वृद्धिदरमा कमी

|

काठमाडौं : चालु आर्थिक वर्षमा मुलुकको आयात व्यापार र व्यापार घाटा लगभग १५/१५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात व्यापार १५.३ र व्यापार घाटा १५.१ प्रतिशतले वृद्धि भएको छ। 

गत वर्षको तुलनामा आयात व्यापार र व्यापार घाटा दुबैमा वृद्धिदरमा कमी आएता पनि अंकमा व्यापार असन्तुलनमा भने बढेको छ। समिक्षा अवधिमा बैदेशिक व्यापारमा ४९३ अर्बको व्यापार घाटा नेपालले भोगेको छ। 

निर्यात व्यापार

आर्थिक बर्ष २०७४/७५ को ६ महिनासम्ममा गत वर्षको सोही अवधिको तुलनामा कुल वस्तु निर्यात १३.४ प्रतिशतले  वृद्धि भएको छ। जसअनुसार यो अवधिमा ४१ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात व्यापार पुगेको छ। 

 समीक्षा अवधिमा भारततर्फ १३.१प्रतिशत, चीनतर्फ ७०.२ प्रतिशत र अन्य मुलुकतर्फ १०.३ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, जिङ्क सिट, धागो लगायतका वस्तुको निर्यात बढेको छ। तर, जुस, अलैँची, जिआइपाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको निर्यात घटेको छ।

आयात व्यापार
समीक्षा अवधिमा कुल वस्तु आयात १५ प्रतिशतले बढेको छ। जसअनुसार यो अवधिमा ५३४ अर्ब १६ करोड रुपैयाँको आयात व्यापार पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा भारतबाट भएको आयात १५.३ प्रतिशत, चीनबाट भएको आयात ९.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.६ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ। त्यस्तै। कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाहा भन्सार कार्यालय, वीरगंज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ। 

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ। 

व्यापार घाटा
नेपालको व्यपार असन्तुलन बढेको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले बढेको छ। जसअनुसार व्यापार घाटा  ४९३ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ७४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.८ प्रतिशत रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.