|

गोरखा : जिल्लाको चुमनुब्री गाउँपालिका चुम्चेतकी कुन्साङ डिकीको हत्या अभियोगमा थुनामा रहेका अभियुक्तहरूले गाउँका ५ जनालाई नै ज्यान मार्ने धम्की दिएका छन्। अभियुक्तहरूले चुम्चेत र छेकम्पारका ५ जनालाई ज्यान मार्ने धम्की दिएका हुन्।

एक साताअघि जिल्ला अदालत गोरखामा साक्षी बक्न आएका गाउँलेहरूमार्फत छ्योटक लामा नामका अभियुक्तले ५ जनालाई सफायाको धम्की दिएका स्थानीयले बताएका छन्।

‘जिल्ला अदालतमा साक्षी बक्न गाउँबाट आएको बेला गाउँलेहरूमार्फत अझै ५ जनालाई सिध्याउनु छ भनेछन्’, वडा अध्यक्ष लोप्साङ लामाले भने, ‘उनीहरूलाई पक्राउ गर्न हामीले सहयोग गरेको भनेर हामीलाई नै मार्ने धम्की दिएका रहेछन्।’

अभियुक्तहरूले साविक चुम्चेत गाविसका पूर्व अध्यक्ष गोपाल लामा र आफ्नो नाम खुलाउने अरू ३ जनाको भने नाम नतोकेका लोप्साङले बताए। 

अदालतमा आरोपीहरूले तिब्बती भाषामा बोलेर धम्की दिएकाले त्यहाँ रहेका अरू कसैले नबुझेको उनले बताए। उत्तरी गोरखाका अधिकांश गाउँमा तिब्बती भाषा बोलिन्छ। 

यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका उनीहरूबाट ज्यान मार्ने धम्की आएपछि चुम्चेत र छेकम्पार गाउँका स्थानीयहरू त्रासमा रहेको छेकम्पारका निमा लामाले बताए।

‘गाउँ आउजाउ गरिरहनुपर्छ’, लामाले भने, ‘गाउँ र बजार गर्नका लागि ३–४ दिन पैदल हिँड्नुपर्छ। बाटोमा केही भइहाल्यो भने के गर्ने, गाउँले डराएका छन्।’ लामाका अनुसार कारागारको फोनबाट गाउँमा फोन गरेर उनीहरूले स्थानीयलाई धम्क्याइरहेका छन्। कारागारबाट फोन गरी उनीहरूले तिब्बती भाषामै धम्क्याउने गरेको उनी बताउँछन्। 

चुम्चेतकी २६ वर्षकी कुन्साङ डिकीलाई घाँटी  रेटेर हत्या गरेको आरोपमा स्थानीयवासीले स्थानीय तान्जेन लामा, छ्योटक लामा, छेवाङ रिञ्जिन, सोनाम ग्याल्जेन र सोनाम ग्याल्जेनलाई पक्राउ गरी प्रहरी समक्ष बुझाएका थिए। 

उनीहरूलाई जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गरिरहेको छ। थुनामा रहेका ५ जनामध्ये छ्योटकले ४ लाख रुपैयाँमा पेस्तोल किन्नका लागि १ लाख रुपैयाँ पेस्की बुझाइसकेको स्थानीयवासीले जानकारी दिएका छन्। चुम्चेतमा प्रहरी चौकीको दरबन्दी भए पनि चौकी स्थापना भएको छैन। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले प्रहरीको तर्फबाट गर्ने अनुसन्धान गरी उनीहरूलाई जेल चलान गरेको बताए। ‘प्रहरीले गर्ने सम्पूर्ण अनुसन्धान गरेर उनीहरूलाई जेल चलान गरिएको हो’, उनले भने, ‘अहिले अदालतले प्रमाणहरूको अनुसन्धान गरिरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.