|

बुटवल : मंगलबार प्रदेश ५ को सभामुख चुन्नका लागि मनोनयन दर्ता हुँदै छ। संसद् सचिवालयले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ।

संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ र बुधबार निर्वाचन हुनेछ।

सभामुख पदमा भने निर्विरोध निर्वाचित हुने संकेत देखिएको छ। रुकुमपूर्वबाट निर्वाचित पूर्णबहादुर घर्ती मगरलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको छ।

उनलाई वाम गठबन्धनको अर्को शक्ति एमालेको समर्थन छ। संसदमा वाम गठबन्धनको आरामदायी बहुमत छ। यस प्रदेशका ८७ सांसदमध्ये गठबन्धनसँग ४१ सांसद् छन्। संसद्को तेस्रो शक्ति कांग्रेस र अरू दलहरूले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन्।

कांग्रेस सांसद् वीरबहादुर रानाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए। ‘हाम्रो संसदीय दलको बैठक पनि बसेको छैन र यसबारे कुनै टुंगो लागेको छैन’, उनले भने।

यसरी निर्वाचित हुन्छन् सभामुख

संविधानको धारा १८२ (१) बमोजिम संसद्ले निर्वाचनको मिति तोकेको छ। सोहीअनुसार संसद् सचिवालयले मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकेको छ।

सभामुखका उम्मेदवार घर्तीले माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्नेछन्।

दर्ता भएको उम्मेदवारीमाथि बुधबार बस्ने संसद बैठकमा प्रस्तावकले प्रस्ताव गर्नेेछन् र प्रस्तावमाथि समर्थकले समर्थन जनाउनेछन्। संसदमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीलाई बहुमत सदस्यको समर्थन रहेकाले सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन्। सभामुखमा अर्को दलले उम्मेदवारी दिने संकेत नभएकाले ध्वनि मत वा मत विभाजन गर्नुपर्ने छैन।

सभामुखमा निर्वाचित भएसँगै प्रदेश प्रमुख उमाकान्त झाले बुधबार बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालय दरबारमार्ग लाइनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। ‘सभामुखज्यूको शपथको कार्यक्रम तय भएको छ, प्रदेश प्रमुखको कार्यालयमा २ गते बेलुका ५ बजे हुनेछ', प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले भने।

फागुन २ मा मुख्यमन्त्री नियुक्तिको तयारी

प्रदेश ५ मा प्रदेश प्रमुखले फागुन २ गते मुख्यमन्त्रीको नियुक्ति गर्ने तयारी गरेका छन्। ३ गते मुख्यमन्त्रीको शपथका लागि नेपाली सेनालाई तयारीका लागि खटाइसकिएको छ। नेपाली सेनाको टोलीले सडक डिभिजनको कम्पाउण्डमा मुख्यमन्त्रीको शपथका लागि व्यवस्थापन गरिरहेको छ।  

वाम गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति २ गते गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेका छन्। ‘हामीले २ गते नियुक्ति गर्न अनुरोध गरेका छौँ', एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने, 'उहाँबाट सकारात्मक संकेत आएको छ।’ तर प्रदेश प्रमुखको कार्यालयले मिति तोकिसकेको छैन। ‘हामी छलफलमै छौँ, उपयुक्त समयमै नियुक्ति र शपथ हुन्छ’, दवाडीले भने। 

दलले टुंग्याएनन् शपथमा जाने मन्त्री

मुख्यमन्त्रीसहित अरू २ जनाको शपथ ३ गते हुने तयारी छ। तर वाम गठबन्धनले मुख्यमन्त्रीसहित शपथ लिने मन्त्रीको नाम टुंगो लगाएका छैनन्। ‘हामी छलफलमै छौँ', एमाले नेता भानुभक्त ढकालले भने, 'शपथमा जानुअघिसम्म टुंगिन्छ।’

एमालेबाट वैजनाथ चौधरीले शपथ लिने चर्चा भए पनि पार्टीले टुंगो लगाएको छैन। माओवादीले भने संसदीय दलको नेता र उपनेतालाई सल्लाह गरेर शपथमा सहभागी हुन भनेको छ। ‘दलको नेता कुलप्रसादजी र उपनेता कृष्णध्वजजीलाई तपाईंहरू सल्लाह गर्नुस् भनेका छौँ, उहाँ दुई जनामध्ये एक जना जानुहुन्छ’, उनले भने।

कुलप्रसाद केसी दलको नेता भएकाले मन्त्री बन्न नहुने दबाब पनि आएकाले कृष्णध्वज खड्कालाई मन्त्री बनाउन लविङ छ। ‘संसदीय दलको नेता कि त मुख्यमन्त्री बन्न सक्नुपर्थ्यो या मन्त्री नै नभई सम्माननीय भएर बस्नुपर्ने हो, तर उहाँले धेरै नै इच्छा गर्नुभएको देखिन्छ’, एक माओवादी सांसद्ले भने, 'यस्तो अवस्थामा दलको नेता छाडेर मन्त्री बनेको राम्रो देखिन्थ्यो।’ 

उपसभामुखको उम्मेदवार तोक्न ढिलाइ

भागवण्डामा एमालेको भागमा परेको उपसभामुखको उम्मेदवार एमालेले तोक्न सकेको छैन। २ गते सभामुखको निर्वाचन भएसँगै उपसभामुखको निर्वाचन तय हुने छ, जसका लागि एमालेले उम्मेदवार तयार पारेको छैन।

एमालेमा मुख्यमन्त्री दाङबाट भएकाले उपसभामुख बाँके, बर्दिया वा लुम्बिनी क्षेत्रबाट राख्नुपर्ने दबाब छ। माओवादी केन्द्रले रुकुमका पूर्णबहादुर घर्तीलाई सभामुख बनाएपछि एमालेमा समावेशी र भौगोलिक क्षेत्र समेट्नुपर्ने माग पनि सांसद्हरूको छ।

‘अहिलेसम्मका राम्रा पद एमालेले लुम्बिनी क्षेत्रलाई दिएको छैन', एक जना एमाले सांसद्ले भने, 'उपसभामुख र मन्त्रीहरू चुन्दा यो क्षेत्रबाट पनि समेट्नुपर्नेछ, बाँके र बर्दियालाई पनि टाढाको ठान्नुहुनेछैन, यो चुनौती देखिएको छ।’

एमालेले अब उपसभामुख पदमा महिला लग्नुपर्नेछ। संविधानको धारा १८२ को उपधारा २ ले सभामुख र उपसभामुखको निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्ने उल्लेख गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.