|

उदयपुर : वैकल्पिक लोकमार्ग निर्माणमा जनप्रतिनिधि नै बाधक बनेका छन्। राष्ट्रिय गौरवको योजनाअन्तर्गको सुनसरीको धरानबाट चतरा, उदयपुरको गाईघाट, कटारी हुँदै सिन्धुली–हेटौंडा जोड्ने सडक निर्माणमा उदयपुरका एक नगरपालिकाका वडा अध्यक्षा बाधक बनेका हुन्।

सडक निर्माण क्षेत्रमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का वडा अध्यक्ष कमलध्वज राई सडक निर्माणमा बाधक बनेका हुन्। सडक विस्तार गर्दा वडाध्यक्ष राईको घर भत्किने भएपछि उनले सडक विस्तारको विरोध गरेको सडक आयोजनाको कार्यालय गाईघाटका इन्जिनियर रामबिहारी चौधरीले बताए। ‘वडाध्यक्ष राईको नेतृत्वमा केही घर परिवारले काम रोकेका छन।’ इन्जिनियर चौधरीले भने, ‘घर जोगाउन सडक सर्भेको एलाइमेन्ट परिर्वतन गरेर ४०/४५ मिटर पश्चिमबाट विस्तार गर्न माग गर्दै काम रोकेका छन्।’

लोकमार्गको गाईघाट–बेल्टार सडकखण्ड चौदण्डीगढी नगरपालिका–६ को सातधारेमा ऐलानी जग्गामा राईको घर छ। सडक विस्तार गर्दा राईको घरसहित उनका छिमेकीको घर भत्काउनुपर्ने छ। त्यसैले घर भत्काउन नदिने भन्दै वडा अध्यक्ष राईको नेतृत्वमा विरोध भएको हो।

वडाध्यक्ष राईले सर्वसाधरणका घर नभत्काइकन सडक निर्माण गर्न आग्रह गरेको बताए। ‘पश्चिमतिरबाट सडक बनाउँदा राम्रो हुन्छ,’ वडा अध्यक्ष राईले भने, ‘उता वन कार्यालयले नदिने भएकाले काम रोकिएको हो, मैले रोकेको छैन।’ सडक सिधा दूरीमा निर्माण गरेर जानुपर्छ भन्दा आयोजना कार्यालयले नमानेको आरोप राईको छ।

सडक विस्तारका लागि ०७२ मा गरिएको सर्भेअनुसार काम गरिरहेको समयमा वडाध्यक्ष राईले काम रोकिदिएको आयोजना प्रमुख उमेशविन्द श्रेष्ठले बताए। ‘वडा अध्यक्षले काम रोकिदिएका छन्,’ प्रमुख श्रेष्ठले भने, ‘यसबारे चौदण्डीगढी नगरपालिकालाई लिखित जानकारी पठाएका छौं, जवाफ आएको छैन, काम ठप्प भएको छ।’

सडकको सर्भे हुँदा अहिले वडा अध्यक्ष राईको घरसहितको बस्ती वन क्षेत्र थियो। पछि सडक विस्तार हुने निश्चित भएपछि वडाध्यक्ष राईले ऐलानी जग्गा ओगटेर घर निर्माण गरेको स्थानीय रामकुमार राईले बताए।

२५ प्रतिशत काम

गत वर्षको कात्तिकबाट निर्माणको काम सुरु भएको लोकमार्ग अहिलेसम्म २५ प्रतिशत पनि काम सकिएको छैन। चौदण्डीगढी नगरपालिकाको बसाहास्थित वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमबाँधसम्म १३४ किलोमिटर छ। निर्माणको जिम्मा पाएको जेडआइईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चर निर्माण कम्पनीले ३१ किलोमिटरमा कुनै पनि काम गर्न नसकेको निर्माण पक्षको भनाइ छ।

सडकको वन क्षेत्रमा परेका रुख, बिजुलीका पोल, घर टहरा हटाउन सरकारी पक्षले ढिलाई गर्दा निर्माणमा समस्या आएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए। ‘अहिलेसम्म २५ प्रतिशत काम सकिनुपर्ने हो,’ म्यानेजर निर्माण पोखरेलले भने, ‘काम गर्दै जाँदा सडक घर पुगेपछि विवाद हुन्छ, रोकिन्छ। जनप्रतिनिधिहरू समेत आएर रोक्न आदेश दिन्छन्,’ उनले भने, ‘वन क्षेत्रका रूख र विद्युत् पोल हटाउन सरकारी पक्षले ढिलाई गर्दा २५ प्रतिशत पनि काम भएको छैन।’

पोखरेलले भने, ‘रूख काट्ने अनुमति लिने, घर–टहरा हटाउने, मुआब्जा विवाद मिलाउने लगायत काम सडक विभागले गरेकै छैन।’ विभिन्न बाधा हुँदा पनि २० प्रतिशत सडक निर्माणको भौतिक प्रगति गरेको निर्माण कम्पनीका म्यानेजर पोखेरलको भनाइ छ।

सडकको अधिकांश क्षेत्र वन, वस्तीमा परेको छ। चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र चोकदेखि भिमानसम्म पूर्वी खण्डको निर्माण कार्य जेडआइईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चर निर्माण कम्पनीले लिएको छ। 

पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा पर्ने विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्ब रुपैयाँ लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम गत वर्षको कात्तिकदेखि काम सुरु भएको हो। यस खण्डमा पर्ने ४३ पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको सडक आयोजनाको कार्यलयले जनाएको छ।

आयोजना ०७६ सालसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी कार्ययोजना तयार छ। तर, समयमा सडकको वन क्षेत्रमा परेका रुख, विजुलीका पोल, घर टहरा हटाउ सरकारी पक्षले ढिलाई गर्दा निर्माणमा समस्या आएको छ।

चुरे क्षेत्रको उत्तरी भागमा निर्माणाधीन धरान–चतरा–बेल्टार–गाईघाट–कटारी र सिन्धुली हुँदै हेटौंडा जोड्ने बैकल्पिक लोकमार्गअन्तर्गत जम्मा ३ सय १८ किलोमिटर पर्दछ। उक्त सडक क्षेत्रमा पर्ने रुख तथा विद्युत्को पोल सार्ने र व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको पूर्वी खण्डका आयोजना कार्यालय प्रमुख प्रमुख उमेशविन्दु श्रेष्ठको दावी छ। कार्यालयका अनुसार सडक निर्माणको काम करिव ११ प्रतिशत पूरा भएको छ।

१२ हजार रूख काट्नु पर्ने

यो सडक सुनसरीमा १८.८ किमि, उदयपुरमा १ सय ८.५ किमि, सिन्धुलीमा १ सय ३५ किमि र मकवानपुर जिल्लामा ४९.३५ किमि भागमा पर्छ। हालसम्म यस योजनाको कुल लम्बाइमध्ये करिब २० किमि कालोपत्रे, करिव १ सय १० किमि ग्राभेल छ भने बाँकी धुले सडक छ। योजनाकाअनुसार सम्पूर्ण सडक दुई लेन बिस्तार गरेर स्तरोन्नति गरिनेछ।

हाल कालोपत्रे भइसकेको करिब २० किमि बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किमि सडक विभागले कालोपत्रे तथा बिस्तार गर्ने जिम्मा लिएको छ। सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ। सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ५ सय र पूर्वी खण्डमा ८ हजार रूख काट्नुपर्नेमा ८५ प्रतिशत सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गकाे  बिकल्प

सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मधेस आन्दोलनले पूर्वपश्चिम राजमार्ग ठप्प बनेर जनजीवन कष्टकर बनेपछि सरकारले बैकल्पिक सडकरुपमा यस सडकलाई अघि सारको हो।

यो सडकलाई पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा यो सडक निर्माण गरिएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.