के हो समस्या?

|

काठमाडौं : लामो समयदेखि रोकिएको मेगा बै‌ंकको सेयर कारोबार आइतबार अचानक सुचारु भयो। त्यसैगरी, कारोबार केही समयमै बन्द भयो। कारोबार सुचारु भएको देखिएपछि सेयर ब्रोकरहरूले सेयरको अर्डर लिए। तर, त्यो सेयर अर्डर भने रद्द हुने भएको छ।

उता, मेगा बैंकका लगानीकर्ताहरू अन्योलमा परेका छन्। एकाएक कारोबार र कारोबार रद्द भएको विषयले थप अन्योल पारेको छ। 'कुरै नबुझी ब्रोकरले सेयर अर्डर गर्नुभएछ, यस्तो कारोबार हुँदैन', नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले भने। 

आइतबार कसरी भयो मेगाको कारोबार?
नेपाल राष्ट्र बैंकले एकीकृत कारोबारको अन्तिम स्वीकृत नदिई आइतबार एकाएक मेगाको कारोबार भयो। 'हामीले केही समय मेगाको कारोबार गर्नुपर्ने थियो', नेप्सेका अधिकारीले भने। यो निर्णय नेप्सेको थिएन, नेप्सेले अदालतबाट आएको आदेशको पालना गरेको थियो। लगानीकर्ताहरूबीचको विवाद अदालतसम्म पुगेको र एक/दुई जना लगानीकर्ताले आफ्नो लगानी रोकिएको भन्दै अदालतमा मुद्दा दायर गरेको थिए।

त्यसै विषयमा अदालतले कारोबार नरोक्न आदेश जारी गरेपछि एउटा खाताबाट अर्को खातामा रकम सार्नका लागि कारोबार सुरु गरिएको नेप्सेका प्रवक्ता पराजुलीले बताए। तर, रकम सारेपछि कारोबार रोकिएको थियो। यसबीच ७/८ वटा अर्डर आए।

सेयर कारोबार गर्न भने नेपाल राष्ट्र बैंकले एकीकृत कारोबारको स्वीकृति दिएको १५ दिनपछि धितोपत्र बोर्डले अनिवार्य सेयर खुलाउनका लागि निर्देशन दिन्छ र त्यसै आधारमा कारोबार सुरु गर्नुपर्ने हुन्छ। 

लामो समयदेखि कारोबार रोकिँदा लगानीकर्ता समस्यामा
सेयर कारोबारमा संलग्‍न हुने कुनै पनि २ संस्था एकआपसमा गाभिने भएपछि कारोबारमा अनियमितता नहोस् भन्नका लागि भित्री रूपमा अन्तिम निर्णय लिएपछि नेप्सेलाई सेयर कारोबार रोक्न आग्रह गरिन्छ। त्यसपछि मात्रै मर्जर वा प्राप्तिको विषयमा निर्णय गर्ने गरिन्छ। 

मेगा र टुरिज्म विकास बैंकबीच पनि यही प्रकिया अघि बढाइएको हो। गत वर्ष २ बैंक गाभिने सहमति भएपछि कारोबार रोकिएको थियो। टुरिज्म बैंकको अन्तिम कारोबार ०७३ पुस १७ मा भएको थियो। मेगा बैंकको पनि यही समयदेखि रोकिएको हो।

मर्जर गर्ने विषय दुई बैंकको साधरणसभाले पास गर्नुपर्ने हुन्छ। टुरिज्मको साधारणसभाले छिट्टै निर्णय गर्न सके पनि मेगाले भने सकेन। स्वाप रेसियो नमिलेको भन्दै मेगा बैंक सञ्‍चालक समितिमै विवाद भयो। पहिलो चरणमा विवाद समाधान गर्न सकेन।

मर्जरबारे मेगा बैंकका कतिपय सञ्‍चालकहरूले विरोध गरेका छन् भने विरोध गर्ने सेयर सदस्यहरूका कारण विशेष साधारणसभासमेत स्थगित भएको छ। 
सोही सम्‍झौताको विरोधमा मेगा बैंकका केही असन्तुष्ट पक्षले पाटन अदालतमा साधरणसभा स्थगित गर्न माग गर्दै निवेदनसमेत दर्ता गरेका थिए। अदालतको आदेशपछि  दोस्रो चरणमा सन् २०१७ डिसेम्बरमा मात्रै मेगाको साधारणसभाले मर्जरसम्बन्धी स्वीकृति दियो। 

त्यसपछि राष्ट्र बैंकलाई अन्तिम स्वीकृतिका लागि निवेदन दिइएको छ। तर, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छैन। यता, लामो समयदेखि कारोबार रोकिँदा लगानीकर्ता समस्यामा र अन्योलमा परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.