|

  • देवानन्द न्यौपाने-

कैलाली : प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले सभामुख थापालाई सोमबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ गराएका हुन्। 
यसअघि सोमबार बसेको प्रदेश संसदको बैठकमा थापा निर्विरोध सभामुख चयन भएका थिए।

प्रदेशसभा सदस्य दीर्घ सोडारीको समर्थन र माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रस्ताव गरेपछि जेष्ठ प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले थापालाई सभामुख चयन भएको घोषणा गरेको थियो। सभामुखमा चयन भएका थापा बझाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

लामो समय शिक्षण पेसा, त्यसपछि विभिन्न संघ संगठनको नेतृत्व गरिसकेका थापाले अब भने संविधानले दिएको अधिकारअनुसार प्रदेश ७ को समृद्धिका लागि खटिने बताए। 

प्रदेश संसदको बैठक फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि उपसभामुखको निर्वाचनको मिति तोक्दै स्थगित भएको छ।

यस्तो छ थापाको राजनीतिक यात्रा
बझाङको खप्तड छान्ना गाउँपालिका– २ मा वि. सं. २०१२ माघमा जन्मिएका थापाले २६ वर्ष शिक्षण पेसामा बिताए। भूगोल र अर्थशास्त्र विषयमा स्नातक गरेका थापाले बझाङकै खप्तड मावि, लामातोला मावि र दुर्गाभवानी माविमा २६ वर्ष अध्यापन गरेका थिए। 

२०३६ सालमा उनी नेपाल राष्ट्रिय शिक्षक संघको बझाङ जिल्लाका संस्थापक सहसचिव हुँदै २०६२ सालमा पार्टीको बझाङ जिल्ला सचिव र २०६६ सालमा पार्टीको जिल्ला अध्यक्षसमेत भए। नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल बुद्धिजीवी परिषद् हँुदै उनी अहिले नेकपा एमालेको प्रदेश ७ का प्रदेश कमिटी सदस्य छन्।

उनले ‘विश्व कम्युनिस्ट आन्दोलनको एक झलक’ (विश्व–नेपाल–बझाङ) नामक पुस्तक र ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवाद’ नामक पुस्तक पनि प्रकाशन गरिसकेका छन्। 

सभामुखमा निर्विरोध भएपछि उनकी श्रीमती पावसरा थापाले उनलाई अवीर लगाउँदै हात मिलाएर बधाई दिइन्। पावसरा खप्तडछान्ना गाउँपालिकाकी उपाध्यक्ष हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.