|
फाइल तस्बिर

गोरखा : केन्द्र विवाद चुलिँदै गएपछि भीमसेन गाउँपालिकाको एक वडा अध्यक्षले गाउँपालिका कार्यालयमा ताला लगाएका छन्। संघर्ष समितिका संयोजक रहेका वडा नं. ५ का वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको टोलीले कार्यालयमा सोमबार ताला लगाएका हुन्।

गाउँपालिकाको केन्द्र रहेको बगुवाबाट वडा नं. १ घ्याम्पेशालमा सार्ने निर्णय गरेपछि विवाद  बढेको हो। विवादकै क्रममा यसअघि पनि लामो समयसम्म कार्यालयमा ताला लागेपछि जिल्ला प्रशासनमा बसेको गत माघ ७ मा बैठकले तीनबुँदे समझदारी गरी आठ गतेबाट ताला खोल्ने निर्णय गरेको थियो।

यसअघि गाउँपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वन नभएकाले ताला लगाउन बाध्य भएको वडा अध्यक्ष श्रेष्ठले बताए। ‘हामीले ताला त खोल्यौं, तर कार्यालय सञ्चालन गर्न प्रमुख, उपप्रमुख कार्यकारी कोहि आउनुभएन,’ उनले भने, ‘माघको पहिलो साता तीनबुँदे पत्रमा समझदारी भएको कुरा त पालना हुनु पर्‍यो नि।’

प्रशासन कार्यालयमा बैठकको दोस्रो बुँदामा अदालतबाट कुनै आदेश नआए फागुन २ बाट नेपाल सरकारले गरेको निर्णयअनुसार मसेलस्थित, घ्याम्पेशालमा कार्यालय सञ्चालन गर्ने भन्ने उल्लेख थियो।

अर्काे बुँदामा यो बीचमा जिल्ला स्तरका राजनीतिक पार्टीका प्रमुखहरूको समन्वय बैठक गरी विवाद समाधानको बाटो खोज्ने भन्ने उल्लेख भएपनि यो बीचमा बैठक बस्न सकेन ।

यी तीन निर्णयमध्ये कुनै पनि कार्यान्वयन नभएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ। तर, गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले भने माघ आठ गतेदेखि नै कार्यालय सञ्चालन भएको दाबी गरेका छन्। ‘सार्वजानिक बिदाबाहेक हरेक दिन कार्यालय खुलिरहेको छ’ पाण्डेले भने ‘तर संघर्षसमितिका केही व्यक्तिहरूले कार्यकारी ओम सुवेदीलाई कार्यालय सञ्चालन गरे जे पनि हुनसक्ने धक्की दिएका रहेछन्।’

उनले वडा अध्यक्ष जत्तिको जिम्मेवार व्यक्तिले नै कार्यालयमा ताला लगाउनु गैरजिम्मेवार काम भएको बताए।

गत कात्तिक १९ को गाउँपालिकाको बैठकको बहुमतले साविकको केन्द्र बगुवाबाट घ्याम्पेशाल सार्ने निर्णय भएको थियो। सो निर्णय अनुमोदन गर्दै सरकारले राजपत्रमा समेत प्रकाशित गरेको थियो। तर, संघर्ष समितिले बगुवामा नै केन्द्र हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.