|

काठमाडौं उपत्यकाको फुलचोकीपछिको दोश्रो अग्लो डाँडो हो चन्द्रागिरी। उहिले राजनीतिको थालनी गर्दा डाँडोको दक्षिणपट्टीको भन्ज्याङबाट हामी चखेल, फाखेलतिर जाने गर्थ्यौं। उतिबेला त्यो डाँडोमा यति विशाल संरचना निर्माण हुनसक्छ भनेर कल्पना पनि गर्न सकिएको थिएन। तर ०७३ साल भदौ २२ त्यो डाँडोको सिङ्गै रुप परिवर्तन भएको देखेर म दङ्दास परें। मानिसले चाहेमा गर्न नसकिने केही हुँदो रहेनछ र हाम्रै नेपालीमा त्यस्तो काम गर्न सक्ने क्षमता रहेछ।

चार वर्ष जति अघि म सिक्किम पुगेको थिएँ। सिक्किमको नाम्चीमाथिको गुराँसे डाँडामा भारतका प्रख्यात मन्दिरहरुको प्रतिकृति निर्माण भैरहेका थिए। केही मन्दिरहरु बनिसकेका थिए। केही बन्दै थिए। हामीलाई त्यहाँ घुमाउन लाने साथीले भने, ‘सिक्किमेहरु धार्मिक जनता हुन्। त्यसैले उनीहरु भारतका बिभिन्न ठाउँमा रहेका मन्दिरहरु घुम्न जान्छन्। त्यसरी घुम्न जाँदा तिर्थयात्रीलाई दुःख हुने, बाटोमा विरामी परेर यात्रा अधुरो हुने, हाम्रो सिक्किमको पैसा अन्यत्र जाने भएकोले हाम्रो मुख्यमन्त्रीले यो फराकिलो डाँडालाई धार्मिक पर्यटनको केन्द्र बनाउने निर्णय गर्नुभयो। उहाँको सपना अब साकार हुँदैछ।’

हाम्रो देशमा किन यस्तो सोच पलाउँदैन शासकहरुमा? त्यतिखेर मैले आफैंसँग सोधेको थिएँ। तर त्यतिबेला मसँग कुनै उत्तर थिएन। चन्द्रागिरी हिल पर्यटन बोर्डको कार्यक्रममा उपस्थित भएपछि मैले त्यो डाँडाको उत्तर भेटेको थिएँ।

चन्द्रागिरीमा पर्याप्त व्यवसायिक वुद्धि लगाइएको छ। सरकारबाट होइन व्यक्ति र समूहबाट। छिद्रान्वेषी भएर सोधखोज गरिन मैले। संस्थाका प्रमुख चन्द्र ढकाल (उनलाई मैले रेमिट्यान्स र बैंकरका रुपमा चिनेको थिएँ) ले चन्द्रागिरी डाँडाको निर्माणको बारेमा बोल्दा पैसाको कुरो उठाएनन्। उनले आफू मूलरुपमा मलेशियाको गेण्टिङ हाइल्याण्डबाट प्रभावित भएको र नेपालमा पनि त्यस्तै आरामदायी थलो निर्माण गर्ने सपना लिएर काम गर्दै रहेको कुरा सुनाएका थिए। अन्य भन्नाले कर्मचारी र मैले चिनेका साथीबाट सुने अनुसार चन्द्रागिरी डाँडाको भव्य संरचना निर्माणको बजेट ‘चार अरब रहेको अनि चन्द्र सर र उहाँका साथीहरुको लगानी’ रहेछ। मेरा लागि यत्ति नै पर्याप्त थियो। धेरै छिद्रान्वेषी हुन मन पनि लागेको थिएन। नेपालीहरुसँग लगानी गर्ने पैसा छ, केही गर्ने सपना छ। क्षमता पनि  छ। यति भए मलाई पुग्यो भन्ने लागेको थियो।

हाम्रो नेपालका ठूला नेताहरु नेपालीको क्षमता माथि विश्वास गर्दैनन्। जेमा पनि विदेशी गुहार्ने उनीहरुको दिमागले ठूलो संरचना नेपालीले बनाउन सक्छन् भन्ने कुरा सोच्नै सक्दैन। यद्यपि चन्द्रागिरीको लगानी साह्रै ठूलो होइन, यदि चार अरब मात्र हो भने। मैले गर्न खोजेको लगानीको पैसा होइन, कुरो हो नेपाली लगानीकर्ताहरुको जाँगर र नेताहरुको अवरोध। अल्छीहरु नेपालमा लगानीको वातावरण छैन भनेर सुस्ताउँछन्। तर कर्मशीलहरु अप्ठ्यारासँग जुधेरै काम गरिरहेका हुन्छन्। विजुली र पानीको समस्या चन्द्रजीले आफ्नो मन्तव्यमा पनि सुनाएका थिए।

एकाध वर्ष अघिसम्म नेपालमा गरी खान पाउँ या गरी खान देउ भन्ने नाराहरु धेरैतिर टाँसिएका देखिन्थे। अहिले ती अलिक देखिएका छैनन्। समस्या समाधान नभएर ती भित्ते टाँसहरु हराएका होइनन्। गरी खान देउ भनेर कराउँदा कराउँदा ती सुस्त भएका हुन्।

हाम्रो राष्ट्रिय समस्या विद्युत उत्पादन हो। अहिलेसम्म तीन पटक सरकारले उर्जा सङ्कटकाल घोषणा पनि गरिसकेको छ। तर त्यही विद्युत उत्पादन प्रति सरकार सकारात्मक छैन। प्रधानमन्त्रीहरु हजार मेगावाट उत्पादन भन्दा तलको कुरा गर्नै मान्दैनन्। तर उत्पादन हुन्छ शून्य। अलिक च्याप्यो भने खोला जति सबै झोलामा छन् भनेर उम्किने मन्त्रालयलाई पहिले जलश्रोत भनिन्थ्यो। अहिले त्यसलाई उर्जा मन्त्रालय भनिन्छ। त्यस्तो उर्जा मन्त्रालय जोसँग पानीबाट उत्पादन हुने उर्जा मात्र छ। सौर्य, वायु, वायो जस्ता उर्जा हेर्ने मन्त्रालय अलग्गै छ। जलश्रोतलाई फुटाएर एउटा सिञ्चाई मन्त्रालय र अर्को पानीविजुली मन्त्रालय किन बनाइएको हो अहिलेसम्म कसैलाई थाहा छैन।

नेपालमा धेरै लगानीकर्ता छन् र उनीहरुसँग टन्न पैसा छ भन्ने दावी म गर्न सक्दिन। तर कुन कुरामा विश्वस्त छु भने, सरकार साझेदार भएमा अथवा सकारात्मक मात्र भएमा पनि नेपालको नवनिर्माणमा लाग्ने व्यवसायीको अभाव चाहिं छैन। सरकारले नेपालको प्राथमिकता किटान गरोस्। आह्वान गरोस्। राष्ट्रिय पूँजीवादका पक्षधर लगानीकर्ता चाहिएजति जुटाउन सकिन्छ।

विदेश नेपालको विकास चाहँदैन। यसका दर्जनौं उदाहरण हाम्रा सामू छन्। भारतले बनाइदिने भनिएको राप्ती नौमुरे आयोजना थालनी नहुँदै भत्किएर गयो। नेकपा (एमाले) फुटाउने महाकाली सन्धी उन्नाइसौं वर्षमा रमाएर सुतिरहेको छ। लगानी बोर्ड गठन भएर होहल्लाका साथ शुरु भएको भनिएको जिएमआरको कर्णाली र शतलजको अरुणले पनि म्याद थप्ने निवेदन पठाइसकेको छ। म्याद थप्ने यो पहिलो अनुरोध हो। यस्ता अनुरोधहरु पन्ध्र वर्षसम्म निरन्तर आइरहन्छन् भन्ने कुराको पुष्टी पश्चिम सेती आयोजनाले गरिकेको छ।

विकास गर्ने हो भने हामीले आफ्ना नेपाली पूँजीपति, उद्यमी र व्यवसायीहरु माथि भर पर्नुपर्छ। उनीहरु नेपालबासी नेपाली हुन सक्छन्। उनीहरु गैरआवासीय नेपाली पनि हुन सक्छन्। अहिले विकासको वाधक विद्युतको अनुलव्धता भएको छ। यो क्षेत्रमा राज्यले सहकार्य मात्रै गर्दा पनि पुग्छ। त्यो सहकार्य भनेको पूर्वपश्चिम उत्तरदक्षिण चारैतिर आवश्यकता अनुसारको विद्युत प्रसारण निर्माण गर्ने नै हो। नेपालीहरु कुनै बेला पाँच मेगावाट उत्पादन गर्न के हो के हो भन्थे। अहिले उनीहरु सय मेगावाट उत्पादन गर्नसक्ने क्षमतामा उभिएका छन्। 

विदेशको मुख ताक्नु भनेको मुलुकलाई झन झन तल झार्नु हो। जति तल झर्नु थियो नेपाल त्यति तल झरी सक्यो। अब उक्लिनुको विकल्प छैन। यो उकालो लाग्ने काममा नीति निर्धारण गर्ने नेताहरुको ध्यान पुगोस्। गर्नेले सपना देख्छ र नगर्नेले गुनासो गर्छ। गुनासो बन्द गरौं। काम गर्ने वातावरण बनाऔं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.