|

बुटवल : प्रदेश ५ को सभामुखमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन्। सभामुखका लागि मंगलबार बिहान १० देखि ५ बजेसम्म समय दिइएकोमा घर्तीको मात्र नाम दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। 

रुकुम पूर्वबाट निर्वाचित पूर्णबहादुर घर्ती मगरलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको थियो।

उनलाई वाम गठबन्धनको अर्को पार्टी एमालेले समर्थन गरेको छ। संसदमा वाम गठबन्धनको आरामदायी बहुमत छ। यस प्रदेशका ८७ सांसदमध्ये गठबन्धनसँग ४१ सांसद् छन्। संसद्को तेस्रो दल कांग्रेस र अरू दलहरूले सभामुखमा उम्मेदवारी दर्ता गरेका छैनन्। 

कांग्रेस सांसद् वीरबहादुर रानाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए। ‘हाम्रो संसदीय दलको बैठक पनि बसेको छैन र यसबारे कुनै टुंगो लागेको छैन’, उनले भने।

बुधबार अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुखको निर्वाचनको कार्यसूचीउपर छलफल हुने संघीय संसद्का उपसचिव तथा प्रदेशसभा बैठकका सहजकर्ता सुरेन्द्र अर्यालले जानकारी दिए। प्रदेशसभा बैठकले सभामुखमा घर्तीको उम्मेदवारीलाई अनुमोदन गरेपछि उनी निर्वाचित भएको घोषणा हुनेछ।

बुधबारको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संघीय संसद्का उपसचिव तथा प्रदेशसभा बैठकका सहजकर्ता सुरेन्द्र अर्यालले जानकारी दिए। कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुखको निर्वाचनबाहेक आवश्यकताअनुसार भोलिको बैठकको कार्यसूची तय गर्न सक्नेछ।

माओवादी केन्द्रका प्रदेश ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीले उम्मेदवारी दर्ता गरेका हुन्।

रुकुम पूर्व प्रदेश सभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीयबासी हुन्। बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराका रुपमा वि. सं २०२४ असार २९ गते उनको जन्म भएको हो।

वि. सं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लागेका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए। पछिल्लोपटक उनी नेकपा माओवादी केन्द्र प्रदेश ५ को संयोजक तथा केन्द्रीय सचिवालय सदस्यसमेत थिए।

साहित्य र जनवादी गीत–संगीतमा दख्खल राख्ने घर्तीले वि. सं २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.