|

काठमाडौं : भगवान शिवको विशेष पूजा आरधनासहित आज शिवरात्रि मनाइँदै छ। यस्तो बेलामा शिवका भक्तहरूले भगवान शिवको प्रसाद भन्दै गाँजा, भाङ खाने गर्दछन्।

कानुनले गाँजा सेवनलाई अवैध माने पनि आजको दिन भगवान शिवको प्रसादको रूपमा गाँजा सेवन गर्ने चलन छ। यसले गर्दा साधु सन्तदेखि सर्वसाधारणसम्मले शिवरात्रिमा गाँजा,भाङ सेवन गर्ने गरेका छन्।

तर गाँजा, भाङ जस्ता नशालु पदार्थलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन। गाँजा, भाङमा ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइड हुने गर्दछन्। गाँजा सेवन गर्दा यस्ता रसायनहरू हाम्रो मस्तिष्कमा पुग्ने हुँदा यसले हाम्रो शरीरलाई नै असर पुर्‍याउने गर्छ। गाँजा सेवन गर्ने कोही हासेको हास्यै गर्छन् भने कोही रोएको रोयै। चिकित्सकीय भाषामा यसलाई युफोरिया भन्ने गरिन्छ।

नियमित गाँजा खानेको शरीर लठ्ठ हुने गर्छ भने कहिलेकाहीँ मात्र गाँजा खानेलाई विना कारण नै रमाइलो लाग्ने हुँदा मानिसहरू हासिरहने गर्छन्। तर धेरै गाँजा सेवन गर्नेहरूलाई अत्यधिक वान्ता हुने, टाउको दुख्ने हुने हुँदा मानिसलाई नराम्रो असरसमेत गर्ने गर्छ।

 यस्तै, गाँजामा हुने क्यानाबिनोइडले निद्रा, भोक, प्यासमा पनि असर गर्ने हुँदा गाँजा सेवनपश्चात मानिसलाई निद्रा लाग्ने, कसैकसैलाई अत्यधिक भोक लाग्ने गर्छ।

गाँजाको प्रभाव प्राय: गाँजा सेवन गरेको ३ मिनेटदेखि सुरु हुने गर्छ भने गाँजा सेवन गरेको ३० मिनेटभित्र यसको प्रभाव चरम विन्दुमा पुग्ने गर्छ। यही बेलामा मानिस हासिरहने, शरीर लठ्ठ हुने गर्दछ। तर गाँजाको प्रभाव सबै मानिसमा एकै समयमा हुन्छ भन्ने हुँदैन, मानिसको शारीरिक अवस्थाका कारण यसको प्रभाव फरक फरक समयमा हुने गर्दछ।

यसबाहेक गाँजा सेवनले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने हुँदा हृदयाघातसम्म गराउन सक्छ।

तर गाँजामा हुने क्यानाबिनोइड तत्त्वलाई चिकित्सकहरूले औषधि उपचारका रूपमा पनि प्रयोग गर्ने गर्दछन्। विशेषगरी क्यान्सरका बिरामीहरूलाई गाँजामा हुने क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि दिने गरिन्छ। क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामीहरूलाई यस्तो औषधि प्रयोग गर्दा उनीहरूको शरीर लठ्ठ पर्ने हुँदा क्यान्सरका कारण हुने दुखाइलाई कम गर्न यस्तो औषधि प्रयोग गर्ने गरिन्छ।

क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि प्रयोग गर्नाले खुसी अनुभव गराउने, आनन्द महसुस गराउने, तनाव घटाउने, निद्रा लगाउने, भोक लगाउने हुँदा यस्तो औषधि बिरामीलाई दिने गरिन्छ।

गाउँघरतिर अझै पनि चौपाया पशुहरूलाई अजीर्ण भएमा वा कोही मानिसलाई खानाका कारण पेटमा समस्या देखिएमा पनि गाँजा खुवाउने गरिन्छ। वि. सं. २०३३ सम्म नेपालमा गाँजा अवैध मानिँदैनथ्यो।

(शिक्षण अस्पतालमा कार्यरत मस्तिष्क रोग विशेषज्ञ डा. मोहन शर्मासँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.