|

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा २३औँ जनयुद्ध दिवस मनाइरहँदा माओवादीबाटै फुटेको क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा राष्ट्रियसभागृहमा कार्यक्रम गरिरहेका थिए। माओवादी केन्द्रले पार्टी कार्यालयमा भव्य रूपमा कार्यक्रम गरिरहँदा यी दुई पार्टीले भने सभागृहमा सामान्य रूपमा कार्यक्रम गरेर जनयुद्ध दिवस मनाए।

२३ वर्षअघि आजकै दिन अर्थात् २०५२ फागुन १ गते जनगणतन्त्र स्थापनाका लागि भन्दै माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो। तर जनयुद्ध सकिएपछि यो पार्टी फुटेर ३ वटा बनेको छ। विभिन्न कार्यक्रममा यी पार्टीलाई प्रचण्डले एकतामार्फत मूल पार्टीमा आउन आग्रह गरिरहेका छन् तर मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ले भने प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै कुनै हालतमा एकता हुन नसक्ने बताउँदै आएका छन्।

पछिल्लो समय क्रान्तिकारी माओवादी र नेकपा एकता गर्ने खाकाका साथ अघि बढिरहेका छन्। उनीहरूले जनयुद्ध दिवस पनि संयुक्त रूपमा मनाए। यी पार्टीमा मंगलबारबाट माओवादी केन्द्रको अर्को एक समूह पनि नजिक भएको छ।

एमालेसँगको एकता प्रक्रिया अघि बढेपछि माओवादी केन्द्रसँग असन्तुष्ट बनेका पार्टीका प्रदेश १ इञ्चार्ज गोपाल किराती र कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ आफ्नो पार्टीको वृहत कार्यक्रम हुँदाहुँदै त्यसलाई छाडेर सभागृहमा जनयुद्ध दिवस मनाए। पार्टी एकताको विरोध गर्दै आएका किराती र आहुतिले माओवादी केन्द्रबाट असन्तुष्ट भएर संयुक्त रूपमा भएको कार्यक्रममा सहभागिता जनाएको बताएका छन्।

नेता किरातीले जनयुद्ध नै नलडेकाले जनयुद्ध दिवस मनाउने भन्ने सुनेकाले पेरिसडाँडा नगएको बताए। उनले भने, ‘एमालेका साथीहरू आएर जनयुद्ध दिवस मनाउने भन्ने सुनेँ। जनयुद्ध नै नलडेकाले जनयुद्ध मनाउने भनेको सुनेर अचम्म लाग्यो र म गइनँ।’ आफूहरू मोहन वैद्यले बोलाएका कारण सभागृह गएको बताए। ‘जनयुद्ध हामी सबैको हो। वैद्यजीले पनि लड्नुभयो, विप्लवजीले पनि लड्नुभयो, म उता (पेरिसडाँडा) नजाने सोचमा थिएँ। वैद्यजीले बोलाउनुभयो, यता आएँ।’

माओवादी केन्द्र एमालेमा विलय हुन लागेको उनले दाबी गरे। ‘माओवादीका केही नेताले एकता भन्छन् तर एकता होइन। उहाँहरू एमालेमा गएर विलय हुन लाग्नुभएको हो। उहाँहरू विलय भएपछि माओवादी हामी चलाउँछौँ। हामी पार्टीलाई पुनर्गठन गर्छौं।’

संयुक्त कार्यक्रममा गए पनि आफूहरू वैद्य र विप्लवको पार्टीसँग एकता गर्ने सम्भावना नरहेको किरातीले बताए। ‘विगतमा सँगै जनयुद्ध लडेको हो। जनयुद्ध हाम्रो साझा हो। त्यसैले उहाँहरूसँग मनाएँ। तर उहाँहरूसँग एकता हुने सम्भावना छैन’, उनले भने, ‘वैद्यजीको पार्टी नयाँ जनवादी क्रान्ति भन्छ, हामी समाजवाद भन्छौँ। अनि विप्लवजीचाहिँ सत्ता साझेदारी भन्नुहुन्छ। उहाँको त क्रान्ति हो कि होइन, त्यो पनि थाहा छैन।’ उनले पार्टी एकता र फुट भन्दाभन्दै हैरानी भइसकेकाले अब यो हैरानीमा नलाग्ने उनले बताए। तर आफूहरू दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताए।

उनले एमालेसँगको पार्टी एकताका विषयमा माओवादी केन्द्रभित्र एक पटक पनि छलफल नभएको बताए। उनले भने, ‘माओवादी केन्द्र र एमालेको एकताका विषयमा माओवादी पार्टीभित्र बैठकमा एक पटक पनि औपचारिक छलफल भएको छैन। यसलाई विलय भन्ने कि पार्टी एकता?’

सभागृहमा भएको संयुक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, परी थापा, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, उमा भुजेललगायतले संबोधन गरेका थए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.