समाज : मिडिया

रेडियो दिवस : श्रोता घटे पनि घटेन महत्व
SHARES

फागुन १, २०७४

    चितवन : सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने श्रोता घटेपनि अझै रेडियोको महत्व भने घटेको छैन। नेपालमा रेडियो स्थापना भएको ६ दशक नाघिसकेको छ। सुरु सुरुमा सूचना र प्रविधिको विकास राम्ररी भैसकेको थिएन। तसर्थ उसबेला रेडियोको महत्व ठूलो थियो। अहिले पनि महत्वका हिसाबले एफएम रेडियो निकै अगाडि नै रहेको बताउँछन् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शितल महतो।

    अनलाइन, पत्रिकाको आफ्नै पाठक र टेलिभिजनको आफ्नै दर्शक, श्रोता भए पनि रेडियोका छुट्टै श्रोता रहेको उनले औँल्याए। ‘सहज पहुँचका हिसाबले पनि सर्वसाधारणको भरपर्दा सूचनाको साधन अझै रेडियो नै हो,’ सचिव महतोले भने।

    चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएमका स्टेशन म्यानेजर अमर प्रधान रेडियोका श्रोता घटेको भएपनि महत्व अझै कायम रहेको बताउँछन्।

    अझै पनि सस्तो, सहज र सरल सूचना प्राप्त गर्ने माध्यामको रुपमा रेडियो पहिलो नै भएको उनको दाबी छ।

    विगतमा सूचना प्राप्त गर्न रेडियो नेपाल, बीबीसी, अल इन्डिया रेडियो सबैका सामु लोकप्रिय थिए। तर पछिल्लो समया एफएम रेडियोको विकास र विस्तार भएपछि भने सर्वसाधारणमा सूचनाको पहुँच ह्वात्तै बढ्यो। त्यसपछि रेडियो नेपाल भन्दा एफएम रेडियो सर्वसाधारणको सहज सूचनाको माध्यम बन्न पुग्यो।

    पछिल्ला समयमा भने मोबाइलमै विश्वका सबै सूचना आउने अवस्था आएकाले रेडियोका श्रोता भने घट्दो क्रममा नै छन्। अनलाइनमाध्यम अहिले प्रभावकारी बन्दै आएको छ।

    तर पनि सबै पत्रिका, अनलाइन माध्याम गाउँको पहुँचमा पुगेका छैनन्। पुगेपनि खर्चिलो छ। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा सहरबजारमा रेडियो सुन्ने श्रोता घटेपनि अझै गाउँमा सूचनाको माध्यम रेडियो नै भएको बताउँछन्। उनका अनुसार चितवनमा १४ वटा रेडियो छ। केही रेडियो खुल्ने क्रममा छन्। त्यसमा आधा जस्तो सामुदायिक रेडियो छन्। अहिले मुख्यगरी जिल्लामा सिनर्जी र कालिकासहित त्रिवेणी एफएम, हाम्रो एफएम, रेडियो चितवन, अर्पण, ग्रेट एफएम, रिलेशन एफएम, रेडियो नारायणी, माडी एफएम, ड्रिम्स एफएम लगायत रेडियो सञ्चालनमा छ।

    चितवनको इतिहासमा २०५८ साल कार्तिक २६ गते पहिलो रेडियो सिनर्जी एफएम खुल्यो। त्यसपछि अर्को वर्ष कालिका एफएम सञ्चालनमा आयो। त्यसपछि क्रमैसँग रेडियो खुल्ने क्रम सुरु भएको हो। सिनर्जी एफएम राजधानी बाहिर कै छैठौं हो भने नेपालका १४ औं रेडियोको रुपमा स्थापना गरिएको बताउँछन् स्टेशन म्यानेजर प्रधान।

    त्यतिखेरको सूचनाको महत्वपूर्ण माध्यम रेडियो थियो। लोकतन्त्र स्थापनामा पनि रेडियोको आफ्नै खालको भूमिका रहेको सम्झन्छन् प्रधान। पछिल्ला समयमा वडा-वडा, टोल-टोलमा रेडियो खुल्ने चलनले अस्वस्थ्य प्रतिष्पर्धा निम्त्याएको अनुभव छ उनको।

    प्रविधिकै कारण रेडियोको आकर्षण केही घटेको भएपनि पहुँचमा भने अझै पहिलो नम्बरमै भएको दावी उनको छ। तर, पछिल्ला समयमा रेडियो जथाभावी खुल्ने क्रम रहयो। कार्यक्रमहरूको गुणस्तरमा ध्यान नदिँदा रेडियोप्रति वितृष्णा छ।  रेडियोले स्थानीय मुद्दा उठाउन नसकेको पत्रकार महासंघ चितवनका अध्यक्ष खतिवडाको अनुभव छ।

    यस्तै, राजधानीका रेडियो सञ्जालका कार्यक्रमहरू बजाउने, काठमाडौबाटै उत्पादित कार्यक्रम र समाचारहरू प्रस्तुत गर्ने गर्दा रेडियोको स्थानीयतामा प्रश्न उब्जेको छ। समुदायका लागि भनेर खोलिएका सामुदायिक रेडियो व्यवसायिक रेडियो झै स्थानीयलाई छाडेर राष्ट्रिय कार्यक्रमहरूमा ध्यान दिने गरेका छन्।

    २०६५ साल चैत १९ मा स्थापना भएको रेडियो त्रिवेणीका स्टेशन म्यानेजर अर्जुन अधिकारी गाउँ क्षेत्रमा रेडियोका श्रोता बढेको र शहरमा घटेको बताउँछन्। रेडियो प्रत्यक्ष जनतासँग जोडिएकाले महत्व भने अझै रहेको उनको भनाई छ। ‘कार्यक्रमहरू जुधाउँने गर्दा रेडियोको आफ्नो पहिचान के त, कसैको छैन, एउटाले कार्यक्रम गर्यो अर्कोले त्यस्तै कार्यक्रम ल्याउँछ', अधिकारीले भने, 'कार्यक्रमहरू समेत काठमाडौमुखी छन्।’ दक्ष जनशक्ति अभावले गुणस्तरीयता कमजोर रहेको उनको टिप्पणी छ।

    अझै भाषाशैली, स्थानीय भाषा तथा शुद्ध उच्चारणमा समेत रेडियोमा ठूलो समस्या रहेको पाइन्छ। नयाँ पुस्ताले रेडियो धान्नुपर्ने अवस्था आएकाले पनि गुणस्तरमा कमजोर भएको बताउँछन् अध्यक्ष खतिवडा।

    आफूहरूले रेडियोको गुणस्तरमा कुनै कञ्जुस्याँई नगरेको बताउँछन् पहिलो रेडियो सिनर्जीका स्टेशन म्यानेजर प्रधान। रेडियो त्रिवेणीका स्टेशन म्यानेजर अर्जुन अधिकारी विज्ञापन बजारमा समेत रेडियोको अस्वस्थ्य प्रतिष्पर्धा रहेको औंल्याउँछन्।

    नेपालमा २००३ सालमा रेडियो प्रशारण सुरु भएको थियो। २०५२ सालदेखि भने एफएम रेडियो सुरु भयो। स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले पारित गरेपछि हरेकवर्ष फेब्रुअरी १३ अर्थात् आजको दिनलाई रेडियो दिवसका रुपमा मनाइँदै आएको हो।

नारायण ढुंगाना

पत्रकार ढुंगाना थाहाखबरका चितवन संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]