै आआफ्नो प्रेमी च्यापेर निदाइरहेका थिए। त्यहाँको दृश्यमा मैले आफूलाई उभ्याउन सकिनँ र ढोका खोलेर बाहिरिएँ।
    मलाई बेलुकाको नाचगानको सम्झना भयो र बिहानको दृश्य। उफ्! तर, मलाई कुनै कुरा पनि नराम्रो लागेन। कारण थियो, पहिलो पल्ट मेरो मनले पनि प्रेमीको चाहना राख्यो। बाहिर कौसीमा घुम्दै सम्झिएँ, मेरो पनि प्रेमी भएको भए म पनि कत्ति रमाउने थिएँ होला यो दिनमा! 

    भ्यालेन्टाइन डे त संघारमा आइसकेको थियो। म पनि रातो गुलाफ  कसैलाई दिऊँ भनेर आतुर थिएँ। तर यत्ति छोटो समयमा कसलाई भेट्टाउनु र ह्याप्पी भ्यालेन्टाइन भन्नु? यही सोचमा रुमलिँदै मनमनै मेरो भावी प्रेमीको अनुहार खोज्दै थिएँ। कोठाबाट अञ्जुले बोलाई। भित्र पस्दा सबै सामान्य भइसकेका रहेछन्। अनुहारमा एक किसिमको चमक बोकेर सबै एकअर्कालाई हेर्दै मुसुमुसु हाँसिरहेका थिए। उनीहरूको मुस्कानले मलाई गिज्याइरहेको अनुभूति भयो। मीनाले त मुखै फोरी–‘तेरो व्वाइफ्रेन्ड भएको भए आज तँ पनि मस्ती गर्ने थिइस् नि! फ्रेस हुने थिइस्।’

    ‘खोजिदे न त एउटा ब्वाइफ्रेन्ड!’ म पनि जिस्किएँ। त्यसपछि उनीहरू आआफ्ना जोडी च्यापेर सुते। मचाहिँ एक्लै सिरकमा गुटुमुटु परेँ। सायद सँगै सुत्नुलाई नै उनीहरुले ‘फ्रेस’ भनेका होलान्।

    मनको चाहना मुखबाट निस्कियो। मेरो कुरा सुनिसकेपछि सबै मिलेर मेरो ब्वाइफ्रेन्ड खोज्ने काम सुरु भयो। धेरै नामहरू आउँदै जाँदै भए। केटाको टुंगो लागेन त! भोलिसम्म मलाई पनि एउटा प्रेमी त उब्जाउनु नै पर्ने थियो– एउटा रातो गुलाफ दिनका लागि! 

    तातो जुलेबी र पुरी खाएर हामी ओह्रालो लाग्यौँ। सबै खुसी थिए। मेरो मन भने निराश र सोचमग्न थियो। कसैको खोजीमा भौँतारिएको मन। 

    काकालाई प्रेमी मात्र भनेर हेरेकी थिएँ। घरमा बिहेका लागि केटा खोज्ने काम भइरहेको थियो। काकाको आफ्नै संसार थियो २ छोरीको बिहे भइसकेको बाबु, मेरो श्रीमान् हुने कुरा पनि भएन। म त झन आत्तिएँ। दुवैको चाहना श्रीमान् श्रीमती हुने भन्ने थिएन। तर बढ्दै गएको पेटलाई लुकाउन मिलेन।

    घर आएँ तर मन शान्त हुन सकेन। विस्तारामा पल्टिएँ, दिमागमा उही रातो गुलाफ दिने केटाको खोजी जारी रह्यो। मनपरेका जस्ता लाग्ने धेरै अनुहार अरूकै प्रेमी थिए। सम्झनामा आएका कुनै अनुहार मन नै परेनन्। हतार छ, अब त समय नै छैन। कहाँबाट ल्याउनु त्यो मनपरेको अनुहार र मैले पनि दिन पाउँला रातो गुलाफ! 

    आमाले भात खान बोलाउनुभयो। हात धुन धारामा गएकी थिएँ। हाम्रो घरमा डेरा लिएर बस्नुभएका पूर्ण काका नुहाउँदै हुनुहुँदोरहेछ। बाथरुमको व्यवस्था थिएन।

    आँगनको छेउमा भएको धारामा नै हामी सबै नुहाउँथ्यौँ। पूर्ण काका नुहाउँदै गरेको धेरैपल्ट देखेकी थिएँ। आज मेरो आँखाले पूर्ण काका मात्र होइन, पुरुषको शरीरमा पूर्ण काका मात्र देखेँ। गोरो राईको पिठ्युँबाट मेरा आँखा हटेनन्। धारामुनि थापेको बाल्टी सारेर काकाले मलाई हात धुने बाटो बनाइदिनुभयो। मनमा हावा हुन्डरी खेलाउँदै म हात धोएर भान्सातिर लागेँ। 

    पूर्ण काका, भोजपुरको राई। तीन छोरीका बाबु। जेठी छोरीलाई विवाह गरेर पठाइसकेका। मालपोतका सुब्बा सा’ब । ४५ भन्दा उकालो लागेको उमेर। परिवार भोजपुरमै राखेर हाम्रै घरमा खाने बस्ने। उहाँ बसेको २ वर्ष भइसकेको थियो। हामी सबै केटाकेटीका काका। छोटो समयमा प्रेमी खोज्न नसकेको मेरो मनले पूर्ण काकामा प्रेमीको रूप देख्न थाल्यो। काकालाई पर्खिन मैले भात विस्तारै खान थालेँ। काका तयार भएर भान्सामा आउनुभयो। 

    आफूभन्दा दोब्बर उमेरका, ससुरा भइसकेका काकालाई त्यस बेला मेरो आँखाले राजेश हमाल जस्तो हिरो देख्न पुगे। खाना खाएर काका र बुबासंँगै अफिसतिर लाग्नुभयो। मेरो मनले भन्यो– के भो त बिहे गर्ने होइन, प्रेमी त हो नि! पूर्ण काकामा के कमी छ र? उनकी श्रीमती पनि यहाँ छैनन् क्यारे! म पनि के कमी छु र? राम्री पनि छु, पढ्दै पनि छु, मलाई पक्कै मनपराउलान् नि! तर गुलाफ के भनेर दिने?

    साँझमा काका आउनुभयो। म पढाइकै केही बहाना बनाएर काकाको कोठामा पसेँ। पहिले पनि म काकाको कोठामा धेरै पल्ट पसिसकेकी थिएँ। तर आज त्यही कोठामा पस्दा खुट्टा कामिरहेका थिए। पढाइको काम सकेपछि काकाको घरका बारेमा केही जानकारी लिएँ। उठ्ने बेलामा काकासित भ्यालेन्टाइन डेको बारेमा कुरा गरेँ। राईको छोरा, उमेर दोब्बर, उनलाई भ्यालेन्टाइन डेको बारेमा त केही थाहा नै रहेनछ। मैले बुझेसम्म काकालाई भ्यालेन्टाइन डे र रातो गुलाफको बारेमा जानकारी दिएँ। कहिल्यै यस्ता कुरा गरेकी थिइनँ काकासित। यस्तो प्रेम प्रसंगका कुराले काकालाई अचम्भित त बनायोे होला तर मलाई कुनै मतलब थिएन। 

    बिहान हजुरआमालाई पूजा गर्ने फूल टिप्ने बहानामा रातो गुलाफ पनि टिपेर ल्याएँ। ‘एक फूल दो माली’ फिल्मकोे ‘सइयाँ ले गई जिया तेरी पहिली नजर’ भन्ने गीत कापीमा लेखेँ। गीतको तल ‘हजुरलाई मेरो भ्यालेन्टाइन ल’ पनि लेखेँ। गीत लेखेको पन्नामा गुलाफ राखेँ। काकालाई सिधै गुलाफ दिन सक्ने हिम्मत मसित थिएन। 
    काका नुहाउन धारामा गएको बेलामा काकाको कोठामा पसेर उहाँको आँखा पर्ने गरी विस्तरामाथि कपी राखेर म आफ्नो कोठामा आएँ। रातो गुलाफ त राखेँ तर बाबु जस्तो काकाले त्यो घरमा देखाइदिए भने? डरले मुटुमा ढ्यांग्रो बज्न थाल्यो। आफ्नो कोठाबाट बाहिर निस्कन सकिनँ।

    काकाले केही भनेनन् होला, घरमा हल्लाखल्ला भएन। काका अफिसतिर लागेको झ्यालबाट देखेपछि बाहिरिएँ। कसैले मसित रातो गुलाफको कुरा गरेनन्। बेलुका काकालाई अफिसबाट फकँंदै गरेको परै देख्नासाथ मुटु ढक्क फुल्यो र म आफ्नै कोठातिर दौडिएँ। 

    काकाले नै बोलाउनुभयो। म डराउँदै उहाँको कोठामा पुगेँ। रातो गुलाफमा काकाको नजर बिहानै परिसकेको रहेछ। मलाई ‘बदमास’ भन्दै धेरै गाली गर्नुभयो। मैले काकाको मुखमा पनि हेर्न सकिनँ, बोल्न त परै जाओस्। त्यो भ्यालेन्टाइन डे मेरा सबै साथीहरूको रमाइलो गरेर बित्यो भने मेरो डरले काम्दै बित्यो। 

    शनिबारको दिन थियो। दिउँसो काकाले फेरि मलाई बोलाउनुभयो। किन हो फेरि गाली गर्ने हुन् कि काकाले भन्ने डरले म काम्दै काकाको कोठामा पुगेँ। काकाले इसाराले मलाई कुर्सीमा बस्न भन्नुभयो। म कुर्सीमा बसेँ, काका खाटमा हुनुहुथ्यो। केही बेर कोठामा मौनता नै छायो। खाटबाट उठेर आएर काकाले मेरो गाला चिमोट्दै भन्नुभयो–‘रातो गुलाफ दिन हिम्मत गर्नेले बोल्न त पर जाओस्, अनुहार देखाउन पनि किन नसकेको नि?’

    अप्रत्यासित प्रश्नले मेरा आँखा काकाको अनुहारमा पुगे। काका त्यही मौकाको पर्खाइमा हुनुहुन्थ्यो होला, मेरो नजर उहाँको अनुहारमा पर्नासाथ मेरो गालामा चुम्मा लिँदै भन्नुभयो– ‘रातो गुलाफ मलाई स्वीकार छ!’

    म स्वर्ग पुगेँ। मुसुक्क मुस्कुराएँ, काकाको अँगालोमा कसिँदै। केही बेर अंँगालोमा कसेपछि काकाले भन्नुभयो– ‘तयार भएर आऊ, हिँड सिनेमा हेर्न जाऔँ।’ हामीले घरमा केही नभनी बजार जाने भन्दै काकाभतिजी पुग्यौँ सिनेमा हलमा। हलमा त्यस बेला पुरानो नेपाली सिनेमा ‘कुसुमे रुमाल’ चलिरहेको रहेछ। 

    हलभित्र बत्ती बलुन्जेल काका भित्र पस्नुभएन। बत्ती निभेपछि मेरो छेउमा आएर बस्नुभयो। भुवन केसीको हाउभाउसित काका पनि दाँजिँदै जानुहुन्थ्यो, अँध्यारोमा मेरो शरीरसित। साँझ नपर्दै सिनेमा सकियो। सिंगडा र लालमोहन खाएर हामी घरतिर लाग्यौँ। अब काका मेरो प्रेमी, म उहाँकी प्रेमिका।

    काकाकी माइली छोरीको विहे हुने भयो। काकाले विहेको निहुँ पारेर मलाई पनि भोजपुर लिएर जानुभयो। अरूका अगाडि हामी काकाभतिजी। सबैले मलाई छोरीकै स्थानमा राखे। मौका मिलाएर म काकाको अँगालोमा बाँधिन्थेँ पनि। एक साता भोजपुर बसेर हामी उड्यौँ विराटनगर। 

    मलाई किन काकालाई रातो गुलाफ दिन मन लाग्यो भन्ने कुरामा मैले काकासित भेडेटार यात्राको कुरा गरिसकेकी थिएँ। विराटनगर पुगेपछि काकाले भन्नुभयो– ‘मसित पनि भेडेटार जाने हो?’ म पनि साथीहरूको जस्तै रमाउन चाहन्थेँ, त्यही ठाउँमा गएर। मलाई के खोज्छस् कानो आँखो। काकाको प्रस्तावले म पुलकित हुँदै मुस्कानरूपी जवाफ दिएँ, ‘हुन्छ।’

    काकाले विराटनगरबाट मलाई सिधै भेडेटार लिएर जानुभयो। मेरो मनमा लुकेको चाहना थियो, स्टार बियरको बोतल समाउँदै प्रेमीसित नाच्ने। काकाको चाहना केके थियो कुन्नि, मेरो चाहना भने पूरा गरिदिनुभयो। जीवनमा भेडेटारमा पुगेर पहिलो पल्ट पूर्ण रूपमा काकाकी भएँ। एक रातले हामीलाई पुगेन। हामी कोठाभित्रै मात्र बसेर ४ दिन बितायौँ। म पनि खुसी, काका त अनुभवी, झन् खुसी। ४ दिनपछि हामी घर आयौँ। सबै सामान्य थियो। दिन बित्दै गए। काकाको बिस्तरा हामीले हाम्रो बिस्तरा बनाइसकेका थियौँ। मौका मिल्यो कि हामी एक हुन्थ्यौँ। 

    भेडेटार गएको ५ महिना पछाडि महिनावारी रोकियो। सबैले थाहा पाउलान् भनेर स्थानीय डाक्टरकहाँ जाने हिम्मत भएन। बाहिर जाने बहाना बनाउन हामी असफल हुँदै गएका थियौँ। त्यही समयमा काकाको भद्रपुर सरुवा भयो। बल्लबल्ल मौका मिलाएर काकाले मलाई लिएर सिलिगुडी जानुभयो, गर्भपतन गराउन। मेरो पेटमा तीन महिनाको गर्भ भइसकेकाले गर्भपतन गराउन डाक्टरले मानेन।

    म रुन थालेँ। काकालाई प्रेमी मात्र भनेर हेरेकी थिएँ। घरमा विहेका लागि केटा खोज्ने काम भइरहेको थियो। काकाको आफ्नै संसार थियो २ छोरीको विहे भइसकेको बाबु, मेरो श्रीमान् हुने कुरा पनि भएन। म त झन आत्तिएँ। दुवैको चाहना श्रीमान् श्रीमती हुने भन्ने थिएन। तर बढ्दै गएको पेटलाई लुकाउन मिलेन। आखिरमा निर्णय भयो, काका हिँड्ने दिन काकाको सामानसँगै मेरो सामान पनि पोको पारेर भद्रपुरतिरै हान्निने। 

    काकाको हिँड्ने दिन पनि आयो। काकाको सामान मिलाउँदै मैले पनि घरका अरूका आँखामा छारो हालेर आफ्नो सामान पनि पोको पारिसकेकी थिएँ, प्रेमी काकाको बक्सामा। घरमा सबैसित बिदावारी भएर काका हिँड्न लाग्दा काकासितै ‘म पनि बजारसम्म पुगेर आउँछु’ भन्दै चढेँ काकाको सामान राखेको जिपमा। 
    जिपमा भद्रपुर पुगियो। काकाले त्यहाँ सबैसँग मलाई श्रीमती भनेर चिनाउँदा असाध्यै नरमाइलो लागेको थियो। म कुनै पनि हालतमा काकाकी श्रीमती हुन चाहन्न थिएँ। तर बढ्दै गएको मेरो पेटले काकाकी श्रीमती बन्न बाध्य बनायो। ८ महिना भएपछि अब सुत्केरी कसरी उकास्ने भन्ने चिन्ताले काकालाई सताउन थाल्यो। माइतको ढोका त मेरा लागि बन्द नै थियो। काकाले धेरै सम्झाएर ९ महिना लाग्नासाथ मलाई पुर्‍याउनुभयो, भोजपुर। 

    छोरी भनेकी केटी आइमाई बनेर सौता हुँदै पसेको काकीले किन सहन्थिन् र! काका केही दिन बसेर भद्रपुर फर्कनुभयो। महिना पुगेपछि छोरी जन्मिई। सुत्केरी सौता र बच्चालाई काकीले झन् देखिसहिनन्। सुत्केरीको स्याहार त मैले पाउँदै पाइनँ। 

    २ महिनापछि काका आउनुभयो र म रोइकराई गरेर भद्रपुर नै झरेँ। म संँगसंँगै रिस देखाउँदै काकी र छोरी पनि आए। रातो गुलाफले बनाएको मेरो संसारमा झगडाको डढेलो लाग्यो। काकाले केके गरेर आफ्नो सरुवा भोजपुरमै गराउनुभयो। अब फेरि काकासँंगै भोजपुर जानै पर्‍यो। 

    मधेसको सुखसयलमा हुर्किएकी मैले पहाडको घाँसदाउरा गर्न सकिनँ। काकालाई पनि मेरो रातो गुलाफले रोपेको मायाभन्दा सौताले रोपेको कामरूपी मायाले उनकै नजिक पुर्‍यायो। 

    पण्डितकी नातिनी, बाहुनकी छोरी, बाबुसरह उमेरको राईकी श्रीमती, आफैँलाई अनौठो लागेको थियो। मैले जन्माएकी मेरै रगत मेरी छोरी राईकी छोरी भई।

    काकाका लागि म बोझ बन्दै गएको अनुभूति गर्न थालेँ। काका पनि मबाट टाढा हुँदै जानुभयो। हामी आमाछोरीका लागि काकाबाहेक त्यहाँ आफ्नो भन्ने को नै थियो र! तिनै काका पनि टाढिन थालेपछि अब रहने कोसित? पहाडकी कामकाजी सौतालाई मैले जित्न सकिनँ, जसले रडाको मच्चिन थाल्यो। घरमा बस्नै नसक्ने भएँ। अन्ततः मैले काकाको घर छाडेँ, सानी छोरीलाई च्यापेर झरेँ धरानतिर। 

    माइतीलाई त मरे बाँचेको थाहा थियो कि थिएन के थाहा? रातो गुलाफ स्वीकार छ भन्ने काकाले समेत बिर्सिए। यत्तिका वर्ष बितिसक्दा पनि आफन्तले हाम्रो खोजी गरेनन्। कम्तीमा आफ्नो सन्तान त खोज्नुपर्छ मेरा काका, प्रेमी, श्रीमान् र छोरीका बाबुले! 

    आज भ्यालेन्टाइन डे। रातो गुलाफ दिएर प्रेमी बनाउनेहरूलाई सम्झेकी छु। रातो गुलाफ दिएर प्रेमी बनाउने चाहनामा कति बहिनीहरू सपना बुन्दै बसेका थिए होलान्। कतिले म जस्तै किशोरी चाहनामा नसोची रातो गुलाफमा आफूलाई सुम्पिँदै पनि होलान्। सपना सपनै हुन्छ, मेरो जस्तै वास्तविकता कहालीलाग्दो हुनसक्छ। तर अब म के पो गर्न सक्छु र उनीहरूका लागि? मात्र भगवानसित प्रत्येक वर्ष प्रार्थना गर्छु, हे भगवान्, एक दिनको रातो गुलाफले मेरो जस्तो पूरै जीवन ओइलिनु नपरोस्, कसैको पनि!

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]