|

काठमाडौं : प्रतिनिधिसभा समानुपातिकतर्फ ६-६ सिट पाएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम, नेपालले निर्वाचन आयोगमा पठाएको उम्मेदवारको बन्दसूची तलमाथि गरेर सिफारिस गरेपछि पुनः सच्याउने भएका छन्।

राजपा नेपालले खस\आर्यको महिलातर्फ पहिलो नम्बरमा रहेकी नरमाया ढकालको नाम सोमबार निर्वाचन आयोगमा बुझाउँदा हटाएर दोस्रो नम्बरकी निर्जला राउत र तेस्रो नम्बरकी रेणुकुमारी शर्माको नाम मात्र सिफारिस गरेको थियो। ‘नरामाया ढकालले बस्न अस्वीकार गरेकोले हामीले सिफारिस गरेनौं’, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले थाहाखबरसँग भने, ‘तर निर्वाचन आयोगले १ नम्वरको नाम हटाउन मिल्दैन भनिसक्यो, अब हामीले सच्याउनै पर्‍यो नि।’

अध्यक्ष मण्डलका सदस्यहरुले नरमाया ढकाल पार्टीमा योगदान नदिएको र नचिनिएको नाम भन्दै आपत्ति जनाएपछि राजपाले उनको नाम नराखी रेणुकुमारी शर्माको नाम सिफारिस गरेको थियो।

जनजातिबाट भने राजपाले रानी मण्डल र अमृता अग्रहरीलाई, मधेशीबाट चन्दा चौधरीलाई र दलितबाट दुलारीदेवी खंगलाई सिफारिस गरेको थियो। राजपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ न्युन सख्यामा मात्रै महिला उम्मेदवार जिताउन सकेकोले समानुपातिकतर्फको सबै ६ सिटमा महिलालाई मात्र सिफारिस गर्नुपरेको हो। 

संघीय समाजवादी फोरमले पनि खस-आर्यबाट एक जना सरिता गिरीको मात्र नाम सिफारिस गरेर बन्दसूचिमा क्लस्टर मिलाएको छैन्। दलले समानुपातिकमा पाएको जम्मा मतको आधारमा ३१ प्रतिशत खस-आर्य र २८ प्रतिशत मात्र आदिवासी-जनजाति क्लस्टरका उम्मेदवारलाई छनोट गर्नुपर्छ । उसले आदिवासी÷जनजातिबाट भने पार्टी उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र रणु गुरुङलाई सिफारिस गरेको थियो।

निर्वाचन आयोगले फोरमलाई १ पुरुष र ५ महिलासहित क्लस्टर मिलाएर उम्मेदवार छनोट गर्न फोरमलाई भनेको छ। निर्वाचन आयोगमा फोरमले सोमबार बुझाएको सिफारिसमा मधेशी, दलित र मुश्लिमबाट भने १\१ महिलाको नाम सिफारिस गरेको छ।

क्लस्टर मिलाउन फोरमले खस आर्यबाट पुरुषतर्फ परशुराम बस्नेतलाई राखेमा राजेन्द्र श्रेष्ठको नाम हटाउनु पर्ने देखिन्छ भने रणु गुरुङको नाम हटाएमा खस-आर्य महिलाबाट लीला सिटौलालाई सिफारिस गर्नु पर्ने हुन्छ। निर्वाचन आयोगले राजनीतिक दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारहरुको नाम क्लस्टर बमोजिम सिफारिस नगरेको भए बुधबारसम्म सच्याउने मौका दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.