|

पर्वत : सोमबार रातीको वर्षासँगै भएको हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडक खण्ड अवरुद्ध भएको छ।

हिमपातकै कारण जोमसोमबाट उपल्लो मुस्ताङ जाने छुसाङ–लोमान्थाङ चल्ने सवारी साधनहरू रोकिएको सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी निरीक्षक खिमानन्द खनालले जानकारी दिए। 

बाक्लो हिमपातले सडक नै पुरिएपछि छुसाङदेखि लोमान्थाङ जाने सडक प्रभावित बनेको छ। यसका कारण बेनी–मुस्ताङ आउजाउ गर्ने स्थानीयवासी तथा कर्मचारीहरू बाटोमै रोकिएका छन्। जोमसोमदेखि मुक्तिनाथतर्फ जाने कालोभीर, खिङ्गा, झारकोट र कागबेनी आदि स्थानमा सडकमै भारी हिमपात भएपछि ती सडकहरू पनि बन्द भएका छन्। 

अवरुद्ध सडकका कारण मुक्तिनाथ जानका लागि छुटेका सवारी साधनहरू कागबेनीमै अलपत्र परेका छन् भने मुक्तिनाथ मन्दिरमा पूजाआजाका लागि पुगेका तीर्थयात्रीहरू ५ घण्टाको ठाडो उकालो उक्लन बाध्य छन्।

तल्लो मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ र लेतेमा समेत भारी हिमपात भएकोे छ। 

हिउँ परेसँगै यातायात र मौसम प्रभावित भए पनि यहाँका कृषकहरूमा भने उत्साह थपिएको छ। लामो समय हिउँ नपरेका कारण सुख्खा बनेको जमिन हिमपातपछि चिसिएर खेतीयोग्य बनेको स्थानीय होमस्टे संचालक तथा कृषक जुमा थकालीले जानकारी दिइन्।

हिउँ परेपछि मुस्ताङमा उत्पादन हुने स्याउ, आलु, फापर, जौ, उवालगायत अन्य अन्नबाली फस्टाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.