|

काठमाडौं : पार्टी एकताबारे निर्णायक छलफल गर्ने भनिएको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

ललितपुरको मानभनवनस्थित एक व्यवसायीको घरमा बसेको बैठकमा दुई नेताले बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बुधबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले नै पार्टी एकताको खाका तयार पार्ने सहमति भएको बताइएको छ।

ओली र प्रचण्डबीच पद बाँडफाँट र पार्टीको नामबारे यसअघि नै सहमति भइसकेको बताइएको छ। सार्वजनिक नगरे पनि एकीकृत पार्टीमा दुवै शीर्ष नेता सहअध्यक्ष बन्ने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। त्यस्तै, एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ।

माओवादी अध्यक्ष प्रचण्डले मंगलबार २३औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टी एकतालाई आजै अन्तिम रूप दिने कोसिस भइरहेको बताएका थिए। त्यसपछि ओली र प्रचण्डबीच छलफल भएको  थियो।

एमाले र माओवादीको पार्टी संयोजन समितिमा दुई अध्यक्षका अलावा एमालेबाट माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल रहेका छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामबबहादुर थापा सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.