ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्छन् : एमाले नेता राई

|

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा सरकारले मनोनित गरेका ३ जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरेका गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाइसकेको र नाम अनुमोदन हुने बताए।

मन्त्री बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिस राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने जिकिर गरे। उनले भने,‘यदि प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेका सिफारिस राष्ट्रपतिले अस्वीकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ।’

सरकारले राष्ट्रियसभाका लागि गरेका नामहरुप्रति एमालेले आपत्ती जनाएको थियो। मन्त्री बस्नेतले भने अहिलेको सरकार संविधानले दिएका अधिकार प्रयोग गरिरहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजिनामा दिने उनको भनाइ थियो। प्रधानमन्त्रीको राजिनामाबारे बस्नेतले भने,‘हामी चाँडोभन्दा चाँडो सत्ताबाट बाहिरिन चाहन्छौँ, प्रधानमन्त्रीको राजिनामाको लागि अब धेरै दिन कुर्नुपर्ने छैन।’

ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री : शेरधन राई

नेकपा एमालेका नेता एवम् प्रदेश  १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने दावी गरेका छन्।

राईले एमाले र माओवादी केन्द्रबीचको एकता पनि चाँडै घोषणा हुने बताए।

राईले भने,‘२ पार्टीबीचको एकताबारे अब शंका तथा उपशंका गर्ने कुनै ठाउँ छैन, एकता छिट्टै घोषणा हुन्छ।', उनले थपे, 'हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यू अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ।’

प्रदेश १ का भावी मुख्यमन्त्री समेत रहेका राईले सानो र छरितो मन्त्रिपरिषद् बनाएर सुशासन र समृद्धिका पक्षमा काम गर्ने बताए। उनले प्रदेश १ लाई नमूना प्रदेश बनाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.