|
punjabkesari.com

ध्यानमग्न रूपमा बसेका शिवजीको शान्त स्वरूप। घाँटीमा सर्पको माला र कम्मरमा बाघको छाला भिरेर भूत, प्रेत, पिशाच साथमा लिई हिँड्ने शिवजी। अर्कातिर जटा पछारेर वीरभद्र र महाकालीजस्ता शक्ति उत्पन्न गर्ने उनको रौद्र रूप। तपाइँ भगवान् शिवको कुन रूप मन पराउनुहुन्छ? कुन रूपको अनुसरण गर्न चाहनुहुन्छ? कुन गुण आफूमा आओस् भन्ने कामना गर्नुहुन्छ?

महाशिवरात्रि आसपास पाशुपत क्षेत्रमा जोगीहरूसँग लिएर गाँजा–भाङ तान्नेहरूको जवाफसँगै प्रश्न हुन्छ, भगवान् शिवको प्रसाद। शिवले खान हुने हामीले किन नहुने? 

श्रीमद्भागवतलगायत पुराणहरूमा समुद्र मन्थनको प्रसंग आउँछ। समुद्र मन्थनका क्रममा अनेक किसिमका बहुमूल्य वस्तु निस्कन्छन्। रत्न, अमृत इत्यादि। ती सबै देवता दानवले खोसाखोस गर्छन्। तर जब कालकूट विष निक्लन्छ। कोही लिन तयार हुँदैन। सबैको भागाभाग चल्छ। त्यो विष फैलियो भने संसार एकैछिनमा ध्वस्त हुन्छ। विष ग्रहण गर्न उनै शिव अघि सर्छन्। हातमा विष लिएर घुटुघुटु पिइदिन्छन्। घाँटीमा पुगेर विष अड्किन्छ। विषको प्रभावले घाँटी नै निलो हुन्छ। नाम रहन्छ, नीलकण्ठ।

समुद्र मन्थनका क्रममा अनेक किसिमका बहुमूल्य वस्तु निस्कन्छन्। रत्न, अमृत इत्यादि। सबै देवता दानवले खोसाखोस गर्छन्। तर जब कालकूट विष निक्लन्छ। कोही लिन तयार हुँदैन। सबैको भागाभाग चल्छ। त्यो विष फैलियो भने संसार एकैछिनमा ध्वस्त हुन्छ। विष ग्रहण गर्न उनै शिव अघि सर्छन्। हातमा विष लिएर घुटुघुटु पिइदिन्छन्। घाँटीमा पुगेर विष अड्किन्छ। विषको प्रभावले घाँटी नै निलो हुन्छ। नाम रहन्छ, नीलकण्ठ।

संकटका बेला देवता दानवको भेद नराखी सबैमाथि समभाव राख्ने शिवको प्रशंसा जति गरे पनि कम हुन्छ। संकट पर्दा अरुलाई देखाउने वा अरुको काँधमाथि जिम्मेवारी छोडिदिने मानव समुदायका लागि यो गतिलो उदाहरण हो।

शिवको नाम शिव त्यसै रहेको होइन। विष पिएर सबैको कल्याण गरेका हुनाले भनिएको हो, शिव। शिव अर्थात् कल्याण। उनको शान्त स्वरूको अर्थ पनि त्यही हो, सबैको कल्याण गर। कसैको अकल्याण नगर। कसैको कुभलो नचिताऊ। भक्तहरूको उपासनाबाट चाँडै खुशी हुने आशुतोष उनको अर्को नाम हो।

अब जाऔँ शिवजीको रौद्र रूपतर्फ। सनातन धर्मको मान्यताअनुसार ब्रह्मा सृष्टि, विष्णु रक्षा र शिव संहारका देवता। सबैको कल्याण गरे पनि दुष्टतत्त्वको संहारको आवश्यकता त पर्छ नै। त्यतिबेला शिवजी रौद्र रूपमा प्रकट हुन्छन्। भूत, प्रेत, पिशाच आदि उनका गण हुन्छन्। खरानी घस्ने, बाघको छाला कम्मरमा बेरेर गाँजा, भाङ धतुरो आदि सेवन गर्ने उनको यो बेलाको रूप हुन्छ। 

जसरी अरुमा त्यसको दुस्प्रभाव पर्न नदिने उद्देश्यले शिवले विषपान गरेका हुन्, गाँजा–भाङ–धतुरोको सन्दर्भमा पनि त्यही हो। ‘संसारमा भएका खराब तत्त्वहरू म ग्रहण गर्छु, तिमी असल कुरा लिऊ र समाजलाई असल कुरा नै देऊ’ भन्ने उनको सन्देश हो। उनको सन्देशको अर्थ नबुझी शिवको प्रसाद, शिवजीले खान हुने मैले किन नहुने जस्ता तर्कहरू गलत हुन्।

फेरि समाजमा नकारात्कम पक्ष पनि उत्तिकै जरुरी छ भन्ने सन्देश पनि हो। जसरी रात नभई दिन हुँदैन, खराब तत्त्व नभई असल पक्षको महत्त्व हुँदैन। शिवका साथमा रहेका सर्प, भूतप्रेत, पिशाचको अर्थ पनि त्यही हो। अर्कातिर संहारका देवता भएकाले प्रलयका लागि यी तत्त्वहरूको आवश्यकता पर्ने नै भयो।

पुराणमा एउटा प्रसंग आउँछ, शिवजी पार्वतीसँग विवाह गर्न हिमालय पर्वतको घर जान्छन्। शिवको बाहिरी स्वरूप देखेर पार्वतीकी आमा मेना चिन्तित हुन्छिन्, ‘छोरी दिन लागेको बेहुलाको हालत यस्तो छ।’ हुनेवाला ज्वाइँ सर्पका माला लगाएका बाघको छाला बेरेका। अनेक किसिमका गणले युक्त भएका। तर केही बेरमै शिवको वास्तविक सुन्दर रूप देखिन्छ। बाहिरी रूप त  शिवजीको लीलामात्र हो भन्ने ज्ञान उनलाई हुन्छ।

शिवजीको यो रूपले अर्को सन्देश दिन्छ, कसैको मूल्याङ्कन गर्दा वा कसैप्रति व्यवहार गर्दा बाहिरी रूपमात्र हेर्नु हुँदैन। अहिलेको समाजले मानिसको गुण, व्यवहार र बौद्धिकताभन्दा बाहिरी लवाइखुवाइ हेर्छ र उसको बारेमा धारणा बनाउँछ। शिवको बाहिरी रूप हेरेर व्यवहार गर्दा दक्षप्रजापति नष्ट हुनपुगेको कथा हामीले सुनेकै छौँ। 

शिवको ध्यानमग्न स्वरूपबाट योगको उत्पत्ति भएको छ। उनी नै अादियाेगी वा परमयाेगी मानिन्छन्। ध्यानमग्न शिवजीको केशबाट गंगा बहेकी छिन्। शिवले गरेको ताण्डवबाट नृत्यको प्रादुर्भाव भएको छ। उनको डमरुको आवाजबाट व्याकरणका चौध सूत्रको उत्पत्ति भएको छ। त्यसैबाट भाषाको विकास भएको छ। अनुसरण गर्नयोग्य भगवान् शिवका अनेकौँ पक्ष छन्। अर्थ बुझेर अनुसरण गरौँ।

शिवले लगाउने भष्म (खरानी)ले जीवनको यथार्थलाई स्मरण गराउँछ। किनभने मृत्यु अवश्यम्भावी छ। एक दिन हामी सबै पुग्ने त्यही ठाउँ हो। हुने खरानी नै हो। त्यसैले अनावश्यक अभिमान नगर्नु भन्ने सन्देश दिन्छ। श्मसानमा बस्ने शिवजीको रूप पनि मानिसलाई वैराग्यतिर लैजान प्रेरित गर्छ।

शिवको ध्यानमग्न स्वरूपबाट योगको उत्पत्ति भएको छ। उनी नै अादियाेगी वा परमयाेगी मानिन्छन्। ध्यानमग्न शिवजीको केशबाट गंगा बहेकी छिन्। शिवले गरेको ताण्डवबाट नृत्यको प्रादुर्भाव भएको छ। उनको डमरुको आवाजबाट व्याकरणका चौध सूत्रको उत्पत्ति भएको छ। त्यसैबाट भाषाको विकास भएको छ।

शिव परिवारभित्र वृष (गोरु)देखि बाघसम्म र मुसादेखि मयुरसम्म अटाएका छन्। यो विविधतामाथिको एकता हो। यो हाम्रो समाजको प्रतिबिम्ब पनि हो। जाति र संस्कृति विविध भए पनि आ–आफ्नो कर्ममा रमाउनुपर्छ, एकअर्कार्कामाथि हस्तक्षेप गर्नुहुँदैन भन्ने उदाहरण हो यो। 

लीला पुरुषहरूले फरक फरक उद्देश्यले विभिन्न समयमा गरेका लीलाहरूको अनुकरण मानिसका लागि उपयुक्त नहुन पनि सक्छन्। अनुसरण गर्नयोग्य भगवान् शिवका अनेकौँ पक्ष छन्। अर्थ बुझेर अनुसरण गरौँ। विकृतिलाई संस्कृतिको स्वरूप नदिऔँ। अर्थको अनर्थ नबनाऔँ। महाशिवरात्रिको यो पावन अवसरमा शिवको शान्त स्वरूपको अनुसरण गरौँ। त्यही स्वरूप आफूमा ल्याउने कोशिश गरौँ।

सबैको कल्याण सोचौँ। सबैको कल्याण हुने काम गरौँ। महाशिवरात्रिको शुभकामना!  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.