|

काठमाडौं : नेपाल, भारतलगायत विश्वभरका हिन्दु धर्मावलम्बी मंगलबार महाशिवरात्रि मनाउँदैछन्। पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति लिई प्रकाशित पात्रोहरूमा मंगलबार राति १०:५० सम्म त्रयोदशी रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख छ। बुधबार राति १२:४४ सम्म चतुर्दशी तिथि रहन्छ। त्यसैले बुधबार नभई किन मंगलबार नै शिवरात्रि मनाइयो ?

‘शिवरात्रि त्रयोदशीयुक्त चतुर्दशीमा मनाउने विधान छ, औँसीयुक्त चतुर्दशीमा होइन’, पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले भने, ‘त्यसैकारण त्रयोदशीको दिन नै महाशिवरात्रि मनाइएको हो।’ उनका अनुसार धर्मशास्त्रमा शिवको प्रादुर्भाव मध्यरातमा भएको हो। यही मान्यताअनुसार मंगलबार मध्यरातमा चतुर्दशी पर्ने हुनाले महाशिवरात्रि मनाउन लागिएको हो।

तिथि टुट्दैन भन्ने मान्यता बोकेका वैदिक धर्मका अनुयायीले भने बुधबार नै महाशिवरात्रि मनाउनुपर्ने बताएका छन्। वैदिक पात्रो निर्माता तथा मीमांसाशास्त्रका विद्वान् प्रमोदवर्धन कौण्डिन्न्यायन भने तिथि नै नलागी महाशिवराात्रि मनाउनु उचित नहुने बताउँछन्। 'वैदिक कालगणनाका हिसाबले बुधबार चतुर्दशी तिथि हो नै', कौण्डिन्न्यायनले भने, 'लौकिक तिथि पनि राति पौने एकसम्म रहने भएकाले सोही दिन महाशिवरात्रि व्रत गर्नुपर्छ।’

गौतमले भने पञ्चाङ्ग निर्माण गर्दा नै धर्मशास्त्र र ज्योतिषशास्त्रका धेरै विद्वान् मिलेर निर्णय गरिएकाले यो विषयमा अन्योलमा रहन नहुने बताए।'एउटा शास्त्रकाे अाधारमा मात्र निर्णय गरिएको होइन', उनले भने, 'त्यसैले लहडका भरमा विरोध गर्नु उपयुक्त होइन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.