|

काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालले मंगलबार काठमाडौंमा २३औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो। साँस्कृतिक कार्यक्रमसहित गरेको उक्त कार्यक्रममा माओवादी केन्द्रका सबै नेताको सहभागिता थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ वर्षअघि आजकै दिन सुरु भएको जनयुद्धको वार्षिक उत्सवलाई २३ पाउण्डको केक काटेर मनाए।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई निमन्त्रणा गरिएको भए पनि कोही पनि सहभागी भने भएनन्। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमाले अध्यक्ष ओलीले देशमा समाजिक र आर्थिक परिवर्तनका लागि जनयुद्धले महत्त्वपूर्ण भूमिका खेलेको बताएको जानकारी गराउँदै थिए। उनले जनयुद्ध दिवसकै दिन अर्थात् फागुन १ गते (मंगलबार) नै पार्टी एकताको संकेत पनि गरिरहेका थिए।

कार्यक्रम स्थलमा पनि प्रचण्ड निकै हतारमा देखिन्थे। उनी घरि समय हेर्थे त घरि उद्घोषकलाई कार्यक्रम छिटो सक्न आग्रह गरिरहेका थिए। कार्यक्रममा सहभागी भएको समयमा उनी पटक पटक फोनमा समेत कुरा गरिरहेका थिए।

यसरी सम्झिए प्रचण्डले जनयुद्धको थालनीलाई

माओवादी अध्यक्ष प्रचण्डले आफूहरूले जनयुद्धको थालनी परिवर्तनका लागि गरेको बताए। उनले जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएर देशमा संघीयता, धर्मनिरपेक्षता आएको बताए। उनले भने, ‘हामीले गरेकै जनयुद्धका कारण देशमा अहिलेको परिवर्तन आएको छ।’

२०५२ फागुन १ गते नेपालमा जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ १० वर्षे जनयुद्धको सुरुवात गरेको उनले बताए। ‘नेपाली समाजलाई समाजवाद र साम्यवादको दिशामा अगाडि बढाउने उद्देश्यका साथ विद्रोहको झण्डा उठाएको २३ वर्ष बितेछ’, उनले भने। आफूहरूले २०४६ सालको जनआन्दोलनअघि नै हतियार उठाउने योजना बनाएको भए पनि २०५२ सालबाट मात्र क्रान्ति सुरु गरेको उनको भनाइ थियो।

‘हामीले जनआन्दोलनअघि नै हतियार उठाउने तयारी गरेका थियौँ। तर देशको राजनीतिक परिस्थितिका कारण आन्दोलन सुरु गर्न सकेनौँ’, उनले भने, ‘निरंकुश पञ्चायतका विरुद्ध सम्पूर्ण तागतका साथ सबै राजनीतिक दलहरू आन्दोलनमा थिए। त्यसबेला हतियार उठाएको भए हामीलाई पञ्चायतलाई सहयोग गरेको भन्ने थिए। त्यसैले हतियार उठाएनौँ र जनआन्दोलनलाई सहयोग गर्‍यौँ।’

हतियार जम्मा गरेर पनि आफूहरू द्विविधामा परेको उनले सम्झिए। ‘त्यसबेला म पार्टीको महासचिव थिएँ’, प्रचण्डले भने, ‘हामीले सेनालाई तालिम पनि गराइसकेका थियौँ। केही हतियार पनि जम्मा गरिसकेका थियौँ। निकै दोधारमा परेका थियौँ।’

जनआन्दोलनबाट पञ्चायत ढलेर देशमा बहुदल आए पनि नेपाली जनताका लागि केही गर्न नसक्ने आफूहरूले निष्कर्ष निकालेको प्रचण्डले सुनाए। ‘देशमा बहुदल आए पनि यो केही पनि होइन। जनताका लागि केही पनि गर्न सक्दैन भनेर हामीले भन्यौँ',उनले भने, 'राजतन्त्र र सामन्तवाद कायम नै भएकाले हामीले यसले केही गर्न नसक्ने निष्कर्ष निकालेका थियौँ।’

तर जनतालाई बहुदल आउनु निकै ठूलो परिवर्तन भएको भन्ने भ्रम भएकाले आफूहरूले पनि संसदमा भाग लिएर आफ्ना कुरा जनतामाझ राख्ने योजना बनाएर संसदमा सहभागिता जनाएको उनले बताए। ‘यो हामीले धोका हो त भन्यौँ तर जनतालाई बुझाउनका लागि हाम्रो तागतले सक्ने अवस्था थिएन’, प्रचण्डले भने, ‘केही मान्छेले क्रान्ति गरेर क्रान्ति हुने होइन।'

क्रान्तिका लागि जनता चाहिने, त्यसका लागि जनतालाई बुझाउन आवश्यक हुने हुँदा जनता जहाँ छन्, त्यहीँ बस्नुपर्छ भनेर आफूहरूले संसदमा भाग लिएको उनको भनाइ थियो। क्रान्तिका लागि आफूहरूले समान विचार भएका पार्टीसँग एकताको प्रक्रिया पनि अघि बढाएको उनले बताए। उनले भने, ‘रहर गर्दैमा क्रान्ति हुने होइन। क्रान्ति खेलवाड होइन। केही युवाका जोशले मात्र क्रान्ति हुँदैन भन्ने कुरा मैले बुझेको थिएँ।’

आफू संसदमा सहभागी हुँदा धेरैले पार्टी सकिएको प्रतिक्रिया दिएको उनले बताए। ‘हामी संसदमा जाँदा केही मान्छेहरूले यो पार्टी सकियो भने। हामीले एकता केन्द्र बनाउँदा दक्षिणपन्थीसँग मिलेर पार्टी एकता गर्‍यो पनि भने। हामीले एकता गरेर मात्र क्रान्ति सफल हुन्छ भन्ने सोचेका थियौँ तर केही साथीहरूले यो बुझेनन्', उनले भने, 'त्यो बेलाको स्मरण गराउन चाहन्छु र गर्छु पनि। हामीले ५ वर्ष संसदमा गएर नयाँ जनवादी क्रान्ति जिन्दावाद भनेर नारा लगायौँ।’ 

अध्यक्ष प्रचण्डले जनयुद्ध सुरु गर्दा धेरैले ६ महिना पनि नटिक्ने भनेको सम्झिए। उनले भने, ‘हामीले जनयुद्ध सुरु गर्दा धेरैले भनेका थिए, यो जनयुद्ध ६ महिना पनि टिक्दैन। कतिले त जनयुद्ध गर्ने यी राम्रा युवा पनि मर्ने भए नै भनेका थिए।’ आफूहरूले गरेकै क्रान्तिले देशमा अहिलेको परिवर्तन आएको उनको दाबी थियो।

कम्युनिस्ट एकता आवश्यक

अध्यक्ष प्रचण्डले सिंगो जनता र देशलाई नेतृत्व गरेर मात्र समाजवादको स्वप्न पूरा गर्न सकिने बताए। उनले यसका लागि कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको धारणा राखे। उनले भने, ‘हामीले गरेको जनयुद्धका कारण देशमा संघीयता आयो। यत्रो परिवर्तन भयो। अब समाजवाद आवश्यक छ। यसका लागि कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने आवश्यकता छ।’

एमालेसँगको एकता मंगलबार नै टुंगिने संकेत गर्दै उनले क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई एकतामा आउन आग्रह पनि गरे।

दिवा स्वप्नबाट ब्यूँझनुहोस्

अध्यक्ष प्रचण्डले वैद्य र विप्लवलाई दिवा स्वप्नबाट ब्यूँझन आग्रह गरे। ‘प्रचण्ड काम नलाग्ने भनेर गएका साथीहरूले अहिले बुझ्दै हुनुहुन्छ। धेरै साथीहरू फर्केर पनि आउँदै हुनुहुन्छ। म विप्लव कमरेडलाई स्वप्नबाट ब्यूँझन आग्रह गर्छु', उनले भने, 'अब क्रान्ति त्यसै हुँदैन। धरातलमा आधारित हुनुपर्छ। विज्ञानमा आधारित हुनपर्छ। रहर र लहर क्रान्ति होइन। त्यस्तो हुने हो भने अहिले दुनियाँ अर्कै हुन्थ्यो।’

उनले कम्युनिस्ट एकतामा आउन वैद्य र विप्लवलाई आग्रह गरे। उनले भने, ‘छलफल गरेर शक्तिशाली कम्युनिस्ट केन्द्रमा विप्लव र वैद्यजीसँगै अरू सबैलाई आग्रह गर्छु।’ उनले जनताबाट नभाग्न पनि वैद्य र विप्लवलाई आग्रह गरे। ‘द्वन्द्वात्मक भौतिकवाद के हो भनेर जीवनमा लागू गरेर जनतामाझ जानुपर्छ। मार्क्सवादको चुरो कुरा नै जनता भएको ठाउँमा जानु हो', उनले भने, 'मेरो गुरु भनेर परिचित हुनुभएका कमरेड किरणजीहरू जनतादेखि भाग्न थाल्नुभएको छ अनि लुकेर आफ्ना उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने कुराबाट ब्यूँझन म कमरेडहरूलाई अपिल गर्न चाहन्छु। मेरो यो गम्भीर अपिल हो।’

कम्युनिस्टहरू एक ठाउँमा भएमा नेपालमा समाजवाद र समृद्धि सहजै ल्याउन सकिने प्रचण्डले दाबीसमेत गरे। ‘हामी एक भयौँ भने समृद्धि र समाजवाद ल्याउन सहजै सक्छौँ। तर यसलाई भत्काउन अन्तर्राष्ट्रिय साम्राज्यवादीहरू लागेका छन्। तपाईंहरू साम्राज्यवादीको पक्षमा कि जनताको पक्षमा, त्यो तपाईंहरूको व्यवहारले देखाउँछ’, अध्यक्ष प्रचण्डले भने, ‘तपाईं यो महान् अभियानमा सहभागी हुनुहुन्छ भने जनताको पक्षमा हो, होइन भने साम्राज्यवादको पक्षमा हो।’

थप फोटो हेर्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.