|

दमक (झापा) : झापाको गौरादह– ९ बैगुनधुरामा २०५५ सालदेखि चिया खेती विस्तार गरेका दमकका प्रकाश बुढाथोकीले धमाधम बगान मास्दै लगेका छन्। 

३५ विगाहा क्षेत्रफलमा चिया खेती लगाई चिनारी चिया उद्योग संचालन गरेका उनको दुःखेसो छ, ‘उद्योगले किसानको हरियो पत्तीमा लागतअनुसारको समेत मूल्य दिन सकेन।’ चिया खेतीले लगातार घाटा हुन थालेपछि उनले १० विगाहाको बगान मासिसकेका छन्। चिया बगान मासेर माछा पालनका लागि पोखरी बनाइएको उनले बताए। उनले भने, ‘तयारी चियाको बजार मूल्य प्रति किलो १२५ रूपैयाँ हुँदा उद्योगले हाम्रो पत्ती प्रति किलो १८ रूपैयाँमा किन्थे। तर अहिले तयारी चियाको दाम ३५० नाघ्यो, पत्तीको मूल्यचाहिँ घटेर ८ रूपैयाँ भएको छ।’ 

चिनारी चिया उद्योगका प्रवन्ध निर्देशक समेत रहेका बुढाथोकीले उद्योगको शोषणका कारण साना किसानहरू खेतीबाटै विस्थापित हुँदै गएको बताए। 

चियाको पत्ती टिपेको समेत लागत नउठ्ने भएपछि केही वर्ष पत्तै नटिपी छोड्दा जमिनै झाडीमा परिणत भएपछि चिया बगान मासेर माछा पालन थालेको उनको भनाइ छ। बाँकी जमिनको पनि बगान हटाएर वैकल्पिक उद्यम संचालन गर्ने उनले बताए। ‘लाखौँ खर्च गर्दासमेत चियाको स्वादसम्म थाहा नपाई बगान मास्नुपर्ने अवस्था आयो’, उनले भने, ‘चिया किसानले राज्य हुनुको महसुससम्म गर्न पाएका छैनन्, यदि राज्य थियो भने किसानको करोडौँ पूँजी फस्दा किन चुप लाग्थ्यो?’

गौरादहस्थित बैगुनधुराकै चिया कृषक सुरेशबहादुर पौडेलका दाजुभाइले साढे ८ बिगाह जमिनमा चियाको खेती गरे पनि हाल खुरुखुरु मास्ने क्रम सुरु भएको बताए। चिया उद्योगहरूले किसानलाई लागतअनुसारको मूल्य नदिएपछि बाध्य भएर खेती नै छाड्नुपरेको उनको भनाइ छ। हाल चिया प्रशोधन उद्योगहरूले किसानको हरियो पत्तीलाई ८ रुपैयाँ प्रति किलो मात्र मूल्य दिने गरेको साना किसान चिया उत्पादक संघका सदस्यसमेत रहेका पौडेलले गुनासो गरे। 

पत्ती टिप्ने मजदुरलाई नै प्रति किलो ६ रुपैयाँ दिनुपर्छ भने उद्योगसम्मको ढुवानी प्रति किलो २ रुपैयाँले पुग्दैन। पत्तीको मूल्यले खेतीका लागि गरेको लगानीबाहेकको मूल्यसमेत नउठ्ने भएकाले करिब अढाई विगाहा बगान मासेर धान खेती थालिएको र अरूसमेत मास्ने क्रममा रहेको उनले बताए। ‘वर्षौं चिया नटिप्दा अहिले त भएको बगान पनि झाडी भएर पसी नसक्नु भएको छ’, उनले भने, ‘चियाका बोट फाँडेर अहिले दाउराका रूपमा प्रयोग गर्दै छौँ, जमिनचाहिँ अब खेतै बनाएर धान लगाउने हो।’

वस्तुभाउले नखाने, १ पटक लगानी गरेपछि निरन्तर फाइदा लिने आशामा झापाका साना किसानले धान खेती मासेर चिया लगाएका थिए। तर २ दशकसम्म कुर्दासमेत धानको जति पनि फाइदा नभएपछि किसान पुरानै बालीतर्फ फर्किएका हुन्। हुँदा छँदाको धान खेती मासेर चिया बगान लगाएका किसानहरू पुनः धान खेतीमै फर्कन थालेको चिया किसान पौडेलले बताए।  झापाका विभिन्न ग्रामीण क्षेत्रका किसानले समेत लामो समयसम्म फाइदा लिन सकिने आशामा धान तथा अन्य अन्न बाली हुने जमिनमा चिया खेती लगाएका थिए। तर २ दशकसम्म लगातार मिहिनेत गरे पनि लागतसम्म नउठ्ने अवस्था आएपछि उनीहरू पुनः चिया बगान फाँडेर धान खेती लगाउन बाध्य भएका हुन्।

किसानलाई संगठित हुन आह्वान
चिया तथा कफी विकास बोर्डका अनुसार झापामा मात्र १० हजार २९२ हेक्टर जमिनमा चिया खेती गरिएको अनुमान गरिएको छ। यसमध्ये ३ हजार ७०२ हेक्टर जमिनमा साना किसानहरूको चिया बगान रहेको बोर्डले जनाएको छ। 

झापामा मात्र वार्षिक उत्पादनको ३७.५७ प्रतिशत चिया साना किसानले उत्पादन गर्दै आइरहेका छन्।

चिया तथा कफी विकास बोर्डले भने चियाको मूल्य निर्धारणको समस्या बोर्डले मात्र समाधान गर्न नसक्ने जनाएको छ। बोर्डका क्षेत्रीय प्रमुख केन्द्र लिम्बूले साना किसानलाई परेको समस्याको समाधानका लागि किसानहरूबाट पनि संगठित प्रयास हुनुपर्ने जनाएका छन्। ‘समस्या समाधानका लागि किसानहरू पनि संगठिन हुनुपर्‍यो र समाधान पनि खोज्नुपर्‍यो नि!’, उनले भने, ‘समस्या समाधानका विकल्पहरूमा सघाउनका लागि हामी पनि तयार छौँ।’

अर्गानिक र अर्थोडक्समा जोड
झापाका चिया किसानहरू धमाधाम खेतीबाटै विस्थापित भइरहेका बेला झापाकै केही उद्यमीहरूले भने इलाममा खेती विस्तार गरिरहेका छन्। इलाममा माङ्मालुङ् चिया बगान संचालन गरिरहेका दमकका उद्यमी केन्द्रबहादुर प्रसाईं सीटीसी चियामा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न गाह्रो रहेको बताउँछन्। त्यसैले पहाडी क्षेत्रमा खेती विस्तार गरी अर्थोडक्स र अर्गानिक चिया उत्पादनको खाँचो रहेको उनको भनाइ छ। ‘अर्थोडक्स र अर्गानिक चिया उत्पादनका लागि नेपाली भूबनोट र हावापानी उपयुक्त छ’, उनले भने, ‘जुन कुरामा सम्भाव्यता छ, हामीले बल त्यतैतर्फ गर्ने हो नि!’ 

गुणस्तरीय अर्थोडक्स र अर्गानिक चिया उत्पादन गर्ने हो भने विदेश निर्यातमा समस्या नरहेको उनको भनाइ छ। विभिन्न ४ प्रकारका चिया उत्पादन गर्दै आएको उक्त बगानले हाल आफ्नै मात्र पत्ती संकलन, प्रशोधन र तयारी चिया बजारमा ल्याउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.