|

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले संचालन गरिरहेको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष कवीन्द्र विष्ट आफैँ बिरामीको चेकजाँच गरिरहेका छन्।

लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका बिष्टले आफ्नो अनुभव निःशुल्क स्वास्थ्य शिविरको माध्यमवाट गाउँपालिकाका स्थानीय नागरिक माझ सेवा बाँडिरहेका हुन्। गाउँपालिकाले ५ वटै वडामा आयोजना गरेको शिविरमा उनी बिरामीहरूको चेकजाँच तथा उपचार सेवामा संलग्न भइरहेका छन्।

२४ वर्षसम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रूपमा काम गरेका बिष्ट स्थानीय नागरिकको आफूप्रति विश्वास कायमै रहेको बताउँछन्। ‘मैले विगतका २४ वर्ष स्वास्थ्य क्षेत्रमै काम गरेको हुँ’, उनले भने, ‘त्यही अनुभवका आधारमा यहाँका जनतालाई स्वास्थ्य सेवा दिइरहको छु। मप्रति यहाँका नागरिकको विश्वास छ, राम्रो सेवा दिन्छ भनेर।’ उनले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँस्तरमै सेवा दिने उद्देश्यले निःशुल्क सेवा दिइरहेको उनी बताउँछन्।

शिविरमा साधारण स्वास्थ्य चेकजाँच तथा उपचार, जेष्ठ नागरिक नि:शुल्क आँखा जाँच तथा उपचार, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने तथा प्रेषण, दन्त उपचार, प्रयोगशाला, फार्मेसी, युएसजी (भिडियो एक्सरे)लगायतका सेवा गाउँपालिकाले दिइरहेको छ।

पहाडी जिल्लाका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी हुने गरेकामा शिविरमा पनि बढी जस्तो पाठेघर खस्ने, सेतो पानी बग्ने समस्या भएका महिलाहरू देखिएको शिविरमा संलग्न उपक्षेत्रीय अस्पताल डडेल्धुराका डा. प्रकाश श्रेष्ठले बताए। यस्तै, ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या भएका बिरामी देखिएको उनको भनाइ छ।

निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि गाउँपालिकाका स्थानीय नागरिक खुसी भएका छन्। सानोतिनो बिरामी भए पनि सदरमुकामका अस्पताल धाउनुपर्ने बाध्यता रहने गरेकामा अहिले शिविर संचालन भएपछि आफूहरूले घर नजिकै सेवा पाएको सेवाग्राही नवदुर्गा- ३ डाडाँवनका कुसुमबहादुर शाही बताउँछन्। ‘गाउँपालिका अध्यक्षज्यू आफैँ हामीलाई सेवा दिँदै हुनुहुन्छ, खुसी छौँ’, उनले भने, ‘नत्र हामीले सानोतिनो बिरामी हुँदा पनि जिल्ला सदरमुकाम जानुपर्थ्यो।’

गाउँपालिकाले माघ २२ गतेदेखि सञ्चालन गरेको निःशुल्क स्वास्थ शिविर प्रत्येक वडामा २ दिन संचालन गरिरहेको छ। फागुन ३ गतेसम्म संचालन हुने शिविरमा ३ हजार बढी सेवाग्राहीले सेवा लिने गाउँपालिकाले जनाएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा हजार ६४० जनाले लिए सेवा

गाउँपालिकाले संचालन गरिरहेको एकीकृत निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी बन्दै गएको छ। शिविरमा २ हजार बढीले सेवा लिएका छन्। गाउँपालिकाले २२ गतेदेखि संचालन गरेको निःशुल्क स्वास्थ शिविर प्रत्येक वडामा २ दिन सञ्चालन गरिरेहेको शिविरमा सोमबारसम्म दुई हजार ६४० जनाले सेवा लिएका हुन्।

हालसम्म जनरल स्वास्थ्य चेक जाँच तथा उपचारमा १ हजार ४८९ जनाले सेवा पाएका छन्। यस्तै, सामान्य पाठेघरको समस्या भएकाहरू २६३, जसमा रिङपेसरी राख्ने ४९ र ३१ जनाको शल्यक्रिया गर्नुपर्ने बिरामी देखिएका छन्।

शिविरमा १ हजार ६५ जनाले आँखा जाँच गराएका छन्, जसमा ३११ जनालाई नि:शुल्क अषधि वितरण गरिएको छ भने ११० जनाको मोतीयाविन्दुको उपचार गर्नका लागि डडेल्धुरा आँखा अस्पतालसँग समन्वय गरी उनीहरूका लागि आँखा शिविरको आयोजना गरिने गाउँपालिका अध्यक्ष बिष्टले बताए।

शिविरमा २९४ जनाले दन्त उपचारको सेवा लिएका छन्। तीमध्ये १०५ जनाको दाँत झिकिएको छ भने १६४ जनाले युएसजी (भिडियो एक्सरे)को सेवा लिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.