|

चितवन : चिउरी फूल्ने मौसम भएकाले चितवनका मौरीपालक किसान मौरी चराउन पहाड लागेका छन्। मुख्यगरी मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन्। चिउरीको फूल खेल्ने वेला भएकाले उनीहरु चिउरी खोज्दै गाउँ पुगेका हुन्।

चितवनको शक्तिखोर सिद्धी क्षेत्रमा मात्रै एकसय बढी किसान अहिले मौरी चराउन पुगेको चितवनका मौरिपालक किसान  शिवप्रसाद पौडेलले बताए। उनी आफ्नो ११० घार मौरीका साथ चितवनको विकट क्षेत्र सिद्धी पुगेका हुन्।

सिद्धि, शक्तिखोरलगायत चितवनको पहाडी क्षेत्रमा अहिले ढकमक्क चिउरी पूmलेको छ। स्वास्थ्यका लागि पनि चिउरीको मह लाभदायक हुने भएकाले महको माग बढ्दो हुन्छ।

उनीसँगै रोशन पण्डित, श्याम गुरुङ, प्रह्लाद अर्याल, नगेन्द्र थापा, गीता देवकोटा, लक्ष्मीनारायण मानन्धर, पदम अम्गाई, बालकृष्ण चापागाई, सोमलाल चौधरी, मदन मोक्तान, अशोक थपलिया पनि अहिले मौरी चराउन घार लिएर पहाडी क्षेत्र पुगेका छन्।

अहिले चिउरीको मह निकाल्ने र बेच्ने क्रम चलिरहेको किसान शिव पौडेलले बताए। उनले मात्रै यो वर्ष २० क्विन्टल मह निकालिसकेको बताए। ‘अझै ५, ६ क्विन्टल मह आउँछ कि भन्ने लाग्या छ, अहिले चिउरीको सिजन भएकाले मौरीका घार सबै पहाडमा पुगेका छन्,’ पौडेलले भने।

नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पण्डितको १०० घार मौरी पनि अहिले सिद्धिमै छ। यसपालि उत्पादन राम्रो रहेको हुने पण्डित बजार भने समस्या भएको बताउँछन्।

भारतीय मह आउने गरेको र केही नेपाली व्यवासायीहरुले नेपाली लोगो लगाएर भारतको गुणस्तरहीन मह बेच्ने गर्दा शुद्ध नेपाली महको बजार प्रभावित भएको उनी बताउछन्। अर्की किसान गीता देवकोटाको २०० घार मौरी  पनि अहिले पहाडमै पुर्‍याइएको छ।

किसानहरुलाई अहिले मह निकाल्न भ्याइनभ्याई छ। जिल्लामा करिब ४०० जती किसानहरु रहेको अनुमान छ। अहिले महको थोक प्रतिकिलो २८० देखि ३०० र खुद्रा मूल्य रु ५०० को हाराहारीमा रहेको किसानहरुले बताएका छन्।

नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ। व्यवसायिक रुपमा भने मेलिफेराको पालन हुन्छ। चितवन जिल्ला मौरीपालनका हिसाबले पनि अब्बल छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.